६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साँफे मार्तडी सडकको बल्देमा हप्ता दिनभित्र वैकल्पिक मार्ग

वैकल्पिक मार्ग निर्माणबारे छलफल गर्न बसेको बैठकमा सहभागीहरु।

साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण हुने भएको छ। बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी र सडक डिभिजन कार्यालय साँफेबीचको त्रिपक्षीय सहमति पछि वैकल्पिक मार्ग निर्माण हुने भएको हो।

बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्षपछि वैकल्पिक बाटो निर्माण हुने सम्भावना बढेको छ। बुढीगंगा नगरपालिकाले जग्गा धनीसँग गरेको पटक पटकको छलफल पछि स्थानीय वैकल्पिक मार्गका लागि बाटो दिन तयार भएका हुन्।

चार वर्षदेखिको स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले स्थानीयलाई मनाउन सकेका थिएनन्। रामबहादुर बाँनीयाको नेतृत्वको टिमले भने वैकल्पिक मार्ग निर्माणमा सहमति जुटाउन सफल भएको छ। स्थानीयले जमिन निःशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले व्यहोर्ने र सहजिकर नगरपालिकाले गर्ने सहमतिसहितको निर्णय गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

बल्देकै अवरोधका कारण साँफे मार्तडी सडक वर्षेनी वर्षादका चार महिना अवरुद्ध हुने गरेको छ। बल्देको घुम्तीबाट आटीचौर सडक हुँदै कन्सन बाजुराको कार्यालय अगाडिलाई नै जिरो प्वाइन्ट बनाएर सडक निर्माण हुने सहमति भएको छ। पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकोले गाउँमाथिबाट सडक लिनेदिने सहमति गरिएका स्थानीय अर्जुनप्रसाद पाध्यायले बताएका छन्।

‘सडकले मुआब्दा दिएको भन्दा तीन गुणा बढी जमिन सडककै नाममा काटिएको छ। सडक निर्माणकै कारण सिंगो अम्कोट बस्ती नै उठिबास हुने गरी पहिरोको जोखिममा छ, अब पुरानै रुटमा थप बाटो काट्न दिदैनौं, बाटो नै चाहिने भए हाम्रो बस्तीलाई सडकले छुने गरी गाउँमाथि बाटो निर्माण गर्नुपर्छ, नत्र हाम्रो सहमति हुँदैन’ पाध्यायले भने। पाध्यायले गाउँकै सल्लाहमा तत्कालको समस्या साधान गर्न मुआब्जा नलिने बताएका छन्।

स्थानीयले गाउँ माथिबाट वैकल्पिक मार्ग निर्माण गर्न साउन १५ गते नै लिखित सहमति दिइसकेका छन्। सडक डिभिजन कार्यालय, नगर पालिका, पूर्वाधार विकास कार्यालय, स्थानीय, राजनीतिक दलका प्रतिनिधी, पत्रकार सहितको उपस्थितिमा वैकल्पिक मार्ग निर्माणको सहमति भएको सडक डिभिजन कार्यालय अछामका सब इन्जिनियर अनिलकुमार जैशवालले बताएका छन्।

सर्वपक्षीय सहमतिका लागि बोलाइएको बैठकमा प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारी भने उपस्थित भएनन्। व्यस्तताको कारण देखाएर उपस्थिति नभएको बुझीएको छ। वैकल्पिक मार्ग निर्माणको जिरो प्वाइन्टमा बसेको बैठकमा नगरपालिकाका तर्फबाट नगर प्रमुख रामबहादुर बाँनीया, उपप्रमुख माया कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत, डिभिजन कार्यालयका प्रतिनिधी, स्थानीय सबैको उल्लेख्य सहभागी रहेको थियो।

‘सर्वसम्मतिका साथ गरिएको निर्णयमा को उपस्थिति भयो, को भएन्, भन्नेमा हामी छैनौ, सडक डिभिजन कार्यालयले समेत आँट गर्दैन र जनताको समस्या बुझ्दैन्, भने हामी बुढीगंगा नगरपालिकाबाटै भएपनि वैकल्पिक मार्ग निर्माण गरेरै छोड्छौँ, नगर प्रमुख रामबहादुर बाँनीयाले भने।’ निर्णयमा उल्लेखित सहमति अनुसार सडक हप्तादिन भित्रै निर्माण सुरु गर्नुपर्ने छ।

डिभिजन कार्यालय प्रमुख राजेश यावदले २ वटा मेसिन फिल्ड स्तरमै राखिएको र केही व्यवस्थापन गरेर भएपनि तत्काल बाटो निर्माण गर्ने बताएका छन्। ‘स्थानीयको सहमति हुनुपर्छ, कार्यालयको आन्तरिक श्रोतबाट नै तत्कालका लागि जीपज ट्याक्टर मोटरबाइक चल्ने गरी सडक बाटो बनाउने जिम्मा हाम्रो हो, डिभिजन प्रमुख यादवले भने।’ वैकल्पिक मार्ग निर्माण हुन सके तत्कालको पहिरोले अवरुद्ध सडक सुचारु हुने सम्भावना देखिन्छ।

सडक डिभिजन कार्यालयले पुरानै रुटमा सडक सम्भावना कम भएको प्राविधिक प्रतिवेदन तयार पारेपछि स्थानीयको असहमतिका बीच निर्माण प्रक्रिया नै सुरु भएको थिएन। ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोलीले नै राजमार्गको रुट नफेरिने गरी अर्को विकल्प खोज्न दिएको निर्देशन पछि सडक डिभिजन कार्यालयले डिपीआर तयार पारेको हो।

डिभिजन कार्यायले तयार पारेको डिपीआर मन्त्रालयले थन्किएको छ। १२ करोड लागत स्टमेटसहितको थप चार किलोमिटर मार्ग निर्माणको फाइल गएको वर्षको पौचदेखि मन्त्रालयमा थन्कीएको डिभिजन कायालय अछामका प्रमुख राजेश यादवले बताएका छन्। वैकल्पिक मार्गको कच्ची बाटो निर्माण गर्न सके कालोपत्रेका लागि हिउँदमा प्रक्रिया अघि बढाए पनि हुने देखिन्छ।

बाटो अवरुद्ध हुँदा सदरमुकामसँगको सम्पर्क नै विच्छेद छ। यात्रुहरु पैदल हिँड्न बाध्य छन्। व्यापारीले भरिया लगाएरै समान ढुवानी गर्नुपर्ने बाध्यताले बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ। जिल्ला बाहिर रिफर गरिएका बिरामीलाई झनै सास्ती देखिन्छ। साँफे मार्तडी सडक शिलान्यायको २२ वर्षपछि निर्माण सकिए पनि समस्या र सास्ती अझै सकिएको छैन।

प्रकाशित: १८ श्रावण २०७९ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App