८ वैशाख २०८१ शनिबार
समाज

राजदूत: राम्रा कि हाम्रा?

संसदीय समितिमा मंगलबारदेखि सरकारले सिफारिस गरेका राजदूतमाथिको उजुरीमाथि सुनुवाइ भइरहेको छ। यस क्रममा आठजना राजदूतको सुनुवाइ सकिएर नियुक्तिका लागि सिफारिस भइसकेको छ। बाँकी १२ जना राजदूतको नियुक्तिका निम्ति बिहीबार सुनुवाइ हुनेछ।

कूटनीतिक नियोग प्रमुखको जिम्मेवारी जस्तोसुकै परिस्थितिमा पनि आफ्नो मुलुकको हित प्रवर्द्धन तथा कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकसँगको सम्बन्ध सुमधुर र बलियो बनाउनु हो। मुलुकको हितका लागि भन्दै ठुलो आर्थिक भार बेहोरेर मित्र राष्ट्रहरूमा खटाइने त्यस्ता नियोग प्रमुख योग्य र सक्षम हुनुपर्छ। तर, नेपालमा राम्राभन्दा पनि हाम्रा मान्छेलाई राजदूत बनाउने प्रवृत्ति बढ्दै गएको छ। यस्तो प्रवृत्तिमा रोक लगाउन अघिल्लो सरकारले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ सार्वजनिक गरे पनि त्यसको पालना भएको छैन।

६ पृष्ठ लामो उक्त निर्देशिकामा राजदूत हुन परराष्ट्र सेवाअन्तर्गत भए विशिष्ट वा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी हुनुपर्ने तथा बाह्य क्षेत्रबाट भए मुलुकको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण दखल राख्ने वा योगदान पुर्‍याएका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति हुनुपर्ने उल्लेख छ। तर पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले आफैंले सुरु गरेको सुधारको प्रयासलाई निरन्तरता दिन सकेन।

२०७६ असारमा राजदूत सिफारिस गर्दा प्रधानमन्त्री ओलीले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालका आफन्त महेश्वर दाहाललाई अस्ट्रेलिया र आफूनिकट व्यापारी लाक्पा सोनम शेर्पाकी छोरी दावाफुटी शेर्पालाई स्पेनका लागि राजदूत सिफारिस गरेर निर्देशिका लत्याउने काम गरे। ती दुवै जना सरकारले बनाएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाभित्र पर्दैनथे। उनीहरूको मुख्य योग्यता भनेको दाहाल र ओलीसँग निकट हुनु थियो।

ओली नेतृत्वको पूर्ववर्ती सरकारले गत वर्षको जेठमा राजदूत सिफारिस गर्दा पनि आफैंले बनाएको मापदण्डको बेवास्ता गर्‍यो। त्यतिबेला राजनीतिक कोटामा राजदूत सिफारिस भएका ११ जनामध्ये कतिपयको कुनै पनि मापदण्ड पूरा हुने अवस्था थिएन। ओलीले बहराइनका लागि राजदूत सिफारिस गरेका युवराज कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वाेच्चमा रिट परेको थियो। सर्वाेच्चले उनलाई राजदूत सिफारिस नगर्न आदेश दिएको थियो।

त्यस्तै पूर्ववर्ती सरकारले डेनमानर्कका लागि राजदूत सिफारिस गरेकी झापाकी सुमित्रा सुवेदी भण्डारीको योग्यता उनी तत्कालीन प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईकी सासू हुनु थियो। सुवेदीले राजदूतमा सिफारिस भएपछि दिएको एक अन्तर्वार्तामा आफू अनुभवी नभए पनि सिक्ने बताएकी थिइन्। ओली सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेकी सुम्निमा तुलाधर पदमरत्न तुलाधरकी छोरी हुन्। उनै ओलीले जापानमा राजदूत भएकी प्रधानमन्त्री शेरबहादुर देउवाकी सासू प्रतिभा राणाको कार्यकाल सकिएपछि पनि म्याद थपिदिएका थिए।

ओली आफैंले बनाएको मापदण्ड उल्लंघन गरे। सत्ता कसरी सञ्चालन गर्नुपर्छ हामी देखाउछौँ भन्ने वर्तमान सत्ता गठबन्धनले पनि ओलीको त्यही शैलीलाई निरन्तरता दियो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सत्ता गठबन्धनले अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलायो, सिफारिस भएका राजदूत पनि रद्द गर्‍यो। देउवा सरकारले राजदूत सिफारिस गर्दा पनि ओली शैलीलाई अवलम्बन गर्‍यो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले परराष्ट्र सेवा र राजनीतिक कोटामा राजदूत सिफारिस गरेकामध्ये अधिकांश नेताका आफन्त वा नेताहरूसँग निकट सम्बन्ध रहेका छन्। देउवा सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेका कैलाश पोखरेल सत्ता घटकमध्येका एक नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन्। त्यस्तै श्रीलंकाका लागि राजदूत सिफारिस वासुदेव मिश्र ऊर्जामन्त्री फम्फा भुसालका बहिनीज्वाइँ हुन्। दक्षिण कोरियाका लागि राजदूत सिफारिस ज्योति प्याकुरेल श्रीलंकाका लागि पूर्वराजदूत तथा अर्थविद् विश्वम्भर प्याकुरेलकी पत्नी हुन्।

रुसका लागि राजदूत सिफारिस मिलन तुलाधर नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनका सल्लाहकार भएका थिए। मलेसियाका लागि राजदूत सिफारिस डिल्लीराज पौडेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका आफन्त हुन्। त्यसबाहेक पनि वर्तमान सरकारले राजनीतिक कोटामा सिफारिस गरेका कतिपय राजदूतको योग्यता अघिल्लो सरकारले बनाएका मापदण्डअनुसार पुग्दैन।

प्रकाशित: ५ जेष्ठ २०७९ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App