१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तारा एयर दुर्घटनाः अहिलेसम्म २१ जनाको शव फेला

पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका २१ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन् ।  

जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहान नजिकै सानोसरे भन्ने ठाउँको पहाडमा ठोक्किएर दुर्घटनामा परेको अवस्थामा जहाज सोमबार बिहान फेला परेको थियो। आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको केहीबेरमा जहाज सम्पर्कविहीन भएको थियो। दिनभर खोजी गर्दा पनि जहाज फेला परेको थिएन। सोमबार बिहान स्थानीले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका थिए।  

जहाज फेला पारे लगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए। उद्धारमा खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। हराएका एकजनाको पनि खोजी भईरहेको छ। भेटिएका २१ मध्ये १० जनाको शव सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। बाँकी ११ जनाको शव अहिलेपनि घटनास्थलमै रहेको उनले बताए। मौसम खराबीले गर्दा संकलित शव तल झार्न नसकिएको उनले बताए। मृतकहरुको पहिचान खुलेको छैन।

पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्वीनअटर जहाज जोमसोम पुग्न नपाउँदै बीचैबाट सम्पर्कविहीन भएको थियो। जहाजको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि  जहाजबारे कतै पत्तो लागेको थिएन। जहाजमा चालक दलका तीनजना सदस्यसहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक गरी २२ जना रहेका छन्।  

प्रकाशित: १६ जेष्ठ २०७९ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App