१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

इलाममा अपराह्नसम्म एक लाख २१ हजारले गरे मतदान

इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्रमा मतदान गर्दै मतदाता। तस्बिर: भीम/नागरिक

इलाममा अपराह्न साढे ३ बजेसम्ममा १ लाख २१ हजार जनाले मतदान गरेका छन्। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।  

उनका अनुसार जिल्लाका सबै (दुई सय ८५) मतदान केन्द्रमै शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। ‘साढे ३ बजेसम्ममा ५४ प्रतिशत मत खसेको जानकारी आएको छ,’ उनले भने, ‘सबै केन्द्रमा सौहार्दपूर्ण रूपमा मतदान भइरहेको छ, अप्रिय घटना कतै छैन।’ सिडिओ ढुंगानाका अनुसार जिल्लामा मौसम पनि अहिलेसम्म राम्रो छ भने कुनै पनि केन्द्रमा वर्षाकै कारण मतदान रोकिएको छैन। ‘रातिसम्ममा सबै केन्द्रमा मतदान सकिएर गणनास्थलसम्म मतपेटिका आइपुग्ने अनुमान छ,’ उनले भने।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको कुल मतदाता संख्या २ लाख २४ हजार ७ सय ४८ छ। तीमध्ये पुरुष १ लाख १५ हजार ५ सय ५४, महिला १ लाख ९ हजार १ सय ९२ र अन्य २ मतदाता छन्। सूर्योदय नगरपालिकामा सबैभन्दा बढी ४५ हजार १ सय ९४ मतदाता छन्। इलाम नगरपालिकामा ३६ हजार ७ सय ३०, देउमाईमा २५ हजार ८ सय ५८ र माई नगरमा २४ हजार २ सय ९४ मतदाता छन्।

गाउँपालिकामध्ये चुलाचुलीमा १८ हजार ५ सय ८०, फाकफोकथुममा १६ हजार ५ सय ३५, माइजोगमाईमा १६ हजार ५ सय ६६, माङ्सेबुङमा १२ हजार ५ सय ६८, रोङमा १५ हजार ३३ र सन्दकपुरमा १३ हजार ३ सय ९० मतदाता छन्। जिल्लामा एक सय ५१ मतदानस्थल र २ सय ८५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०७९ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App