२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गोरखामा १९औँ सवालाख रोट महोत्सव सुरु

रोट महोत्सवमा सोमबार निकालिएको रथयात्रा।

गोरखामा सोमबारदेखि सवालाख रोट महोत्सव सुरु भएको छ। गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९औँ रोट महोत्सव सुरु गरेको केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले बताए। पहिलो दिन सोमबार बाजागाजासहित गोरखा बजारबाट दरबारसम्म रथ यात्रा गरिएको थियो।

यात्रामा शक्ति केन्द्रका साधक, साधिका, स्थानीयहरुको उपस्थिती थियो। राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले वैशाख पूर्णीमादेखि ११ दिनसम्म महोत्सव गरेर रोट अपर्ण गर्दै आएको छ। यो अवधीका सवा लाख वडा रोट चढाइन्छ।

गोरखा दरवारमा चल्ने रोट महोत्सव बिगत दुई वर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेन। दुई वर्षसम्म नित्य पुजा अन्र्तगत रोट चढाइएको थियो। अहिले भने कोरोनाको त्रास कम भएकाले पहिलो दिनदेखि नै भक्तजनको उल्लेख्य उपस्थिती रहेको छ। यो पटक २० देखि २५ हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने अपेक्षा आयोजकको छ।

गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा नियमित भजन, कृतन, पुजापाठ गरेर सयौँ भक्तजनको उपस्थितीमा रोट महोत्सव ११ दिन सम्म चल्ने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए। रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निशुल्क ब्यवस्था समेत गरेको छ।

देशका विभिन्न ठाउँबाट भक्तजनहरु गोरखा आउने अपेक्षा गरिएको केन्द्रकी साधिका विन्देश्वरी बरालले बताइन्। गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मीक मान्यता छ। नियमित पुजाको साथै गोरखा दरबार परिसरमा भजन कृतनको कार्यक्रम पनि संचालन गरिने शक्ति केन्द्रको सम्पर्क कार्यालय गोरखाका नबिन श्रेष्ठले बताए।

गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ। विभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाइन्छ। रोटमा जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाइन्छ। नाथहरु शुद्ध भइ पिठोमा किसमिस मिसाएर रोटलाई स-सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App