१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरामा बसपार्कः नयाँ होईन, पुरानैलाई टालटुल

पोखरामा बसपार्क बनाउने ४७ वर्षदेखिको पोखरेलीको सपना पूरा भएको छैन। बसपार्क निर्माण गर्नका लागि ४७ वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहण गरेसँगै बसपार्क निर्माणका लागि पैसापनि छुट्याइएको थियो। जग्गा र पैसा भएरपनि राजनीतिक ईच्छाशक्ति नभएका कारण बसपार्क निर्माण भएन। जसका कारण पोखरेलीले आधुनिक बसपार्क अझै पाउन सकेका छैनन्।

तर पोखरेलीको सपना अनुसार पोखरा बसपार्क नबनेपनि त्यसले रुप भने फेर्दैछ। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने बसपार्कमा नाला निर्माण र ग्राभेल भरेर सम्याउने कार्य गरेसँगै पोखरा बसपार्कले रुप फेर्न थालेको हो। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा बसपार्क क्षेत्रमा नाला निर्माण र ग्राभेल भरेर सम्याउने कार्य निरन्तर भइरहेको छ। बसपार्कको आधा भन्दा बढी भागमा ग्राभेल हालेर सम्याईसकिएको छ भने बसपार्कको पश्चिम भागमा नाला निर्माणको काम तिव्र रुपमा भइरहेको छ।

पोखरा बसपार्कले रुप फेर्न थालेपछि स्थानिय हर्षित छन । उनीहरु वर्षौंपछि बसपार्कले रुप फेर्न थालेपछि त्यसको महत्व र उपादेयता पनि बढ्नेमा आशावादी छन। तर अत्याधुनिक बसपार्कचाहिं कहिले बन्छ भन्नेमा उनीहरुको चासो छ। यद्दपी बसपार्क क्षेत्रमा गरिएको ग्राभेल भरेर सम्याउने काम र नाला निर्माणको काम भएकोमा उनीहरु खुशी छन्।

पोखरा बसपार्क पोखरा महानगरपालिका वडा नम्बर–९ मा पर्छ। यहि वडाका वडाध्यक्ष दीपेन्द्र मर्सानी बसपार्कले रुप फेर्न पाउनु नै ठूलो कुरा भएको बताउँछन्। नहुनु भन्दा केहि हुनु राम्रो हो,उनले भने,। ‘कम्तिमा ग्राभेल हालेर सम्याउने र नाला निर्माण मात्रै भएमापनि बर्खामा हिलाम्मे र हिउँदमा धुलोमुक्त हुन्छ।’ यतिमात्रैपनि स्थानिय र पोखरेलीका लागि उल्लेख्य उपलब्धी हुने उनको भनाई छ। उनले पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्कले रुप फेर्न लागेको बताए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसपार्क क्षेत्रको सबै भागमा ग्राभेल भरिने बताए। उनले भने, ‘तत्काल सबै भागमा ग्राभेल भरेर सम्याउने काम हुन्छ। अनि नालापनि निर्माण हुन्छ।’ यसो भएमा बसपार्क बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनबाट बच्ने उनको भनाई छ।

 टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापाले कम्तिमा अहिले बसपार्क क्षेत्रमा ग्राभेल र नाला निर्माण हुनुपनि खुशीको कुरा भएको बताए। यसले पोखरामा अत्याधुनिक बसपार्क बन्छ भन्ने सन्देश दिने उनको भनाई छ।गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए।

रुप फेरेसँगै पोखरामा अत्याधुनिक बसपार्क बन्छ कि भन्ने आशा पलाएको छ। यसअघि पोखरामा एकमात्र बसपार्क बनाउने योजनासहित जग्गा अधिग्रहण गरिएको थियो। तर अहिले पोखरामा दुई वटा बसपार्क बनाउने तयारी छ। पृथ्वीचोकस्थित सपार्कलाई सिटी टर्मिनल बसपार्क र पोखरा–३२ लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउने तयारी भएको हो। जसका लागि प्रदेश सरकार र पोखरा महानगरपालिकाले छुट्टाछुट्टै बजेट विनियोजन गरेका छन्।

पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्क बनाएर त्यहाँबाट पोखरा भित्रका सबै ठाउँमा जाने गाडीहरु छुट्ने र भित्रिने गराईन्छ। जसका कारण अहिले पोखराका विभिन्न ठाउँबाट गाडी छुट्ने कार्यको अन्त्य गर्नेछ। सडकमै पार्किङ गरेर बस छुटाउने कार्यको यसले अन्त्य गर्नेछ। भद्रगोल पार्किङ र अव्यवस्थित बस छुट्ने र छुटाउने विकृतिको अन्त्य हुनेछ। यसले गर्दा अहिलेको बसपार्क हेरेर पोखराको दुर्गति र अव्यवस्थापनको मस्तिष्क मन्थन गर्नेहरुलाई पोखराको विकास र असल व्यवस्थापनको सन्देश दिनेछ।

त्यस्तै, पोखरा–३२ लामेआहालस्थित बसपार्कबाटचाहिं पोखराको कोरसिटी नभित्री नजिकका जिल्ला जाने गाडीहरु जाने व्यवस्था मिलाउने तयारी छ। काठमाडौंसहित पूर्वबाट आएका गाडीहरु लामेआहालबाट बाईपास रोडमार्फत पर्वत, स्याङ्जा निकाल्ने र उताबाट आएका गाडीलाई पोखराको कोरसिटी ननिकाली सोहि बाटोबाट बाहिर पठाउने तयारी गरिएको हो।

लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउन जग्गा अधिग्रहण गर्नुपर्ने काम बाँकी नै छ। त्यसैले त्योभन्दा पहिले पोखरा बसपार्क बनाउन सजिलो छ। तर पोखरा बसपार्कको जग्गामा बसेका सुकुम्बासी आधुनिक बसपार्क निर्माणका लागि प्रमुख समस्याका रुपमा देखा परेका छन्। तर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यसकोपनि समाधान खोजेर बसपार्क निर्माण हुने दाबी गर्छन्। तीन वर्ष भित्र आधुनिक वसपार्क बनाईछाड्ने दृढ संकल्प गरेका उनले भने, ‘सुकुम्बासीको पनि व्यवस्थापन हुन्छ अनि आधुनिक बसपार्क बन्छ।’ सुकुम्बासी समाधानसँगै बसपार्कको डिपीआर तयार गरेर यसमा सिटी बसपार्क निर्माण गरिने उनको भनाई छ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ। फरक अस्तित्वको उपत्यका नगर विकास समिति अहिले मेयरकै नेतृत्वमा छ। झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन।पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ।

प्रकाशित: २३ असार २०७९ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App