अघिल्लो स्थानीय सरकारका पाँच वर्ष समग्रमा उपलब्धिपूर्ण बनेको पाइएको छ।
पुराना जनप्रतिनिधिको कार्यकाल पूरा हुँदै नयाँको स्वागतका लागि चुनाव प्रचारमा रहँदा पहिलाले ठिकै गरेका थिए, फेरि नयाँ किन ल्याउन लागे भन्ने प्रतिक्रिया स्थानीयबाट सुनिएको थियो। जिल्लाको रास्कोट नगरपालिका–२ की बिह खड्काले स्थानीय सरकारले गाउँमा सडकदेखि खानेपानीसम्म दिएको बताइन्।
‘पिउने पानी लिन गाउँबाट ३० मिनेटको बाटो हिँडेर जानुपथ्र्यो। आजभोलि त आँगनमै पानीका धारा पाएका छौं। हाम्रा लागि यस्तै विकास गर्ने नेता चाहिएको हो,’ उनले भनिन्, ‘आँगनमा पानीको धारा हुँदा महिलालाई धेरै सहज भएको छ, खाना पकाउन, गाईवस्तुलाई पानी दिन, भाँडा माझ्न महिलालाई सहज हुँदा अन्य काम गर्न पनि सजिलो भएको छ।’
त्यस्तै खुसीमा अम्मकला न्यौपाने पनि छिन्। उनले पानीले तरकारी खेती झन् मौलाएको बताइन्। न्यौपानेले आफ्नो गाउँमा तरकारी खेती हुन्छ भनेर वडा नम्बर २ का वडाध्यक्ष दयाराम सिंखडाले सुरुमा पानीको योजना दिएकाले आफ्ना गाउँका सबै खुसी भएको सुनाइन्।
वडा नम्बर २ का पृथी खड्काले गाउँमा सडक पुग्दा तरकारी खेतीमा धेरै किसानको रुचि बढेको सुनाए। ‘विकास भएपछि मान्छे रोजगारी हुन आफैं पनि तयार हुँदो रहेछ,’ उनले भने, ‘पहिला सडक नहुँदा उही परम्परागत खेतीमा लाग्ने आफ्नो गाउँका किसान आजभोलि बन्दा, आलु, भाजी, काँक्रा, टमाटरलगायत तरकारी खेतीमा जुटेका छन्,’ उनले भने।
प्रकाशित: १५ जेष्ठ २०७९ ०६:५७ आइतबार