७ वैशाख २०८१ शुक्रबार
समाज

किशोरी मृत्यु प्रकरणः होटलमा सँगै बसेका पूर्वप्रेमी प्रहरी नियन्त्रणमा

फाइल तस्बिर।

बुटवलको एक होटलमा गत शनिबार मृत फेला परेकी किशोरीको शंकास्पद मृत्युका सम्बन्धमा प्रहरीले युवतीका पूर्वप्रेमीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

बुटवल गोलपार्कमा रहेको पाल्पाली होटलको एक कोठामा असार २५ गते बुटवल २ की समीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा प्रहरीले होटलमा उनीसँगै बसेका पूर्वप्रेमी बुटवल ३ का असीम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। २० वर्षीय श्रेष्ठ समिक्षाका पूर्वप्रेमी रहेको र उनीहरु एक रात सो होटलमा सँगै बसेको अनुसन्धानबाट खुलेको छ।

शुक्रबार राती श्रेष्ठ र गुरुङ होटलमा बस्न गएका थिए। होटल सञ्चालनका अनुसार समिक्षाका पूर्वप्रेमी भनिएका श्रेष्ठ शनिबार बिहानै पैसा तिरेर होटलबाट बाहिरीएका थिए। युवती भने होटलको कोठा नं. १०५ मा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले झण्डै एक साताको अनुसन्धानपछि होटलमा युवतीसँगै बसेका युवक श्रेष्ठको पहिचान गरी नियन्त्रणमा लिएर थप अनुशन्धान गरीरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए।

बुटवलकै अमरपथमा पसल सञ्चालन गर्ने श्रेष्ठ र गुरुङबीच पुरानो सम्बन्ध रहेको र युवती मृत्त फेला पर्नु अघिल्लो साझदेखि दुवै जनासँगै रहेको प्रारम्भिक अनुशन्धानबाट खुलेको डिएसपी केसीले बताए। बुटवल २ पाखापानी घर भएकी १६ वर्षे समिक्षा एसइइ सकेपछि स्टाफ नर्सको अध्ययनको शिलशिलामा काठमाडौँमा बस्न थालेकी थिइन्।

उनी काठमाडौँ गएपछि युवकसँगको प्रेम सम्बन्ध टुटेको र बोलचाल हुन छोडेको भन्ने जानकारी उनका साथीले प्रहरीलाई गराएका थिए। समिक्षा आफन्तको विवाहका लागि भन्दै असार २३ गते बुटवल आएको उनका परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ। शुक्रबार घरबाट साथीलाई भेट्न भन्दै निस्केकी समिक्षा शनिबार गोलपार्कको पाल्पाली होटलमा झुण्डिएको अवस्थामा मृत भेटिइन्।

शुक्रबार युवकभन्दा अगाडि गएर होटलमा उनले आफैं रुम बुक गरेको होटल सञ्चालकले बताएका छन्। युवती पुगेको केही समयपछि ती युवक त्यहाँ पुगेको र राती त्यही बसेको बताइएको छ। शनिबार बिहान ८ बजेतिर युवक निस्किएका थिए। तर रुपमै रहेकी युवतीलाई बोलाउन जाँदा ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। स्थानीय र प्रहरीको रोहबरमा ढोका खेल्दा युवती झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

इप्रका बुटवलका डिएसपी केसीले घटनामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालकसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको र सोही क्रममा पूर्वप्रेमी भनिएका श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताए। होटल सञ्चालकले युवतीसँगै युवक राती बसेको भनेपनि ती व्यक्तिको कुनै रेकर्ड होटलले नराखेको प्रहरीले बताएको छ। युवतीलाई त्यसअघि भेटेका साथीहरु र परिवारसँगका सोधपुछ र अनुसन्धानबाट प्रहरीले रातीसँगै बसेका युवकको पहिचान गरेको बताइएको छ।

प्रकाशित: ३० असार २०७९ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App