५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

त्रियुगाका करारबारे उच्च अदालतको कारण देखाऊ आदेश

त्रियुगा नगरपालिकामा कार्यरत करार कर्मचारी निस्कासनबारे उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश दिएको छ। नगरपालिकामा कार्यरत ५९ जना करार कर्मचारीको साउन १ देखि म्याद नथप्ने नगर प्रमुखस्तरीय निर्णयविरुद्ध परेको निवेदनउपर प्रारम्भिक बहसपछि उच्च अदालतले कारण देखाऊ आदेश दिएको हो।  

निस्कासनमा परेका ५९ करार कर्मचारीले पुनरावलोकनको माग गर्दै साउन १ देखि निरन्तर आन्दोलन गरिरहेका बेला साउन ६ गते अदालत पुगेको विषयउपर शुक्रबार पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको नगर प्रमुख वसन्त बस्नेतले बताए। उनका अनुसार अदालतले १५ दिनभित्र कारणसहित उपस्थित हुन पत्र पठाएको छ।  

निवेदक धनबहादुर मगरले दिएको ‘उत्प्रेषण परमादेश’ मुद्दाउपर पक्ष धनबहादुरका तर्फबाट शुक्रबार अधिवक्ता यमबहादुर मगरले गरेको बहस सुनेर कारण देखाऊ आदेश दिएको बस्नेतले बताए। उनका अनुसार अदालतले पठाएको पत्रमा ‘निवेदकको मागबमोजिम आदेश गर्नुपर्ने नपर्ने, नपर्ने भए नपर्नाको कारण लिखित प्रमाणसमेत साथै राखी बाटाको म्यादबाहेक १५ दिनभित्र आफैं वा कानुनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिइएको’ भन्ने उल्लेख छ।  

त्रियुगा नगरपालिकाविरुद्ध परेको निवेदनउपर भएको सुनुवाइपछि ५ नं इजलासका एकल न्यायाधीश राजनप्रसाद भट्टराईले दिएको आदेशअनुसार कारणसहित आफू जवाफ दिन तोकिएकै समयमा अदालत पुग्ने बस्नेतले बताए। अदालतमा मुद्दा दिएर पत्र पनि आइसकेकाले आफू जवाफ दिन जाने तयारीमा रहेको मेयर बस्नेतले बताए।  

निवेदक भनिएका धनबहादुर मगरले भने सो मुद्दा आफूले नदिएको बताएको उनीनिकटहरूले बताएका छन्। नगरपालिकामा खेलकुदतर्फ बक्सिङ प्रशिक्षकका रूपमा ज्यालादारी कर्मचारी रहेका मगरले मुद्दा नदिएको दाबी गर्दै कसैलाई वारेससमेत नखटाएको उनीनिकट नगर कर्मचारी राजन धमलाले बताए। आफू गाईघाटमै रहेको, वारेस पनि नखटाएको जवाफ मगरले दिएको पनि धमलाले बताए।  

मेयर बस्नेत भने निर्णयबाट पछि नहट्ने अडानमा छन्। उनले अघिल्लो मेयरले अनावश्यक कर्मचारी राखेर नगरपालिकालाई आर्थिक भार पारेको भन्दै चुस्त र कम व्ययभारमा कार्यालय चलाउन अनावश्यक जनशक्ति हटाउनैपर्ने बताए। हाल कार्यरत ३ सय ८६ कर्मचारीमध्ये ७६ जना स्थायी र बाँकी ३ सय २० जना करार रहेको भन्दै कुनै पनि करारको म्याद आफूले नथपेको बस्नेतले बताए।  

बाहिरबाट हेर्दा ५९ जनाको मात्र म्याद नथपेको देखिए पनि आफूले कसैको म्याद थपको पत्रमा हस्ताक्षर नगरेको भन्दै बस्नेतले सबै करारलाई हटाएर आवश्यक कर्मचारी कति चाहिने भन्नेबारे अध्ययन गर्न एउटा कार्यदल बनाएर त्यसले दिएको प्रतिवेदनपछि मात्र आवश्यक दरबन्दीमा नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन खोल्ने योजना बस्नेतले बनाएका छन्।  

साता दिनदेखि कामकाज ठप्प

नगरपालिकाले साउन १ मा सूचना प्रकाशित गरी ५९ कर्मचारीको म्याद नथप्ने निर्णय गरेसँगै आन्दोलित भएपछि त्रियुगाको कामकाज साता दिनदेखि ठप्प छ।  

सोही दिन मेयर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै निर्णय पुनरावलोकन गर्न आग्रह गरेका कर्मचारीले आफूहरू निस्कासनमा पर्नुको स्पष्ट कारण मागेका छन्। सँगै नियुक्ति लिएका धेरैजसोलाई राख्ने र केहीलाई मात्र निकाल्ने काम गरेको भन्दै ‘काखा–पाखा’ गरेकोप्रति मेयरप्रति उनीहरूको आपत्ति छ। साउन २ गते उनीहरूले उपप्रमुख महेश्वरी राई र बहुमत कार्यपालिका सदस्यसमेतलाई सोही बेहोराको ज्ञापनपत्र बुझाएका थिए।

उपप्रमुख राईले भने कार्यपालिका बैठक राखेर निर्णय गराई विधि र पद्धतिअनुरूप कर्मचारी राख्ने या फाल्ने गर्नुपर्नेमा मेयर बस्नेतले एकल निर्णय गरेकाले सच्याउन आग्रह गर्ने आश्वासन दिएकी थिइन्। बहुमत कार्यपालिका सदस्यसहितको छलफलमा उपमेयर राईले विवादित विषयलाई कार्यपालिका बैठकमा लगेर टुंग्याउने भने पनि मेयर बस्नेतले बैठक नबोलाएपछि निस्कासित कर्मचारी मूलगेटमै धर्ना बस्न थालेका हुन्।  

धर्नाले गर्दा ३ दिनदेखि कर्मचारी र जनप्रतिनिधि कार्यालय प्रवेश नपाउँदा सम्पूर्ण कामकाज रोकिएको लेखापाल बाबुराजा प्रजापतिले बताए। नगरपरिसर प्रवेशद्वार र कार्यालय भवन प्रवेशद्वार (कैंची गेट) मा ताला लगाएर धर्ना बसेका कर्मचारीले राति काम गर्ने गरेको जानकारी आएको भन्दै अब राति पनि धर्ना बस्ने तयारी गरेका छन्।

प्रकाशित: ८ श्रावण २०७९ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App