१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१८ कर्मचारीलाई हाजिर गर्न दिइएन, ६ जना हटाइए

राजनीतिक भर्ती केन्द्र बनेको धरान उपमहानगरपालिकाले मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निर्वाचित भएपछि भने कर्मचारी कटौती गर्न थालेको छ। विगतमा मेयरहरूले आफ्ना कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको उपमहानगरपालिकाले असार मसान्तपछि १८ जना करारका कर्मचारीलाई हाजिर गर्न दिएको छैन। धरान खानेपानी व्यवस्थापन बोर्डका ६ कर्मचारीलाई हटाइएको छ। मेयर साम्पाङले काम नगर्ने कर्मचारीहरूलाई हटाउने अभिव्यक्ति दिँदै आएका थिए।

नगरपालिकामा हाजिर गर्न नदिइएका १८ जनामध्ये आठजना प्राविधिकतर्फका करार कर्मचारी छन्। अन्य १० जना भने २०७४ सालपछि निर्वाचित भएका मेयरहरूकै पालामा राजनीतिक रूपमा भर्ती भएकाहरू हुन्। उपमहानगरले हाजिरी खातामा सूचना टाँसेर ती १८ जनालाई हाजिर गर्न रोक  

लगाएको छ। असार मसान्तसम्म करार अवधि रहेको र उनीहरूबारे थप निर्णय नभएकाले हाजिर गर्न नदिइएको नगरपालिका स्रोतले जनाएको छ। मेयर र उपमेयरले निर्णय लिएपछि मात्र उनीहरूको करार अवधि नवीकरण हुने वा नहुने भन्ने प्रस्ट हुने पनि एक अधिकृतले बताए। राजनीतिक रूपमा भर्ती भएकाहरूलाई नहटाउन र करार अवधि थप गर्न नेपाली कांग्रेस, नेकपा एमालेको ठुलो दबाब छ।  

प्राविधिकतर्फका आठजनाबाहेक अन्य १० जना तत्कालीन स्वर्गीय मेयर तारा सुब्बा, उनको निधनपछि कार्यवाहक मेयर मञ्जु भण्डारी र उपनिर्वाचनबाट मेयरमा निर्वाचित तिलक राईका पालामा राजनीतिक भर्ती भएकाहरू हुन्। उनीहरूलाई खेलकुद प्रशिक्षक, कोरोना डेडिकेटेड एम्बुलेन्स चालक, मेयरको गाडी चालक, नगर प्रहरी, कानुनी सल्लाहकारलगायत विभिन्न कार्यक्रमहरूमा करारमा राखिएको थियो। हाजिर गर्न नदिइएका आठ प्राविधिक निर्वाचित जनप्रतिनिधि आउनुभन्दा अघिकै हुन्। तर उनीहरूबारे प्रदेश लोकसेवा आयोगले लामो समय करार पदमा राख्न नमिल्ने भन्दै आपत्ति जनाएका कारण समस्या भएको पनि पौडेलले बताए।

खानेपानी बोर्डबाट ६ कर्मचारी हटाइए

धरान खानेपानी व्यवस्थापन बोर्डले पनि काम नगर्ने ६ कर्मचारीलाई हटाएको छ। हटाइएकाहरू सहायकस्तर चौथो तहका करार कर्मचारी हुन्। उक्त बोर्डको अध्यक्षमा मेयर साम्पाङ नै रहेका छन्। हटाइएकाहरूलाई यसअघिका मेयर तिलक राईले नियुक्ति दिएका थिए। राजनीतिक आडमा नियुक्ति पाएका ती कर्मचारीले काम गर्नुभन्दा पनि डुलेर नै समय बिताउने गरेको बोर्डका एक कर्मचारीले बताए।  

काममा खटाउँदा पनि उल्टै धम्की दिने गरेको ती कर्मचारीको भनाइ छ। ‘राजनीतिक दल र नेताको आडमा नियुक्ति लिएर आएकाले हामीलाई एकदमै गाह्रो भएको थियो। काम गर्न पठाउँदा कता जान्छन्, थाहै नपाइने,’ एक कर्मचारीले भने, ‘राजनीतिक शक्तिको आडले गर्दा उनीहरूलाई केही गर्न पनि सकिएको थिएन। अहिले स्वतन्त्र व्यक्ति आउँदा कारबाही गर्न सहज भएको छ।’

प्रकाशित: ७ श्रावण २०७९ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App