४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

‘अनर किलिङ्ग’ दोहोरिँदै युवतीको शवको अवशेष प्रहरीद्वारा बरामद

एक महिना नबित्दै पर्सामा ‘अनर किलिङ्ग’ (अभिभावक बाटै हत्या) को घटना दोहाेरिएको छ। पर्सा प्रहरीले एक जना २० वर्षीय युवतीको शव जलाएको अवस्थामा अवशेष बरामद गरेको छ।

पर्साको जिराभवानी गाउँपालिका–१ भवानीपुरका खेमराज दासकी छोरी सीमा कुमारीको शव जंगलमा जलाएको सूचनापछि त्यस प्रहरीले जलाइएको ठाउँबाट अस्तुलगायत अवशेष बरामद गरेको हो। यसअघि असार १६ मा पर्साको बहुदरमाई नगरपालिका–७ छपकैया टोलबाट प्रहरीले जलाउँदै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको थियो।

उक्त घटनामा प्रहरीले मृतक सीमाकी आमालाई नियन्त्रणमा लिएको छ। घर छोडेर फरार बाबु खेमराजसहित परिवारका अन्य सदस्य खोजी भइरहेको प्रहरीले जनाएको छ। भवानीपुर नजिकै रहेको जय माँ जगदम्बा सामुदायिक वनमा सीमाको शव परिवारका सदस्यले बुधबार राति जलाएको सूचना बिहीबार बिहान प्रहरीलाई प्राप्त भएको थियो।

गाउँलेबाट जानकारी पाइएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी टोली सो स्थानमा पुगेको पर्साका प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले बताएका छन्। जलिसकेको शवको अवशेषहरु घटनास्थलबाट संकलन गरेर पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको कार्कीले बताए।

‘शव एकदमै जलिसकेको हुनाले केही अंश मात्र संकलन हुन पाएको छ, प्रारम्भीक रुपमा हामीले नारायणी अस्पतालमा पोस्टमार्टमको लागि पठाएका छौं,’ प्रहरी नायब उपरीक्षक कार्कीले नागरिकलाई भने, ‘चिकित्सकहरुले यहाँ जाँच हुन नसक्ने भनेपछि थप परीक्षणका लागि काठमाडौँ पठाउने हो।’

स्थानीयले  प्रहरीलाई दिएको जानकारी अनुसार युवती गाउँकै यादव थरका एक युवकसंग प्रेम सम्बन्धमा थिइन्। करिब एक हप्ता अगाडि विहे गर्ने भन्दै दुबै जना घर छाडेर भागेका थिए। सम्झाइबुझाइ गरी अभिभावकले सीमालाई घर फर्काएका थिए।

त्यसयता शारीरिक मानसिक यातना दिँदै आएका अभिभावकले बुधबार राति सीमालाई कुटपिट पनि गरेको छिमेकीले बताएका छन्। छोरीले घरमै पासो लगाएर आत्महत्या गरेको र प्रहरीको डरले गोप्य रुपमा जंगलमा लगेर शव जलाएको बयान सीमाकी आमाले दिएको प्रहरीले जनाएको छ।

सोधपुछका लागि मृतककी आमालाई नियन्त्रणमा लिइएको र फरार रहेका परिवारका अन्य सदस्यहरुको खोजी भइरहेको र अनुसन्धान जारी रहेको  पर्सा प्रहरीले जनाएको छ। यसअघि गत असार १६ मा पर्साको बहुदरमाई नगरपालिका–७ छपकैया टोलबाट प्रहरीले जलाउँदै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको घटनामा पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

प्रहरीका अनुसार किशोरी गाउँकै एक युवकसँग प्रेममा थिइन्। जसका कारण अभिभावकले प्रतिष्ठाको विषय बनाएर यातना दिएको खुलेको र हत्या गरिएको आशंका रहेको प्रहरीले जनाएको थियो। सो घटना पनि आफ्नै अभिभावकद्वारा नै हत्या भएको (अनर किलिङ्ग) हुन सक्ने प्रहरीको आँकलन छ। प्रहरीका अनुसार प्रहरी टोली पुगेपछि जलाइरहेको शव छोडे किशोरीका आफन्तहरु त्यहाँबाट भागेका थिए।

घटना शंकास्पद देखिएपछि अनुसन्धानको लागि मृतक की आमा, दिदी र ठूलीआमालाई प्रहरीले नियन्त्रणमा लिएको  थियो। पर्सा अदालतले उनीहरुलाई जनही ५० हजर धरौटीमा रिहा गरेको छ। उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले आरोपी बनाए मुद्दा दायर गरेको अन्य आठ जना फरार नै छन्। 

प्रकाशित: १४ श्रावण २०७९ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App