२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जंगली बँदेलले बाली सखाप, थाल ठटाएरै रातभर जाग्राम बस्छन् स्थानीय

धादिङको थाक्रे गाउँपालिका, केवलपुरस्थित बँदेलले नष्ट गरेको मकै बारी।

धादिङको थाक्रे गाउँपालिका–१० मा जंगली बँदेलले आतंक नै मच्चाएको छ। बँदेलले मकै नष्ट गर्न थालेपछि किसान चिन्तित छन्। बँदेल धपाउँदैमा किसानको समय बित्ने गरेको छ। ‘साँझपख बारीतिर पस्छ, रातभरी मकै खाएर बिहान जंगल छिर्छ’, चिउरीपाटीका किसान कृष्ण विडारी भन्छन्, ‘बँदेलको बथान दिउँसै पनि बारीमा आइपुग्छ।’

विडारीले २ रोपीमा मकै लगाएका थिए। अदुवा पनि लगाएका थिए। अहिले विडारीको बारीमा एक घोगा मकै ठाढो छैन। ‘दारा निस्किएका भैंसी जत्रा माउ बँदेलहरु छन्। बच्चाहरु नै पाडापाडी जत्रा छन्। चार/पाँच वटा बच्चासहित आएका बँदेलले छिनभरमै मकै भसक्कै पारिदिन्छ’ विडारीले यथार्थ सुनाए।

वस्ती नजिकै जंगल छ। एउटा माउ बँदेलसँग ४/५ वटा बच्चा आउँछन्। दुधिलो मकै सोत्तर पारेर जान्छन्। दिउँसोको समसमा गाउँलेहरुले मिलेर ढुंगामुढा गर्छन्। तर रातको समयमा कताबाट छिर्छ पत्तै नहुने र एकै रातमा दुई/तीन रोपनी लगाएको मकै नष्ट गरिदिने केवलपुरका किसान रामजी पौडेलले बताए।

केही वर्षअघिदेखि कताकति मकै, धान, गहुँ, अदुवालगायत खेतीमा बँदेलले क्षति पुर्‍याए पनि यो वर्ष हुलका हुल नै आइपुगेको किसानहरुले बताएका छन्। एकैदिन ३/४ ठाउँमा मकै नष्ट गर्ने गरेकोले पनि बँदेलको बथान ठूलै भएको किसानहरुले अनुमान लगाएका छन्। केवलपुरका किसान पौडेल भन्छन्, ‘लखेट्न जाँदा मान्छेलाई आक्रमण गर्ने हो की भन्ने त्रासले नजिक पुग्नै सकिदैन।’

यो वर्ष थाक्रे–१० का करिब ५० परिवार किसानको मकै बाली बँदेलले नष्ट गरिसकेको छ। धेरैजसो पौडेलथोक, गोरी चौर, देवल, चिउरीपाटी, गैरीटोलका किसानको मकैमा बँदेलले क्षति पुर्‍याएको छ। बँदेलबाट बाली जोगाउन स्थानीय किसानहरुले अनेकन उपाय अपनाएका छन्। कसैले बारीमा ठूलो आवाजले स्पीकर बजाएर छोड्छन् त कसैले थोत्रा कपडाहरु बेरे मान्छेजस्तै पुत्ला बनाएर ठाउँ ठाउँमा राखेका छन्। केही किसानले त मकै बारीमै छाप्रो हालेर पनि बसेका छन्।

बँदेलले धेरै क्षति पुर्‍याएको गाउँका किसानहरु त २ सातादेखि रातीको समयमा आगो बाल्ने, थाल ठटाउने, शंख फुक्ने, ठूलो आवाजले कराउने गर्दै रात बिताइरहेका छन्। ‘क्षति भएको त भइसक्यो, थप क्षति हुन नदिन छरछिमेकीहरु मिलेर जागाराम बस्ने गरिएको छ’ रामशरण रुपाखेतीले भने। केवलपुरका कृषकहरुको मुख्य आयश्रोत मकै बाली हो। मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि लडिबुडि खेल्ने, खाल्डो बनाउने गरेर बाली तहसनहस नै पारेको छ।

थाक्रे गाउँपालिका–९ मा पनि बँदेलले क्षति पुर्‍याइरहेको किसान महासंघका केद्रीय सदस्य समेत रहेका स्थानीय विनोद पौडेलले बताए। ‘केवलपुरमा पहिले बाँदरले यस्तै दुःख दिन्थ्यो, अहिले फेरी बँदेल र दुम्सीले दुःख दिएको छ’ उनले भने। बदेलले वितन्डा मच्चाउने क्रम राकिएन भने कुनैपनि किसानले यो वर्षको बाली भित्र्याउन नसक्ने क्षति देखेर आएका प्रजनन् पीडि विजकोया श्रोत केन्द्र धुनिवेसीका बाली संरक्षण अधिकृत राजेन्द्र रुपाखेतीले बताए।

गुनासो सुनाउँदा स्थानीय सरकारका जनप्रतिनिधिहरुले जंगली वन्यजन्तुसँग केही गर्न नसकिने हलुका प्रतिक्रिया दिने गरेको किसानहरुले बताएका छन्। किसानहरु भने बच्चासहित आएका बँदेलको बथानले मान्छेलाई नै आक्रमण गर्न सक्ने भन्दै त्रसित बनेका छन्। बँदेलले आतंक मच्चाएको यो गाउँ पृथ्वी राजमार्गको धार्केबाट करिब ९ किलोमिटरको दुरीमा छ।

प्रकाशित: ७ श्रावण २०७९ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App