२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

सवारी दुर्घटना हुँदा ९ वर्षीय बालकको निधन, बुवाआमा घाइते

खोटाङको ऐसेलुखर्क गाउँपालिका-६ ज्यामिरे स्थायी घर भएका ९ वर्षीय जुवास बुढाथोकीको सवारी दुर्घटनामा परी शनिबार बिहान निधन भएको छ। 

काठमाडौंमा बुवाआमासँगै मोटरसाइकलमा खोटाङ फर्कँदै गर्दा काभ्रेमा भएको दुर्घटनामा परी बालकको निधन भएको हो।

बुवा चन्द्र बुढाथोकी र आमा रेनुका राई बुढाथोकीसँग सवार बा प्र. ०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको भारतीय गाडी एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा तीनै जना गम्भीर घाइते भएका थिए।

काभ्रेको बनेपा नगरपालिका-१३ भैँटेपाटीमा भएको दुर्घटनाका घाइते उनीहरूको उद्धार गरी उपचारार्थ शिर मेमोरियल अस्पताल धुलिखेल लगिएकोमा चिकित्सकले जुवासलाई मृत घोषित गरेको काभ्रे प्रहरीलाई उद्धृत गर्दै ऐसेलुखर्क गाउँपालिका अध्यक्ष राईले बताएका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका २९ वर्षीय चन्द्र र २७ वर्षीया रेनुकाको पनि शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको छ। उनीहरूको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको अध्यक्ष राईले बताएका छन्।

उनका अनुसार बुढाथोकी परिवार काठमाडौंमा बिहान ५ः३० बजे मोटरसाइकलमा घर आउन भनी हिँडेकोमा एक घण्टा नबित्दै दुर्घटनामा परेको बताइएको छ। प्रहरीले ग्यास बुलेट चालक भारतीय नागरिक शिवजी रामलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

छोरा पढाउन काठमाडौंमै बसेर ज्याला मजदुरी गर्दै आएको बुढाथोकी दम्पतीका लागि नजिकिएको दसैँ जीवनभरका लागि दशा बनिदिएको छ। अकल्पनीय र आकस्मिक दुर्घटनाले छोरा गुमाउन पुगेको बुढाथोकी दम्पती आफैँ पनि गम्भीर घाइते भएकाले परिवारकै दसैँ खल्लो भएको छ।

प्रकाशित: ३१ आश्विन २०८३ १४:३५ शनिबार