रौतहटको गौर र राजदेवी नगरपालिकाका नगर प्रमुखहरुले विभिन्न आयोजनाहरुको संयुक्त अनुगमन गरेका छन्।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी राय यादवले संयुक्त रुपमा सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना बिरगंजबाट भएका विभिन्न निर्माण कार्य र मरम्मत गर्नुपर्ने तथा अधुरा योजनाहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन्।
दुवै नगर प्रमुखसँगै सघन सहरी तथा भवन निर्माण आयोजना वीरगंजका डिभिजन प्रमुख झपटबहादुर थापा र इन्जिनियर सदरे आलमसहितको टोली पनि रहेको थियो।
संचालन भएका योजनाहरुमा केही ठाउँमा कमी कमजोरी देखिएको र नगर प्रमुख साहले वर्षाको समय सुरु भइसकेको हुनाले तत्काल नालामा स्लेप ढलान नभई कुनै दुर्घटना हुन पुगेका सम्पूर्ण जवाफदेही सम्बन्धित कार्यालय र ठेकेदार हुने चेतावनी पनि दिएका छन्।
निरीक्षणको क्रममा गौरको सहरी क्षेत्रमा निर्माण भएको नाला धेरै पुरानो भइसकेको र वर्षायाममा पानी जमेर घरभित्र पानी पस्ने गरेको तथा नालाको पानीको राम्रो निकास नभएको नगर प्रमुख साहले जानकारी गराएका छन्।
निरीक्षणको क्रममा डिभिजन प्रमुख थापाले विकास निर्माणको कार्यमा देखिएको समस्यालाई आफूले गम्भीरतापूर्वक लिएकार र सुधारको पक्षमा पनि गम्भीरताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित: ३१ जेष्ठ २०७९ १३:०५ मंगलबार