५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

हैरान पारे बाँदरले

फाइल तस्बिर

म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन्।

मकैको बोटमा घोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थालेका थिए। उनले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाएका छन्। 'बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्,' उनले भने, 'बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर खेतमा बस्ने गरेका छौँ।'  

सल्यानका विश्वनाथ उपाध्ययले बाँदरले बाली नष्ट गरेर भित्र्याउनै नपाएपछि जङ्गल छेउको करिब पाँच रोपनी जग्गामा खेती गर्न छाडेको पाँच वर्ष भयो। 'बाँदरले बाली भित्र्याउनै नदिएपछि मकै, कोदो लगाउन छोडेको हो,' उनले भने, 'श्रम र लगानी खेर जाने भएपछि बारीमा घाँस र रुख रोपेको छु।'

मङ्गलाको सल्यानका दीपक र विश्वनाथ बाँदर पीडित कृषकको प्रतिनिधि पात्र हुन्। बाँदरबाट बाली जोगाउन एकाबिहानै उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बने गर्छन्। खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु किसानका लागि अर्को चुनौती बनेको छ। बाँदर धपाउन कृषकको श्रम, पसिना र समय खर्च भएको छ।

आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ। कृषक खाना र खाजा खाने समयसमेत पाउँदैनन्। बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पुर्‍याइदिनुपर्ने बाध्यता रहेको जलजला–४ मल्लाजका कृषक चन्द्रबहादुर कार्कीले बताए। खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर समेत अन्नपात नास गरिदिने गरेको छ। बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल खानुका साथै बिरुवासमेत उखेलेर नष्ट गरिदिने गरेको जलजला–३ का द्रोण खत्रीले बताए। वनको विस्तारसँगै जङ्गल वरपरका खेतबारीमा खेती हुन छाडेका छन्। आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन्।

कानुनअनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र घरमा पशुको रुपमा पाल्न नपाउने व्यवस्था छ। बाँदरको समस्या न्यूनीकरण गर्न टिमुर सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फूल र घाँसखेती गर्न सकिने सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए।  

पानीका लागि बस्तीमा आउने बाँदरलगायत वन्यजन्तु र मानिसको द्वन्द्व न्यूनीकरण गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रम सञ्चालन गरिएको उनले बताए। नेपालमा आसामी रातो, रातो र सेतो रङको हनुमान लङ्गुर बाँदर पाइन्छ। आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो। सेतो हनुमान लङ्गुर बाँदर एक–दुई वटाको सङ्ख्यामा मात्र भेटिन्छ। आसामी र रातो बाँदर भने समूहमा बस्छन्।

यी बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने तथा नष्ट पारिदिने गर्छन्। धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ। बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन्। वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउन मै व्यस्त हुने गरेको बेनपा–४ वास्कुनाका कृषक भीम थापाले बताए। जलजलाको मल्लाजका किसान बाँदर धपाउन खेतबारीको डिलमा छाप्रो नै बनाएर बस्ने गरेका छन्।

केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घाँस खेती गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुन सकेको छैन। बाँदर आतंक नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो। त्यसैले सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नु आवश्यक भएको छ। 

प्रकाशित: २ श्रावण २०७९ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App