३ असार २०८१ सोमबार
image/svg+xml
समाज

उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ। यसका लागि नगरपालिकाले बजार अनुगमन लगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ। अनुगमनका क्रममा कैफियत देखिए कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाउँदै आएको छ।  

नगर उपप्रमुख खडकबहादुर शाहले कार्ययोजना बनाएर नियमित बजार अनुगमन गर्नुपर्ने र कैफियत भेटिए बिनापूर्वाग्रह कानुनअनुसार कारबाही गरिने बताए। उपभोक्ता हित संरक्षण शाखा टीकापुरले गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले भने,'आम नागरिकको जीवनसँग जोडिएका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्छ, उपभोक्ता ठगिएको, व्यापारीले ठगी गरेको भेटिए हामी कारबाही गर्छौँ। अनुगमनकार्य नियमित हुनेछ।'

कार्यक्रममा विभिन्न वडामा खटिएका उपभोक्ता सचेतना स्वयंसेवकले व्यवसाय दर्ता नभएका, मूल्यसूची नराखेका, म्याद नाघेका वस्तु बेच्ने गरेका र केही विक्रेताले वस्तुमा लेखेको लेवलसमेत पढ्न नसक्ने अवस्था भएको जानकारी गराएका थिए। वडा नं २ मा खटिएकी स्वयंसेवक रिमा चौधरीले विजयनगर गाउँको बजारका पसलको अवस्था बुझ्दा सबैजसो पसलले म्याद नाघेका वस्तु बेच्ने गरेका र विक्रेता वस्तुको लेवल पढ्न नजान्ने अवस्थामा रहेको जानकारी दिइन्।  

वडा नं ५ का स्वयंसेवक सञ्जु चौधरीले गाउँको बजारमा हप्ता दिनअघि म्याद नाघिसकेका वस्तु खरिद गरेर बेच्न राखेको पाइएको बताइन्। 'गाउँमा म्याद नाघेका खाद्यवस्तुसमेत बेच्ने गरेका पाइएका छन्', उनले भनीन्, 'सामान खरिद गर्न बालबालिका र महिला जान्छन्, बालबालिका म्याद हेर्न जान्दैनन्, महिलाहरू पनि कोही नजान्ने, कोही ध्यान नदिने हुन्छ। यस्तो बेला व्यापारीले लापरवाही गरे स्वास्थ्य जोखिममा रहन्छ।'

नगरपालिकाले हरेक वडामा दुई जनाका दरले १८ युवालाई स्वयंसेवकका रूपमा वडाका बजारमा पठाएको छ। नपाले यस वर्ष १३० अरु युवालाई पनि उपभोक्ता अधिकारका बारेमा अभिमुखीकरण गरेको छ। उपशाखाले वस्तुको आधारमूल्य थाहा पाउन हरेक महिनाको पहिलो साता खाद्यान्न, फलफूल, तरकारी गरी ६५ वटा उपभोग्य वस्तुको मूल्य संकलन गरी सार्वजनिक गर्दै आएको छ।  

नपाका निरीक्षण अधिकृत रञ्जु आचार्य टीकापुरको बजारभन्दा ग्रामीण क्षेत्रमा झन् बढी समस्या देखिएको नगरपालिकाको अनुगमनले पनि देखाएको जानकारी दिए।  ‘'बजारभन्दा गाउँतिर रहेका साना बजारमा म्याद नाघेका वस्तु बिक्री भएका भेटिने गरेका छन्, त्यसैले हामीले गाउँ–गाउँका बजारमा अनुगमनका लागि स्वयंसेवक खटाएका हौँ', उनले भने, 'पहिलो चरणमा सम्झाउने र अवस्थाबारे जानकारी भयो, अब आउँदा दिनमा कानुनअनुसार अघि बढ्न सकिन्छ।'

नगरपालिकाले बजार व्यवस्थापन ऐन र नियमावली बनाएर अनुगमन, गुनासो सुनुवाइ र कारबाहीका काम सँगसँगै गरिरहेको छ। आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीले उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार नभएसम्म उपभोक्ता सुरक्षित हुन नसक्ने बताए। उपभोक्ता हित संरक्षण मञ्च टीकापुका अध्यक्ष एकिन्द्र तिमिल्सिना उपभोक्तालाई सचेतना कार्यक्रम गरी व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिए। रासस

प्रकाशित: १९ असार २०७९ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App