५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

असार बित्दा पनि पानी नपर्दा किसानमा त्रास

फाइल तस्बिर

असार बितेसँगै समान्यता ८० प्रतिशत रोपाइँ सकिसक्नुपर्ने पर्सामा करिब ३० हजार हेक्टर खेत खाली छ। पम्पसेट लगाएर रोपाइँ भइसेकका करिब साढे १७ हजार हेक्टर खेत धाँजा फाटिसेकेको छ। रोपाइँ बाँकी रहेका खेत खनजोत गरेर ठिक्क पारिए पनि रोपाईँको सुरसार छैन। अर्कोतिर ब्याडमा बिउ सुकेर नष्ट हुन लागेको छ। यसपालि सिँंगै असार बितेर साउन लागिसक्दा पनि पर्साका धेरै खेतमा रोपाइँ हुन सकेको छैन।

‘सिँगै असार गयो, साउन आयो तर खेतमा माटोका डल्ला सुकेर सेतो भएका छन्, यस्तो ‘सुखाड’ मैले जीवनमा देखेको थिइन। यतिबेला किसानलाई चिन्ता बाढी र डुबानको पो हुने हो, जबकी खुक्खाले सबैलाई भयातुर बनाएको छ,’ पर्साको बिन्दवासनी गाउँपालिका–५ भेंलहाँ घर भएका किसान ७० वर्षीय देवनारायण भगतले भने, ‘यो सामान्य सुक्खा होइन, भयानक प्राकृतिक संकट हो।’

मुख्यबाली धानको खेती यसपालि धेरै पछाडि धकेलिएको छ। किसानहरू बिउ जोगाउन हरसम्भव प्रयास गरिरहेका छन। ‘मेरो १८ कठ्ठा खेतमध्ये १४ कठ्ठा पम्पसेट लगाएर रापेको छुँ। १० दिन भयो खेत सुकेर फाटिसकेको छ, फेरी पानी हाल्नुपर्छ, दमकलको घण्टाको तीन सय २० रूपैयाँ पर्छ, १४ घण्टा कमसेकम चलाउनु पर्छ,’ भगतले अगाडि भने, ‘ट्र्याक्टरको जोताइ, बिउ, मजदुरी, सिँचाइ, कटाइ र दाइँजस्ता खर्चहरू पहिलेदेखि छ, यसपालि रोपाइँ भएदेखि पटकपटकको सिँचाइ खर्च थपिन लागेको छ, यति गर्दा पनि प्राकृतिक वर्षाजस्तो उपज कुनै पनि हालतमा आउँदैन। खेतिको लागत धानले त के पराल बेच्दा पनि यसपालि निस्किँदैन जस्तो छ।  

पर्साका किसानहरूको प्रायः यस्तै प्रतिक्रिया छ। जिल्लामा ४७ हजार ७ सय ७५ हेक्टर जग्गामा धानखेती हुने गरेको छ। यसमध्ये ३५ देखि ४० प्रतिशत धान रोपाइँ मात्र असार महिनासम्म भएको जिल्ला कृष ज्ञान केन्द्रका प्रमुख मुनीलाल प्रसाद बताउँछन्। बाँकी खेतहरू तयार भएर पनि मुख्य रूपमा पानीकै अभावमा रोपाइँ हुन नसकेको उनको भनाई छ। रोपाइँ भएका खेतहरूमा हुर्किनुपर्ने धान सुकिरहेका छन्। खेतमा ठुलाठुला धाँजा फाटेका छन्। मुख्यबाली धानको खेती बिग्रएपछि किसान त्राहिममा छन्।  

वर्षा नभएर माटोभित्र आद्रता छैन। यस्तोमा दमकल लगाएर सिँचाइ गर्दा पनि खेतले पानी सोसिरहेको र बालीलाई पानी अभाव भइरहेको किसान बताउँछन्। ‘मेरो १० कठ्ठा खेत रोप्न ढिलो भइरहेको थियो, बिउ सुकेर नष्ट हुनै लागेको थियो, मैले दुई हर्सपावरको मोटर किनेर ल्याए, ४ सय मिटर पाइप पनि किने र करिब ४ दिन मोटर चलाएर खेतलाई भिजार एक हप्ता अगाडि रोपाइँ गरेर भ्याए,’ पकहाँ मैनपुर–२ धोरेका किसान बृजकिशोर पटहेराले भने, ‘इन्द्र देउताले दया गर्लान् पछि पानी परिहाल्छ भन्ने थियो, तर यसपालि भगवान पनि कुपित छन्, खेत सुकेर सेतो भएको छ, फेरि ४ दिन मोटर चलाउनुपर्ला।’

