१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

फाइल तस्बिर।

डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ। अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिरोले सडक अवरुद्ध भएको हो।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुंगासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ। वर्षा अझै निरन्तर भइरहेकाले त्यहाँ अहिलेसम्म पनि लेदो आइरहेको र सडक खुलाउने कार्य सुरु गर्न समस्या भइरहेको उनकाे भनाइ छ।

विगतमा ठूलो पहिरा गएकाले सोही पहिरा हुँदै लेदो आउदा पटक–पटक समस्या भइरहेको छ। सडक अवरुद्धका कारण बिहानैदेखि कुनै पनि सवारीसाधन सञ्चालन हुन नसकेको उक्त योजना कार्यालयले जनाएको छ। गत भदौ ११ गते र असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो। सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ,पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरूलाई समस्या हुँदै आएको छ।  

त्यस्तै सोमबार बिहानदेखि नै हालसम्मै बेँसीसहर चामे सडकसमेत अवरुद्ध कायम रहेको छ। यस सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ र मनाङको चामे गाउँपालिकास्थित कोत्रेमा गएको पहिरोको कारण सडक अवरुद्ध भए पनि कोत्रेमा भने सोमबारबाटै सवारी सञ्चालन हुँदै आएको थियो। 

कोत्रेमा २० मिटर सडक बगाएको थियो भने रामबजार नजिकै ढुङ्गा माटाको पहिराले सडक अवरुद्ध बनाएको थियो। सूचना अधिकारी एवं इञ्जीनियर अधिकारीले भने, 'रामबजार नजिकको पहिरो हटाउने कार्य भइरहेको र आज १० बजेतिरबाट सडक सञ्चालन हुन सक्नेछ।' हाल पानी परिरहेको र फेरि पनि पहिरो आएमा भने थप समस्या हुने बताइएको छ। 

प्रकाशित: १७ श्रावण २०७९ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App