४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हराईरहेको हवाईजहाज बारे अहिलेसम्म यकिन जानकारी छैनः मुस्ताङ प्रजिअ (अपडेट)

पोखराबाट जोमसोम जाने क्रममा बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको हवाईजहाजको खोजीमा अप्ठेरो आएको छ । मौसम खराबी हुँदा हेलिकप्टरबाट खोजी सम्भव नभएको र स्थलमार्गबाट खोज्न जानुपर्दा थप समस्या भएको मुस्ताङ प्रशासनले बताएको छ ।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माका अनुसार अहिलेसम्म हवाई जहाजबारे कतैपनि आधिकारिक सुचना आएको छैन । अहिलेसम्म आएका जे जति जानकारी भएपनि त्यो सत्य नभएको उनले बताए । ‘अहिलेसम्म हवाई जहाजबारे कतै संकेत पाएका छैनौ । मौसम अनुकुल नहुँदा हवाईमाध्यमबाट खोजी गर्न आजका लागि असम्भव जस्तै भएको छ,’ शर्माले भने, ‘स्थलमार्गबाट गएर खोज्दा कति सम्भव हुन्छ, त्यो गर्ने हो ।’

शर्माका अनुसार सेना र निजी गरेर अहिले चारवटा हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिकास्थित कोबाङमा रहेका छन् । ती हेलिकप्टर अब सदरमुकाम जोमसोम गएर बस्नेछन् । स्थलमार्गको टोली भने खोजीका लागि गएपनि फेला पार्ने सम्भावना कम रहेको उनले बताए । ‘अब हाम्रो खोजीको केन्द्र धौलागिरी हिम श्रृंखला क्षेत्रमा हुनेछ,’ उनले भने, ‘स्थलमार्गबाट कहाँसम्म पुगिन्छ, त्यहाँसम्म खोज्ने हो ।’

पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । जहाजको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट अन्तिम सम्पर्क भएको थियो । जहाजमा चालक दलका तीनजना सदस्य सहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक गरि २२ जना रहेको तारा एयरले जनाएको छ ।  

प्रकाशित: १५ जेष्ठ २०७९ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App