१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनागस्त तारा एयरमा थिए धनुषाका सातजनाको परिवार

तारा एयरको दुर्घटनाग्रस्त विमानमा सवार धनुषाको मिथिला नगरपालिका ११ तुलसीलोटा टोलका एकैपरिवारका सातजना ।

दुर्घटनाग्रस्त तारा एयरको जहाजमा धनुषा जिल्ला मिथिला नगरपालिका –११ तुलसीलोटा गाउँका सात जना सवार थिए।

एकै परिवारको अवकाश प्राप्त शिक्षक मकरबहादुर तामाङ्ग उनकी श्रीमती सुकुमाया तामाङ्ग, राजन कुमार गोले , राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग रहेको मकरबहादुरका कान्छा छोरा सुरेश तामाङ्गले जानकारी दिए।

एकै परिवारका उनीहरु शुक्रबार काठमाडौं आएका थिए। राजन काठमाडौं बस्छन्। उनैसँग शुक्रबहादुरका कान्छा छोरा सुरेश पनि काठमाडौंमै काम गर्छन्। उनीहरू नातामा दाइभाइ (फुफुको छोरा) हुन्।

मकरबहादुरसहितका परिवारजन मुक्तिनाथ दर्शन गर्ने भनेर शुक्रबार काठमाडौं आएका थिए। शनिवार राजनसहित सात जना परिवारका सदस्य जहाजबाट पोखरा पुगेका थिए। उनीहरु काठमाडौंबाटै जोमसोमका लागि टिकट बुक गरेका थिए। मुक्तिनाथ दर्शनका लागि उनीहरु आइतबार तारा एयरको ट्विनअटर जहाज चढेका थिए। पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमै जहाज सम्पर्कविहिन हुन पुगेको थियो।

हराइरहेको जहाज सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको सानोस्वारे भीरमा दुर्घटनाग्रस्त अवस्थामा नेपाली सेनाको खोजी टोलीले फेला पारेको छ।

दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ। चालक दलबाहेक १९ यात्रुमध्ये सात धनुषाको एकै परिवारका हुन्।

एकै परिवारका सात जना विमान दुर्घटनामा परेपछि धनुषाको तुलसीलोटा टोल भावविहवल छ। यस क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित मधेस प्रदेश सरकारकार उद्योग पर्यटन तथा वन मन्त्री शुत्रधन महतो मकरबहादुरको घरमै पुगेर परिवारजनलाई सन्त्वना दिएका छन्। महतोले भने,‘मेरो यो क्षेत्रसँग सांसदको मात्र नभई यो परिवारसँग पारिवारिक सम्बन्ध पनि छ। दुःखद घटनाले अतयन्तै दुखी छु उनले भने,‘शनिबार राजनजीसँग फोनमा कुराकानी गरेको झलझल्ती सम्झिरहेको छु। ‘मुक्तिनाथ दर्शन गरेर दुई तीन दिनमै फर्किन्छु’ भन्नु भएको थियो, मन्त्री महतोले फोनसम्वाद सम्झिँदै भम्क्कानिए।

मकरबहादुरका कान्छा छोरा सुरेश बुवाआमासहित परिवारका सात जना चढेको जहाज हराइरहेको थाहा पाएलगत्तै धनुषाबाट काठमाडौं पुगेका छन्। सुरेश फोनमा भक्कानिँदै भने,‘भर्खरै फोन आयो, शवहरु सग्लै भेटिएको बताउनुभयो। शव काठमाडौं ल्याइसकेपछि हामी त्यहीँ पुग्छौं, उनले भने। मुक्तिनाथ दर्शन गरेर उहाँहरु(परिवारका सदस्य) आज काठमाडौं फर्किने योजना थियो सुरेशले भने,‘शिक्षकबाट अवकासप्राप्त बुवा बाकी जिवन धर्मकर्ममा बिताउने भन्नुहुन्थ्यो। उहाँहरु मुक्तिनाथबाट प्रसाद लिएर फर्किनुहुन्छ भने प्रतिक्षामा थियौं उनी भक्कानिए‘खै कसरी के भयो........!’

प्रकाशित: १६ जेष्ठ २०७९ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App