४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जहाज अलमलिएको जस्तो आवाज सुनिएको थियोः स्थानीय (अपडेट)

पोखरा–जोमसोम रुटमा आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै भेटिएको छैन। मुस्ताङको थासाङ गाउँपालिका-२ लार्जुङको आकाशमा जहाज अलमलमा परेको स्थानीयले बताएका छन्।  

स्थानीय जनआदर्श अमरसिंह माविका शिक्षक वीरेन्द्र लामिछानेका अनुसार लार्जुङ लेते र टुकुचेबीचको ठाउँ हो। विद्यालयमा विहानी प्रार्थना चलिरहेको बेला आकाशमा जहाजको आवाज सुनिएको लामिछानेले जानकारी दिए। ‘यो नियमित उडानको बाटो थिएन। तर, जहाज रूमलिएकाे आवाज भने सुनेका हौं, जहाज भने देखिएन,’ उनले भने, ‘जहाज रुमलिएको जस्तो देखेपछि हामीले पनि नराम्रो संकेतको आशंका गरेका थियौं।’

शिक्षक लामिछानेका अनुसार मौसम राम्रो हुँदा जहाज यो रुटबाट हत्तपत्ति उड्दैनन्। तर, जब मौसम बिग्रन्छ, त्यसपछि जहाज यो रुटमा पनि देखिन्छन्, हिजोअस्ति पनि देखिएका थिए। ‘मौसम खराब हुँदा मात्र जहाजको आवाज सुनिन्छ,’ उनले भने, ‘मौसम राम्रो हुँदा कालिगण्डकी नदी माथिबाटै जहाज उड्छ।’ 

उनका अनुसार जहाज कालिगण्डकीको बायाँतर्फ रुमल्लिएको जस्तो देखिएको थियो। ‘मौसम राम्रो हुँदा जहाजले कालिगण्डकीलाई दायाँ पारेर उड्छन्। मौसम खराबी हुँदा बायाँ पारेको देखिन्छ। तर, आज भने आकाशमै जहाज रुमल्एिको थियो,’ उनले भने। लार्जुङको भीर र खोंचसम्म जान पनि समस्या रहेको उनले सुनाए। उच्च हिमाली खोच र अप्ठेरो ठाउँ भएकोले जान सहज नभएको उनले बताए। 

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App