६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्थानीयता दिन खोज्दै जानकी गाउँपालिका

कैलालीको जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरी गाउँपालिकाको गाडी चढ्दैनन्। उनी प्रायः मोटरसाइकलमै सवार भेटिन्छन्। उनी गाडी चढेर एकपटक धनगढी र अर्कोपटक नेपालगञ्ज गएका छन्। जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न धनगढी र काठमाडौं जाने क्रममा नेपालगञ्जसम्म मात्रै गाडी प्रयोग गरेको उनले बताए।

‘मेरो सोच गाउँपालिकाभित्र सकेसम्म गाडी चढ्न हुँदैन भन्ने हो’, उनले भने, ‘अति आवश्यक भए मात्रै प्रयोग गर्छु होला। त्यो पनि अहिलेसम्म गरेको छैन।’ उनी आफूले गाडी नचढ्दा दुरूपयोग नहुने र इन्धनको समेत बचत हुने बताउँछन्। उनले यस कार्यलाई स्रोत व्यवस्थापन भनेका छन्।

उनको अर्को प्राथमिकताको विषय समय व्यवस्थापन हो। उनी समयमै गाउँपालिका पुग्छन्। बैठक र सभासमारोह पनि समयमै सुरु गर्छन्। सेवाग्राहीका गुनासा समयमै सुन्छन्। त्यसको समाधानका उपाय समयमै दिन्छन्। ‘जे गर्नु छ समयमै गर’, उनले भने, ‘समयले हामी कसैलाई पर्खेर बस्दैन।’ उनले गाउँपालिका कार्यालयमा ‘जंक फुड’ निषेध गरेका छन्।

उनले खाजाका रूपमा चाउमिन, चाउचाउ, मःमः आदि खाजालाई बन्देज लगाएका छन्। उनले नीति तथा कार्यक्रममै परम्परागत खानेकुरालाई प्रवर्द्धन गर्ने उल्लेख गरेका छन्। उनले गाउँपालिकाभित्र बैठक र सभासमारोह हुँदा खाजाका रूपमा ढिक्री र सेलरोटी खुवाउन निर्देशन दिएका छन्।

ढिक्री थारू र सेलरोटी पहाडी समुदायको परम्परागत खानेकुरा हो। उनी परम्परागत खानेकुरासँग आफूहरूको पहिचान जोडिएको बताउँछन्। ‘आयातीतले हाम्रो परम्परागत खानेकुरा विस्थापित भयो’, उनले भने, ‘हामी सबै मिलेर पहिचान जोगाउनपर्छ।’

उनले गाउँपालिकामा कार्यक्रम गर्ने गैरसरकारी संघसंस्थालाई समेत खाजाका रूपमा परम्परागत खानेकुरालाई मात्रै प्राथमिकता दिन भनेका छन्। उनले चाउमिन उत्पादनमा गाउँपालिकाले कुनै तालिम नदिने बताए। उनले बरु त्यस्तो तालिम ढिक्री र सेलरोटीको व्यवसायीकरणमा दिइने जानकारी दिए।

आफ्नो कार्यकाल शिक्षा र स्वास्थ्य विकासमा समेत केन्द्रित रहने उनले बताए। गाउँपालिकाका बासिन्दा शिक्षा र स्वास्थ्यमा छिमेकी टीकापुर र लम्कीचुहा नगरपालिकाप्रति आश्रित रहेको उनले बताए। उनले पाँचबर्से कार्यकालमा शिक्षा र स्वास्थ्यमा धेरै सुधार गर्ने दाबी गरे।

उनले आधारभूत तहसम्मको शिक्षाका लागि गाउँपालिकाका कुनै पनि विद्यार्थी अन्यत्र नजाने गरी काम सुरु गरेको जानकारी दिए। उनले यसका लागि विद्यालय मर्ज गर्ने नीति लिइने बताए। उनका अनुसार गाउँपालिकामा निजी र सामुदायिक गरी ४८ विद्यालय छन्। तीमध्ये भौगोलिक रूपमा नजिक रहेका विद्यालयलाई मर्ज गरिने छ।

‘कुनै विद्यालयमा १५ जना विद्यार्थी छन् भने त्यहाँ पर्याप्त शिक्षक छन्। कुनै विद्यालयमा विद्यार्थी प्रशस्त छन् तर शिक्षक छैनन्’, उनले भने, ‘यो असमानता अन्त्य गर्नुपर्छ।’

उनले पाँच वर्षभित्र १५ शैयाको अस्पताल स्थापना गर्ने बताए। उनले त्यो अस्पताल सिकलसेलका बिरामीलाई लक्षित गरेर खोलिने जानकारी दिए। सिकलसेल थारू समुदायका धेरैजसोमा लाग्ने एकप्रकारको वंशाणुगत रोग हो। थारू समुदायमा धेरै व्यक्तिमा सिकलसेल भेटिएको छ। उनीहरूले राम्रोसँग उपचार पाउन सकेका छैनन्।

उनले कृषकका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने बताए। गाउँपालिकामा उत्पादन भएका तरकारी काठमाडौंसम्म ढुवानी गर्न मिल्ने गरी कृषि एम्बुलेन्स सञ्चालन गरिने जानकारी दिए। उनले कृषकको जीवनस्तरमा सुधार ल्याउन कृषि एम्बुलेन्स प्रभावकारी हुने विश्वास व्यक्त गरे।

‘कृषि एम्बुलेन्सले कृषि क्षेत्रमा बिचौलियाको अन्त्य हुने छ’, उनले भने, ‘कृषकले आफ्नो उत्पादन आफैं बेच्न पाउने छन्।’

उनले वडाका समस्या वडामै समाधान गर्ने नीति लिएका छन्। उनले वडाध्यक्षलाई आफ्नो क्षेत्राधिकारभन्दा बाहेकका काम मात्रै गाउँपालिकामा सिफारिस गर्न निर्देशन दिएका छन्। उनले सामान्य विकास निर्माणका काम गर्न गाउँपालिका पुग्न नपर्ने भनेका छन्। ‘सामान्य कामका लागि गाउँपालिका धाउने परिपाटी अन्त्य गर्नुपर्छ’, उनले भने, ‘हामीले नीति बनाउने हो, कार्यान्वयन वडाबाटै हुन्छ।’

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीले समाजमा व्याप्त बेथिति नियन्त्रण गर्न कठिनाइ भए पनि आफू सफल हुने विश्वास व्यक्त गरे। पूर्वपत्रकार समेत रहेका उनले झन्डै दुई दशकभन्दा बढी समय टीकापुरमा रहेर  पत्रकारिता गरेका थिए। 

प्रकाशित: २० असार २०७९ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App