५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मान्बु पहिरो विस्थापितलाई त्रिपाल

गोरखाको आरुघाट गाउँपालिका १ श्यामचेतको पहिरो।

गोरखाको मान्बु १ श्यामचेतमा पहिरो जाँदा ४० घर विस्थापित भएका छन्। बुधबार साँझ गएको पहिरोले दुईवटा घर बगाएको र अन्य करिब ४० भन्दाबढि घर जोखिममा परेको हो।

जोखिमा रहेका घरबाट बुधबार राती स्थानीय सुरक्षित ठाउँमा सरेको र अन्नपात, पशुवस्तु भने बिहीबार बिहान सारिएको आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए। ‘केही वस्तुभाउ बगाएको, मरेको छ, सुरक्षाकर्मीको सहायताले उद्धार गरेका छौँ’ उनले भने।

विस्थापितहरु कोही आफन्तको घरमा, गुम्बामा, सिद्धार्थ वनस्थली आधारभुत विद्यालयमा अस्थायी रुपमा बसेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विस्थापितहरुलाई राहत रामग्री वितरण गरिएको बताए।

नेपाल रेडक्रस सोसाईटीसँगको समन्वयमा २० वटा त्रिपाल, २० थान कम्बल, २० थान म्याट्रेक्स घर बगाएका दुई परिवारलाई दुई सेट सबै सामग्री सहयोग गरिएको प्रजिअ आचार्यले बताए। गाउँपालिकाले पनि चाउचाउ, बिस्कुट, त्रिपाल वितरण गरेको जनाएको छ।

रेडक्रस गोरखाका सभापति यदुबिलास भट्टराई र जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन श्यामसुन्दर ढकालसहितको टोलीलाई बिहीबार बिहानै राहत पठाइएको छ। गाउँपालिका, रेडक्रस, सुरक्षाकर्मीको टोली राहत वितरण र सुरक्षित आवास निर्माणमा खटिएको प्रजिअ आचार्यले बताए।

पहिले तीन तहमा जाली भरेर गाउँलाई पहिरोबाट जोगाइएको वडा अध्यक्ष सुर्य घलेले बताए। पहिलो तहको जाली नाघेर दोस्रो र तेस्रो तहको जाली भत्काएर पहिरो गाउँको बिच भागबाट बगेको उनले बताए। पहिरोको बिचमा पर्ने ३० घर र वरपरका अन्य १० घरमा तत्काल मान्छे बस्न खतरा रहेको उनले बताए।

गाउँपालिका अध्यक्ष राजु गुरुङले पहिरो नियन्त्रणका लागि दिगो रुपमा काम हुन नसकेको बताउँदै थप अध्ययन गरेर अघि बढ्ने बताए। ‘तत्काल हामी स्थानीयलाई त्रिपाल, खानेकुरा दिएको छौँ, यसपछि सुरक्षित ठाउँमा बस्न उहाँको माग अनुसार के दिन सकिन्छ गाउँपालिकाले व्यवस्था गर्नेछ’ अध्यक्ष गुरुङले भने।

नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको टोली बुधबार राती नै पहिरो गएको ठाउँमा पुगेर स्थानीयलाई सुरक्षित ठाउँमा सारेका थिए। स्थानीय विपद् व्यवस्थापन समितिले त्यहाँको अवस्थाबारे जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्छ।

उक्त सिफारिसको आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयसँगको सहकार्यमा थप सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। ‘पहिरोको अवस्था, नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारेमा गाउँपालिकाले पनि काम गरिरहेको रहेछ’ उनले भने ‘थप क्षती हुन नदिन र दिर्घकालीन व्यवस्थापनका लागि सहयोग गर्ने बारे गृहमन्त्रालयसँग सहकार्य गरिरहेको छु।’

प्रकाशित: ३० असार २०७९ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App