गत असार १४ र १५ मा वर्षा भएपछि किसानहरू हर्षित भएका थिए। वर्षा सुरु भएर पनि खेतहरूमा रोपाइँयोग्य पानी हुन सकेको थिएन। ता पनि बिडमा बिउ तयार हुन सो पानीले धेरै काम गर्ला भनेर किसान हर्षित भए। हुन पनि बिउ हुर्कियो। तर त्यसयता वर्षा फर्किएको छैन। बीचमा कुनैकुनै बेला मेघ गर्जन हुदा अब पानी आउला भनेर आशा जगाउने गरेको किसान भगतले बताए। तर, आशाअनुसार मौसमले एकपटक पनि साथ नदिएपछि किसान यतिखेर निरास छन्।  

जिल्लाको कुल खेतियोग्य जग्गामध्ये एकतिहाइ भुभाग मात्र गण्डक पूर्वी नहरसँग जोडिएका छन्। नहरका पनि अधिकांश तरसरी (कुलो) कही व्यक्तिले मिचेर संरचना मेटाइदिएका छन् भने केही सार्वजनिक रूपमै नहरलाई सडकको रूपमा प्रयोगमा ल्याइसकिएको छ। यसले गर्दा नहर सञ्जालबाट जोडिएका खेतमध्ये ठूलो हिस्सा त्यसको सिँचाइ प्रणालीबाट अलगिएका छन्। उसो त नहरमा पानी पनि छैन। मुख्य रूपमा आकाशे पानीको भर छ यहाँका किसानलाई। ‘हरेक १० देखि १५ बिगहाको बीचमा एउटा डिप बोरिङ सरकारले नै गरेमा मात्र अबका दिनमा खेती गर्न सकिन्छ,’ भगतले भने, ‘नभए अब खेती सम्भव छैन।’  

मल अभावले थप पीडा

मल अभावले पनि यसपाली रोपाईमा समस्या भएको छ। रोपाई भइसेकका खेतहरूमा पनि मल हाल्न नसकिएपछि बाली कमजोर भएको किसान बताउछन्। ‘एक बोरा मात्र मल पाएँ भने मलाई राहत हुन्थ्यो, अलौं कोन्हियाका किसान साहेव यादवले भने, ‘खेतमा बिउ घामले डढेर सकिन लागेपछि तिलावे नदीमा दमकल लगाएर रोपाइँ सुरु गरेको छुँ। मेरो १४ कठ्ठा खेतको लागि कम्तीमा एक बोरा मल पाइयो भने राहत हुन्थ्यो।’  

मल नपाइने भएपछि बिउ उम्रिसकेका र सिचाईको लागि नदी पोखरी नजिक रहेका खेतमामा पनि किसानले रोपाइँ सुरु गरेका छैनन। यसरी अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला पर्सामा सिचाई र मल अभावले गर्दा रोपाई पुर्ण रूपले प्रभावित भएको छ।  

सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग

यसैबिच नेपाली कांगे्रस पर्साको जिल्ला कार्य समितिको पर्साको अगुवाइमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ। पर्साका किसानहरूले धानबाली लगाउने पिसजनमा पानी नपरेर अनाबृष्टीको अवस्था सिर्जना भएकोले पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग ज्ञापनमा छ। 

त्यस्तै पर्साका कृषकहरूको धानवाली लगाउने सिजन र हाल पानी नपरी सुखायाम भई अनावृष्टिको अवस्थामा कृषकको आशा भरोसा रहेको नारायणी सिचाई व्यवस्थापन कार्यालय पर्सा वीरगन्जले नहरमा पानी समेत सञ्चालन नगरेको मा यथाशिघ्र पानी सञ्चालन गर्न माग गरिएको छ। काँग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, केन्द्रीय सदस्य अजय चौरसिया, नेता सुरेन्द्रप्रसाद चौधरी लगायतको उपस्थितिमा बुझाइएको ज्ञापनपत्रमा धानवाली लगाउने बेलामा रासायनिक मल अभाव भई कृषकहरूलाई समस्या भइरहेको र उत्पादन मा समेत ह्रास हुने भएकाले विनाबिलम्व रासायनिक मल उपलब्ध गराई कृषकहरूको समस्या समाधान गर्न माग गरिएको छ।

प्रकाशित: ३ श्रावण २०७९ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App