coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोले मकै, नपोले भोकै

थापाथलीमा मकै पौल्दै सडक व्यवसायी । तस्बिरः उपेन्द्र लामिछाने

राजधानीका फुटपाथमा बढ्दै गएको नगरप्रहरी र सडक  व्यापारीबीचको द्वन्द्वको बुधबार साँझ भने फरक रूप देखिएको छ। नगरप्रहरीको लौरोसँग भाग्दै आएका सडक व्यवसायीको राती भने हात जोड्दै आएका महानगरका मेयरसँगको सुमधुर जम्काभेटको सामना गर्नुपर्‍यो।  

बेलुकी ७ बजेतिर केही सहयोगीसहित बानेश्वरको सडकमा निस्केका शाहले नम्र भाषामा सडकको महत्व सम्झाउँदै अवरोध नगर्न अनुरोध गरे। सर्वसाधारणलाई असुविधा पुग्ने भएकाले सडकमा व्यापार नगर्न उनले अनुरोध गरेको भिडियो केही समयमै सामाजिक सञ्जालमा भाइरल बन्यो।  

ठेलामा तरकारी बेचिरहेका व्यापारीलाई उनले ‘यसरी बाटोमा ठेला राख्न पाइयो हजुर?’ भन्दै नराख्न अनुरोध गरेका छन्। त्यस्तै मकै पोलिरहेकी महिलालाई ‘आमा प्लिज भाडामा बस्नुस् तर एम्बुलेन्सनै रोक्ने गरी सडकमा बसेर व्यापार नगरिदिनुहोला।’ भन्दै सम्झाएका छन्।  

राजधानीको बाटो कसरी बनेको भनेर सम्झाउँदै गरेका मेयरले थोरै भाडा तिरेर सटरमा पसल राख्न सुझाउँछन्। ‘यो बाटो कसरी बनेको हजुरलाई थाहा छ? मान्छेहरूको घर भत्काएर, उहाँहरूलाई रुवाएर बनाएको बाटो हो,’ उनले सम्झाए, ‘त्यसैले थोरै भाडा तिरेर व्यवस्थितरूपमा आफ्नो व्यवसाय सञ्चालन गर्नुस्।’  

मेयर आएको सुरुमा डराएका व्यवसायीलाई उनले ‘हामी तपाईंहरूलाई उठाउन आएको होइन, अनुरोध गर्न आएको भन्दै मेयर शाहले हात जोड्दै ‘प्लिज, प्लिज, प्लिज’ यस्तो नगरिदिनुस्।’ भनेका छन्।

पोले मकै नपोले भोकै  

नगरप्रहरीको आक्रमक स्वरूप भोगिरहेका व्यवसायीले मेयरको नम्र स्वरूप त देखे तर उनीहरूको अन्यौल झनै बढेको छ। ‘लौरो लिएर आएकासँगभन्दा हात जोडेकासँग सामना गर्न मुस्किल पर्दोरहेछ,’ सडक व्यवसायी नरेन्द्र कार्की सुनाउँछन्, ‘उनले भनेको पनि जायज छ, हाम्रो बाध्यता पनि आफ्नै ठाउँमा छ।’

थापाथली चोकमा मकै पोल्दै आएका गणेशसिंह घलानको बुझाइ पनि यस्तै छ। काठमाडांै महानगरले सडक व्यवसायीलाई कडाइ गरेसँगै उनको व्यवसाय पनि धरापमा परेको छ। ‘नगरप्रहरीको आँखा छल्दै व्यापार गर्नुपरेको छ,’ मकवानपुर घर भएका उनले भने, ‘मकै नपोले त भौकै परिन्छ।’  

फुटपाथमा पसल राख्नु ठीक नलागे पनि विकल्प नभएको उनी सुनाउँछन्। ‘डेढ दशकदेखि फुटपाथमै पसल राखेर आएँ,’ उनले भने, ‘यसको विकल्प केही देखेका छैनौं।’ अन्य सिजनमा तरकारीलगायतका अन्य सामान राखे पनि अहिले मकै बेच्दा राम्रो फाइदा मिल्ने उनले सुनाए।  

