५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुरक्षा टोलीद्वारा सम्भावित कटान क्षेत्रको स्थलगत निरीक्षण

पहाड तिर निरन्तर वर्षा भएर बागमती नदीमा जलस्तर बढेको र बाढी आउने सम्भावता रहेको अवस्थामा रौतहटको सुरक्षा निकायको संयुक्त टोलीले बागमती नदी किनारको स्थलगत निरीक्षण गरेको छ। बाढीबाट कटानको सम्भावना रहेको ठाउँ तथा बागमती नदीको तटबन्ध कमजोर रहेको बताइएको ठाउँको स्थलगत अनुगमन निरीक्षण गरेको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नेपाल प्रहरीका रौतहट प्रमुख एसपी विनोद घिमिरे, सशस्त्र प्रहरीका रौतहट प्रमुख एसपी ध्रुव कार्कीसहितको टोलीले जोखिम रहेको मानिएका बागमती नदी किनारको तटबन्धको निरीक्षण गरेका छन्।

मुख्य गरी राजदेवी नगरपालिकाको क्षेत्रमा कटानको समस्या हरेक वर्ष बल्झिने गरेकोमा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी राययादवले पनि सुरक्षा टोलीसँगै स्थलगत निरीक्षण गरेका छन्। सुरक्षा टोलीले बागमती किनारको तटबन्धको अवस्था हेर्दै ब्रह्मपुरी, कटरवन, दुर्गा भगवती गाउँपालिका, माधवनारायण र गढीमाई नगरपालिकाका सम्भावित डुबान तथा कटान क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

स्थलगत निरीक्षणको क्रममा सुरक्षा टोलीले स्थानीय जनप्रतिनिधि तथा प्रशासनलाई सतर्क अवस्था रहन आग्रह गरेको छ। जिल्लाको पूर्वी क्षेत्रमा बागमती नदी र मध्यपश्चिमी क्षेत्रमा बकैया नदीले गर्दा रौतहटमा हरेक वर्ष बाढी, डुबान तथा कटानको समस्या हुने गरेको छ।

प्रकाशित: १४ असार २०७९ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App