१४ फाल्गुन २०८० सोमबार
समाज

समाजले यी ‘अन्य’ लाई किन स्वीकार्न सक्दैन?

‘सेक्सप्लोरेसन’ एपिसोड-२

पछिल्ला वर्षहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका आन्दोलनले कानुनी रूपमा महिला र पुरुष बाहेक ‘अन्य’लाई पनि पहिचान दिएको छ। तर विडम्बना, समाजले भने यी ‘अन्य’लाई अझै स्वीकार्न सकेको छैन।

नेपालको संविधान २०७२ ले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई संवैधानिक अधिकार प्रदान गरेको छ। संविधानको धारा १२ ले लैङ्गिक पहिचान अनुसारको नागरिकताको व्यवस्था गरेको छ भने धारा १८ ले विभेद गर्न नपाइने व्यवस्था गरेको छ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई महिला तथा पुरुषलाई सरह मानवीय व्यवहार र सम्मान गर्न जरूरी छ भन्ने कुरा समाजमा अझै बुझाउन नसकिएको  ‘ट्रान्सजेन्डर’ महिला तथा यौन र प्रजनन स्वास्थ्य र अधिकारका विषयमा लामो समयदेखि अधिवक्ताको रुपमा क्रियाशील रहेकी एन्जल लामा बताउँछिन्। ‘समाजलाई ‘एलजिबिटिआइक्यु’का विषयमा त्यति धेरै ज्ञान नहुनु मुख्य समस्या हो। यस समुदायको विषयमा जुन रुपमा पाठ्यपुस्तक र सञ्चार माध्यमहरुमा प्रस्तुत हुनु पर्ने हो, त्यसरी नभई मनोरञ्जको माध्यमको रुपमा प्रस्तुत गरिएकाले पनि यस समुदायका मानिसहरुलाई समाजमा अर्कै दृष्टिकोणले हेर्ने गरिन्छ।’  

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रतिनिधितव गर्ने ‘अन्य’ भनेको के–के हो?

लैङ्गिक अल्पसंख्यकका बिभिन्न प्रकारहरु छन्। जसलाई आम मानिसहरुले बुझ्न निकै आवश्यक देखिएको यस समुदायका अधिकारकर्मीहरु बताउँछन्।  

१.क्वयेर  

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्र यौन पहिचान बुझाउन ‘क्वयेर’ शब्द प्रयोग गरिन्छ। यस समुदायभित्र समलिङ्गी महिला वा पुरुष, द्विलिङ्गी, ट्रान्सजेन्डर र यस्तै अन्य सीमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू पर्दछन्।  

२.समलिङ्गी महिला ‘लेस्बियन’

कुनै पनि महिला अर्की महिलासँग यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपले आकर्षण हुन्छन् भने त्यस्ता महिलालाई समलिङ्गी महिला भनिन्छ।

३.समलिङ्गी पुरुष ‘गे’

कुनै पनि पुरुष अर्को पुरुषसँग यौनिक, मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रुपमा आकर्षण हुन्छन् भने त्यस्ता पुरुषलाई समलिङ्गी पुरुष भनिन्छ ।

४.द्विलिङ्गी ‘बाइसेक्सुवल’

आफूभन्दा फरक लैङ्गकिता र आफू जस्तै लैङ्गकिता भएका दुवैसँग यौनिक, मानसिक, शारीरिक र भावनात्मक तथा प्रणयात्मक रुपमा आकर्षण हुने व्यक्तिलाई द्विलिङ्गी भनिन्छ।

५.तेस्रोलिङ्गी ‘ट्रान्सजेन्डर’

जन्मदा यौनाङ्गको आधारमा इङ्गति गरिएको लिङ्गसँग मेल नखाने लैङ्गकी पहिचान भएका व्यक्तिहरूलाई तेस्रोलिङ्गी ट्रान्सजेन्डर भनिन्छ।

६.ट्रान्सजेन्डर पुरुष

जन्मदा योनाङ्गको आधारमा स्त्रीलिङ्ग इङ्गति गरिएको तर हुर्किने क्रममा पुरुष लैंङ्गकी पहिचान भएका व्यक्तिलाई ट्रान्सजेन्डर पुरुष भनिन्छ।

७.ट्रान्सजेन्डर महिला

जन्मदा योनाङ्गको आधारमा पुलिङ्ग इङ्गति गरिएको तर हुर्किने क्रममा महिला लैङ्गकी पहिचान भएका व्यक्तिलाई ट्रान्सजेन्डर महिला भनिन्छ।

नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको पहिचानका लागि यि ‘क्वयर’ समुदायका व्यक्तिहरुलाई ‘अन्य’ मा खुम्च्याउन नहुने अधिवक्ता तथा ट्रान्सजेन्डर महिला एन्जल लामा बताउँछिन्। ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्र धेरै प्रकारका व्यक्तिहरु छन्, उनीहरुले आफूलाई कसरी पहिचान गराउन चाहान्छन्, सोही अनुसार सरकारले उनीहरुको पहिचान गराउन जरुरी छ,’ उनले भनिन्।  

यो सँगै राज्यका कतिपय नीति–नियम तथा कार्यक्रम पनि ‘क्वयर’ समुदायका व्यक्तिहरुका हितमा नरहेको पत्रकार तथा समलिङ्गी पुरुष अंकित खड्गी बताउँछन्। ‘नेपालमा वैवाहिक समानताको कानुन छैन, रोजगारीको राम्रो व्यवस्था छैन, नागरिकतामा पनि सबै लिङ्गलाई समेटिएको छैन। उनी भन्छन्, ‘बलात्कार पनि पुरुषले महिलालाई गर्ने बलात्कारलाई मात्र कानुनमा व्याख्या गरिएको छ, तर ‘क्वयर’ समुदाय अन्तर्गतका व्यक्तिहरुमाथि हुने बलात्कार तथा योन दुर्व्यवहारको घटनालाई व्याख्या गरिएको छैन।’  

पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले प्रगति गरेको केही उदाहरण पनि छन्। विगतको तुलनामा अहिले यस समुदायका मानिस खुलेर कुरा गर्न सक्नुलाई पनि प्रगति र परिवर्तन मान्नुपर्ने पत्रकार खड्गी बताउँछन्। ‘अहिले यस समुदायका मानिसहरु पर्दा अगाडि नभएपनि पर्दा पछाडिका केही स्थानहरुमा काम गर्न सफल भएका छन्। बैंक, मोडलिङ, मेकअप आर्टिस्ट, फेसन डिजाईनिङ्ग लगायतका क्षेत्रमा यो समुदायका व्यक्तिहरु पुगेका छन्, यसलाई पनि उपलब्धि मान्नुपर्छ,’ उनको भनाइ थियो।  

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका विषयमा सञ्चार माध्यमको भूमिका

नेपालमा अझैपनि सञ्चारका बिभिन्न माध्यमहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका विषयलाई प्राथमिकतामा राखि सूचना प्रवाह नगरेको पाइएको अधिवक्ता लामाले बताइन्।

सञ्चारको माध्यम चलचित्रहरुमा पनि जुन रुपमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसहरुलाई प्रस्तुत गरिन्छ, त्यो निकै निन्दनीय छ।  मनोरञ्जनको स्रोतको रुपमा मात्र व्याख्या गरी समाजमा हम्रो समुदायका मानिसहरु त्यस्तै किसिमका हुन्छन् भन्ने छाप पार्न खोज्नु पनि गलत हो। सञ्चारका हरेक माध्ययमसंग समाजलाई परिर्वतन गर्न सक्ने क्षमता हुन्छ, त्यसकारण यस्ता संवेदनशिल विषयहरुमा सञ्चारमाध्यमहरुले सूचना प्रवाह गर्दा बढी सचेत हुनु पर्ने देखिएको छ,’ उनको भनाइ थियो।

वृहत्तर यौनिकता शिक्षा र यसको प्रभावकारिता

नेपालको सन्दर्भमा कक्षा ९ र १० मा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विद्यार्थीलाई अनिवार्य गरिएको विषय हो। तर नेपालको पाठ्यपुस्तकमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई  सही तरिकाले परिभाषित नगरिएको अधिवक्ता लामाको भनाइ छ।  

‘पाठ्यक्रममा वृहत्तर यौन शिक्षाका सबै तत्वलाई समावेश गरिएको छैन। सबै किसिमका लिङ्ग, उनीहरुले सामना गर्ने शारीरिक, मानसिक तथा सामाजिक पीडा, महिला तथा ट्रान्सजेन्डर पुरुषलाई हुने महिनावारी र महिनावारी हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने लगायतका विषयमा पाठ्यपुस्तकमा समावेश भएको छैन, जुन निकै चुनौतीपूर्ण विषय हो। यसले विद्यार्थीहरुले यौन शिक्षाका विषयमा पर्याप्त ज्ञान आर्जन गर्नबाट वञ्चित त हुने देखिएको छ,’ उनले भनिन्।  

यौनिकता, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गरिएका विभिन्न अध्ययनका अनुसार यौनिकता शिक्षामा आधारित जीवनोपयोगी सीप अभावका कारण किशोरकिशोरीले विभिन्न किसिमका चुनौतीको सामना गरिरहेका हुन्छन्। विविध जिज्ञासाउपर सही जानकारी नहुँदा वा जानकारी पाउने अवसर नहुँदा गलत सूचना प्राप्त गर्ने सम्भावना हुन्छ।  

‘हाम्रो देशमा यौन र यौनिकताको सवालमा कुरा गर्न अझै पनि चूनौतीपूर्ण छ। आफूलाई जतिसुकै यौनका विषयमा सिक्न र जान्न इच्छा भए पनि सामाजिक मनोविज्ञानका कारण उनीहरू यससम्बन्धी सूचना र ज्ञान प्राप्त गर्न हिचकिचाउँछन्। उनी भन्छिन्, ‘यस्तो व्यवहारका कारणले शिक्षक तथा अभिभावकलाई बालबालिकासँग र बालबालिकालाई आफ्ना शिक्षक तथा अभिभावकसँग यौनका विषयमा खुलेर कुरा गर्न सहज वातावरण छैन।’  

यो पनि पढ्नुहोस्

‘सबै लिङ्गका व्यक्तिलाई सम्बोधन हुने गरी कानुन निर्माण हुनुपर्छ’

गलत वा भ्रमपूर्ण सूचनाका कारण उनीहरूले जोखिमपूर्ण यौन व्यवहार अपनाएको बिभिन्न अध्ययनहरुले देखाएका छन्। यसकारण किशोरकिशोरी तथा युवाका लागि पहुँच पुग्ने गरी सूचना र जानकारी दिन आवश्यक रहेको अधिवक्ता लामा बताउँछिन्।

(युवा नामक संस्थासंगको सहकार्य र ‘राईट हेयर राईट नाउ’ संस्थाद्वारा प्रायोजित ‘सेक्सप्लोरेसन’ रेडियो नागरिक ९६.५ मेगाहर्जको प्रस्तुती हो। कार्यक्रम प्रस्तोता निश्मा चौधरीले ट्रान्सजेन्डर महिला अधिवक्ता एन्जल लामा र समलिङ्गी पुरुष पत्रकार अंकित खड्गीसँग गरेको कुराकानीको आधारमा यो लेख केन्द्रित छ।)

 

प्रकाशित: २२ जेष्ठ २०७९ १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App