‘मूलपानी, गोठाटार, डाँछीलगायतका ठाउँमा पुगेर किसानका मकै किनेर ल्याउछौं,’ उनले भने, ‘तिनै मकै पोलेर सहरका मान्छेलाई खुवाउने गरेका हौं।’  

उनको जस्तै धारणा राख्छन् चेतबहादुर पहरी पनि। उनी पनि बाटोमा मकै पोलेर गुजारा चलाउँदै आएका छन्। ‘कतिपटक हाम्रो मकैका घोगा महानगरले उठाएर लैजान्छ,’ उनी भन्छन्, ‘हामी रिसाउने भन्दा पनि फेरि मकै किनेर व्यापार गर्छांै।’ आफूहरूलाई नगर प्रहरीसँग कुनै गुनासो नरहेको पनि उनले बताए। ‘हामी दुवैको बाध्यता हो,’ उनले भने, ‘कसैको पेटको कसैको जागिर को।’  

सरकारले गरिखानेलाई निरुत्साहन गर्न नहुने उनको भनाइ छ। ‘कि गरिखान दिनुपर्‍यो,’ उनी भन्छन्, ‘कि सरकारले रोजगार दिनुपर्‍यो।’  

सहरी गरिबको तर्फबाट आवाज उठाउँदै आएका ओम थपलिया सर्वसाधरणलाई समस्या नपर्नेगरी उनीहरूलाई व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाउँछन्। ‘हरेक वडाले आफ्नो खाली भएको स्थानमा समय दिएर व्यवसाय गर्ने वातावरण मिलाउनुपर्छ,’ उनले भने, ‘यसो भयो भने सहरले किसानका उत्पादन पनि पाउँछन्, फुटपाथमा लोड पनि कम हुन्छ।’  

उपत्यकामा मात्र २ लाखभन्दा बढी फुटपाथ व्यवसायी रहेको बताउँदै थपलियाले उनीहरू सहरको बोझभन्दा पनि गाउँ र सहर जोड्ने सुन्दर पुल रहेको बताउँछन्। ‘बारीका सामान सहरसम्म ल्याउने गरेका छन् उनीहरूले,’ थपलिया थप्छन्, ‘कानुनी कारवाही गरेर हैन, व्यवस्थापन गरेर उनीहरूको समस्या समाधान गर्नुपर्छ।’  

यता नेवाः जागरण मञ्चले काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत गरेको छ। मंगलबार जारी गरेको विज्ञप्तिमा ताजा जनादेश पाएर आएको टिमले सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरेको छ।  

‘हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ अभियान सञ्चालन गरेको छ, त्यसलाई हामी समर्थन गर्दछौँ, विज्ञप्तीमा भनिएको छ, ‘यसलाई कमजोर पार्ने कोणबाट आइरहेका अभिव्यक्तिहरूको हामी विरोध गर्दछौँ।’

काठमाडौं महानगर भने कुनै पनि बहानामा सडकमा व्यापार गर्न नमिल्ने बताउँछ। काठमाडौं महानगरका प्रहरीप्रमुख धनपति सापकोटा कानुनको पालना सबैले गर्नुपर्ने बताउँछन्। ‘सडकमा किसानका तरकारी मात्र हैन, विभिन्न देशका सामग्रीसमेत बिक्री हुने गर्छ,’ उनले भने, ‘कोठा भाडा र कर तिरेर व्यापार गर्नेलाई समस्या पारेका छन्।’  

अहिले कुनै ठाउँ तोकेर दिन खोज्दा त्यहाँ नाम लेखाउन आउने सबै एकैपटक आउने उनले सुनाए। ‘२०६६ सालमा महानगरले एकपटक कुनै ठाउँ तोकेर व्यवसायीलाई व्यवस्थित गर्न खोजेको थियो,’ उनले भने, ‘तर व्यापारीहरू नाम दर्ता गर्न यति धेरै आउँछन् कि हामीले थेग्नै सक्दैनौँ ।’ 

प्रकाशित: ७ श्रावण २०७९ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App