३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

म्याग्दीको मोतीचौरमा मुक्तिनाथको झल्को

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, दानाको धार्मिकस्थल। यहाँ मुक्तिनाथको झल्को दिने गरी १०८ धारा छन्।

अनकन्टार जंगलका बीचमा अवस्थित। चारैतिर डरलाग्दा पहाड। धुवाँधुलो र कोलाहलरहित स्वच्छ वातावरणमा। गुन्जिरहने अनेक चराचुरुंगीका आवाज। बनैभरि थरीथरीका वनस्पति खुट्टा र हातहातमा टाँसिन आइपुग्छन्।

यस्तो रमणीय स्थान कहाँ होला भन्ने जोसुकैलाई लाग्छ। यो कुतूहल मेटाउन जानुपर्छ म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, दानाबाट करिब साढे तीन घन्टाको पैदलयात्रापछि पुगिने मोतीचौर। प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गर्ने गरिए पनि धार्मिक दृष्टिकोणले पनि प्रख्यात छ यो ठाउँ।

दानाका स्थानीय चरन क्षेत्रको अभाव भएपछि एकल र सामूहिक पशु चौपायाका घुम्ती गोठ लिएर जाने गर्छन् मौतीचौर। प्राचीनकालदेखिको धार्मिक महत्वलाई मध्यनजर गरी स्वदेश तथा विदेशमा रहेका दानाबासीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको जस्तै झल्को दिने गरी १०८ धारा, मठमन्दिर, स्नानगृहसहित भक्तजनलाई विश्राम गर्ने पाटीपौवा निर्माण गरेका छन्।

गाउँपालिकाको करिब ८ लाख सहयोगबाहेक स्थानीयको पहलमा करिब २५ लाख जुटाएर १०८ पानीको मूल भएको स्थानमा १०८ धारासहित सामान्य मन्दिरलाई व्यवस्थित बनाएको उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताए। ‘मोतीचौरको सम्बन्ध मुक्तिनाथधामसँग छ’, ‘वर्षौं पहिला मुक्तिनाथबाट शालिग्राम समेत लिएर पूजा गर्ने गरिन्थ्यो’, थापाले भने।

उनले धार्मिक महत्वका क्षेत्रमा आवश्यक संरचना अभाव भएपछि स्थानीयको अगुवाइमा आवश्यक पूर्वाधार बनाउन सुरु गरिएको बताए। भारतको राजस्थानबाट ढुंगा र गाईमुखी लिएर धारा बनाइएको छ। हिउँदमा पनि नसुक्ने १०८ वटा मूलबाट पानी ल्याइएकाले पनि यो धाराको विशेष महत्व रहेको छ।

१०८ धारासहित निर्मित संरचनाको शनिबार एक कार्यक्रमका बीच वडाध्यक्ष रमेश पुर्जा, समाजसेवी कृष्ण तुलाचन, अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य आशा गुरुङले उद्घाटन गरेका थिए। वडाध्यक्ष पुर्जाले मौतीचौरको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर अगाडि बढ्ने बताए। ‘अब थपिने संरचनाले बाहिरी क्षेत्रबाट आउने पर्यटकमा केन्द्रित हुन्छ’, ‘प्रवासमा रहेका दानाबासीको प्रयासले यहाँ पुगेको छ’, अध्यक्ष पुर्जाले भने।

त्यस्तै दाना घर भई हाल बेलायतमा रहेका कृष्ण तुलाचनले हरेक योजना चन्दा संकलनबाट सम्भव नहुने भएकाले मर्मत तथा पूर्वाधारमा मौतीचौरमा उत्पादन हुने जडिबुटी, खानेपानीसहित विभिन्न आम्दानीका स्रोतबाट गर्नुपर्ने बताए। डेढ वर्षसम्म पूजाआजा गर्न आउँदासमेत बन्यजन्तुको आक्रमणबाट त्रसित हुनुपर्ने र एकरात काट्न समेत चरम असुविधा रहेको अवस्थामा अहिले सयौंको संख्यामा भक्तजन आउने गरेको मन्दिरका मुख्य पूजारी टेकबहादुर थापाले बताए।

उनले घना जंगलका बीचमा नयाँ संरचना बनेकै कारण भक्तजनको उपस्थिति रहने गरेको बताए। कल्पवृक्ष, शिवलिंग, मोक्षकुण्ड लगायतका संरचना निर्माणसमेत गरिने बताए। ‘यहाँ एकपटक आउनेहरू पटकपटक आउँछन्’, पूजारी थापाले भने, ‘भक्तजनले कल्पना गरेभन्दा यहाँको अवस्था फरक छ।’ मोतीचौरमा सिद्घवहार, गुफा मन्दिर र विष्णु लक्ष्मी मन्दिर छन्।

सिद्धवहार र गुफा मन्दिरमा बलि पूजा हुन्छ भने विष्णुलक्ष्मी मन्दिरमा शाहकारी भाकल गरिन्छ। भाकल पूरा भएपछि भक्तजनले गरेको सहयोगले समेत मन्दिरमा थप संरचना बनाउन सहज भएको व्यवस्थापन समितिको भनाइ छ। मौतीचौरमा प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुन्छ। सन्तान प्राप्ति, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षालगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन जाने गरेका छन्।

कसरी पुग्ने मोतीपुर?

बेनी–जोमसोम सडकखण्डबाट अन्नपूर्ण गाउँपालिका ३, दानासम्म सवारीसाधनबाट पुग्न सकिन्छ। त्यहाँबाट मौतीचौरसम्म पुग्न दुवाडीसम्म निर्माणाधीन सडकबाट मोटरसाइकलमा पुग्न सकिन्छ। 

सडक घुम्ती धेरै भएकाले जोखिम रहेकाले दाना डाँडागाउँदेखि जलुका, दुवारी, हिलेखर्क हुँदै पैदलयात्राबाट करिब साढे ३ घन्टामा सजिलै पुग्न सकिन्छ। पदैलमार्गमा पर्ने बस्तीका बासिन्दाको हार्दिकताले समेत यात्रा सहज हुन्छ। बस्तीबाट उकालो हिँडेपछि पशु चौपाया, भेडीगोठमा रहेका कुकुरबाट सर्तक भने हुनुपर्छ। ठाउँठाउँमा खुलाचौर र विश्रामस्थल समेत छ।

समुद्री सतहदेखि २ हजार २ मिटर उचाइमा रहेको मोतीचौरको विश्रामस्थलबाट करिब एक मिनेटको दूरीमा १०८ धारा छ भने आसपासमा अन्य मठमन्दिर छन्। मन्दिरनजिकै जडिबुटी बोधो, बन लसुन, निउरोसमेत पाइन्छ। घना जंगलको बीचबाट पहाड चढेर मुस्किलले पुग्नुपर्ने बाध्यता भए पनि त्यहाँ पुगेपछि फरक अनुभूति हुन्छ। 

प्रकाशित: २३ जेष्ठ २०७९ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App