१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बकर इदमा खसीको मूल्य बढ्यो

मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदमा खसीको माग बढेको छ। सो चाडमा अहिले खसी किन्ने प्रतिस्पर्धा चलेको छ। बकर इदमा खसीहरुलाई कुर्वानी स्वरुप बली दिने चलन छ। सो चाडले  जिल्लामा खसीको मुल्य उच्च भएको व्यापारीहरु बताउँछन्। यही असार २६ गते गते बकर इद मनाइँदैछ।

मुस्लिम समुदायले ईदुजोहो अर्थात बकर इदमा खसीहरुको कुर्वानी (बली) दिने चलन रहेकोले अहिले जिल्लामा खसी किन्ने प्रतिस्पर्धा नै चलेको हो। खसीको कारोबार समेत बढेको यो पर्वमा मोलमोलाई गर्ने चलन नभएको मुस्लिम अगुवाहरु बताउँछन्। जिल्लामा एउटा खसीको १० हजारदेखि एक लाखसम्मको खरिद गर्ने गरेको पाइएको छ।

अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बकर इद मुस्लिम समुदायले हर्षोल्लासले मनाउने तयारी गरेका छन्। यसैका लागि उनीहरुले खसी खरिद समेत गरेका छन्। आफ्नो गच्छ र सामथ्र्यले भ्याएसम्म खसी खरिद गर्नु पर्ने भए पनि कतिपय मुस्लिमले समाजमा रवाफ देखाउन र ठूलो बन्नका लागि बढी रकम तिरेर खरिद गर्ने गरेका मुस्लिम अगुवाहरु बताउँछन्।

यसो गर्नु ईस्लाम धर्मको खिलाफ रहेको उनीहरु बताउँछन्। बजारमा महंगो र प्रतिस्पर्धा कै कारण विपन्न, र गरिब मुस्लिमहरु मर्कामा परेका छन्। बजारमा १० हजार घटीका खसी नै पाउन गाह्रो परेका उपभोक्ताहरु बताउँछन्। ‘ जति सानो खसीलाई पनि व्यापारीहरुले १० हजार भन्दा घटीमा खसी नै पाइदैन। ’ कपिलवस्तु नगरपालिका–३ देवनगढीयाका करीम मुसमानले गुनासे गरे।

महगो र अभावका कारण आफूले बकर इदका लागि दाङबाट २२  हजार तिरेरे खसी किनेर ल्याएको तौलिहवाका  करिम मुसलमानले बताए। उनले जिल्लामा आफूले किनेको खसीलाई ३० हजार बढी मूल्य पर्ने बताए। व्यापारीहरुले बकर इदकै मौका छोपी आफू खुसी मूल्य कायम गर्ने गरेका छन्। उता खसी व्यापारीहरुले बकर इदकै कारण जताततै खसीको मूल्य वृद्धि हुने भएकाले आफूहरुले पनि बाध्य भइ बढी मूल्यमा खसी बेच्ने गरेको बताउँछन्।

गौढी चोकमा खसी तथा मासु व्यापारी ईसलाम मुसलमानले बकर इदमा १ वर्ष नाघेका, चोट पटक नलागेका, स्वास्थ्य र दुरुस्त खसी चाहिने तथा मोलमोलाई गर्ने चलन समेत नभएकाले यो पर्वमा खसीको मूल्य आकासिने गरेका बताए। बकर इदमा अरु समय भन्दा खसीको मूल्य तेब्बर र चोब्बर हुने गरेको उनी बताउँछन्। बजारमा खसीको मूल्य प्रति किलो एक हजार छ।  

बकर इदका लागि २ लाखको खसी

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष ईन्सा अली धुनियाले बकर इदलाई लक्षित गरी २ लाखको खसी किनेर ल्याएका छन्। जमुना पारी जातका एक एक लाख पर्ने २ वटा खुसी किनेका हुन्। दुवै खसीको तौल एक एक क्युन्टल बढी छ।

यस पटक कांग्रेसबाट वडाध्यक्ष जितेका धुनियाले रमाईलो गरी बकर इद मनाउन एक एक लाख मुल्यको दुई वटा खसी किनेको बताउँछन्। बकर इदका दिन आइतबार दुवै खसीको कुर्वानी दिने उनले बताए। ‘सबैसँग शुभकामना साटासाट गर्न बकर इदको अवसर पारेर खसी किनेका हुँ’ उनले भने।

किनेर ल्याएको खसी घरमै बाधेर राखेका छन्। कुर्वानी गरिने खसी ३ भाग लगाउनु पर्ने नियम रहेको उनले बताए। एक भाग गरीब र विपन्न परिवार, दोश्रो भाग इस्टमित्र र तेश्रो भाग आफनो परिवारमा राख्नु पर्ने चलन छ। खसीको मुल्य बढी रहे पनि आफूले जनतासँग शुभकामना साटासाट गर्न नै किनेर ल्याएको उनले बताए।

प्रकाशित: २५ असार २०७९ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App