२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘पहिले यस्तो खर्चिलो हुने थिएन निर्वाचन’

शुक्लागण्डकी नगरपालिका-७ खैरेनीटार बजारमा रहेको चौतारीमा बसेर कुराकानी गर्दै ज्येष्ठ नागरिकहरु।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारका ८५ वर्षीय श्यामप्रसाद श्रेष्ठसँग यो भन्दा पहिले भएका अधिकांश निर्वाचनमा सहभागी भएर मतदान गरेको अनुभव छ। बुढ्यौलीमा लौरीको साहारामा हिँडडुल गर्ने श्रेष्ठले यसपाली पनि मतदान गर्दैछन्।

यसपाली र पहिलेको निर्वाचनको दृश्य उनले धेरै फरक पाएका छन्। श्रेष्ठका अनुसार उम्मेदवारसँग हिँड्ने समर्थकको भीड पहिले उत्तिसारो हुन्थेनन्। उम्मेदवार गाडी चढेर भोट माग्न गाउँ गाउँमा पुग्नलाई बाटो थिएन। हिँडेरै घरदैलो गर्थे। ‘अहिले त उर्वलौँ केटाहरु धेरै देखिन्छन्। यत्रा सवारी पनि थिएनन्। खर्च पनि अहिले त कत्ति गर्न सक्या हुन्,’ उनले भने। उम्मेदवारले पेट्रोल, खानपानमा बेकार खर्च गरेको उनी बताउँछन्।

मतदातालाई पैसा बाँडेर चुनाव जित्छन् भन्ने हल्ला उनले सुनेका छन् रे। ‘अहिले गरेको यत्रो खर्च कसरी उठाउछन्,’ उनी भन्छन्, ‘पहिले मतदातालाई प्रभावित पार्नलाई पैसा बाँड्ने चलन पनि थिएन्। खर्च भनेकै चियापानी र खानपानमा हो।’ चुनाव जित्नलाई पैसा बाँडेको मन परेको छैन उनलाई। पार्टी र उम्मदवारको संख्या धेरै हुदाँ चुनावमा तडकभडक बढेको उनले बताए।

श्यामप्रसादलाई जस्तै ६२ वर्षीय प्रेमबहादुर विकलाई पनि अहिलेको चुनाव निकै खर्चिलो भएको  लाग्छ। उनका अनुसार पञ्चायतको बेलामा हुने चुनावमा खानपान मात्र केही खर्च हुन्थ्यो। प्रधान पञ्चमा चुनाव लड्ने उम्मेदवारले २०/२५ हजार रुपैयाँमा चुनाव उम्काउने बताए। अहिले गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयर हुनलाई करोडौँ खर्च भइरहेको सुनिने उनको भनाइ छ।

उनका अनुसार पञ्चायत कालमा वडा सदस्यले साथमा दुई हजार रुपैयाँ लिएर चुनाव जित्थे। ‘त्यतिबेला अहिलेको जस्तो प्रचारप्रसार हुन्थेन। हाते पम्पलेट छपाएर प्रचार गरिन्थ्यो। घरघरमा हिँडेरै पुगिन्थ्यो। अहिले त प्रचारप्रसार पनि महंगो भएको छ,’ उनले भने। पञ्चायतको बेला वडा सदस्यको चुनाव लडेका उनले पछिल्ला चुनाव मंहगो भएसँगै भ्रष्टचार मौलाएको बताउँछन्।

‘चुनावको बेला गरेको खर्च त जसै उठाइहाल्छन् नि,’ संशकित हुँदै उनले भने, ‘जति खर्च गर्‍याछन् पहिला आफ्नो गोजी भरेर बल्ल काम गर्ने हुन्। उ बेला खर्चपनि थिएन। भ्रष्टचार पनि कम हुन्थ्यो। सामान्य खर्च खानपानमा मात्रै हुन्थ्यो।’ पैसा बाड्ने चलन पहिला पहिलाको चुनावमा नभएको विकले सुनाए। मौन अवधि सुरु नहुदाँसम्म दैनिक उम्मेदवारको लस्कर लागेर भोट माग्न आएका थिए ८९ वर्षीय देवबहादुर थापासँग।

चुनावका बेला हात जोड्दै पटक आउने नेताहरु जितेपछि नर्फने उनी बताउँछन्। चुनावको बेला दिएको आश्वासन कहिल्यै पूरा नभएको उनको गुनासो छ। ‘चुनाव अगाडी हामी यसो गर्छौँ उसो गर्छौँ भन्छन् क्यारे। जितेपछि विर्सन्छन् कि क्या हो कुन्नी फर्कदैनन्,’ उनले भने। भोट माग्न आएर जितेकाहरुले पछाडी भेट्दा नचिन्ने उनको भनाइ छ।

शुक्रबार बिहान ७ देखी साँझ ५ बजेसम्म तनहुँको १० स्थानीय तह र ८५ वडाको नेतृत्व चयनका लागी मतदान हुदैँछ। जिल्लाका दुई लाख ४४ हजार ३ सय ४० मतदाताले नगरपालिका, गााउँपालिका र वडा हाँक्ने नेतृत्व चयन गर्नेछन्।  १३६ मतदानस्थलका २९७ मतदान केन्द्रमा मतदाताले मतदान गर्ने व्यस्था मिलाइएको छ।

स्थानीय तहको निर्वाचनमा तनहुँमा एक हजार ६३५ उम्मेद्वारले प्रतिस्पर्धा गर्ने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए। ढकालका अनुसार चार नगरपालिकाको मेयरमा २८ जना र उपमेयरमा २१ जना चुनावी मैदानमा होमिएका छन्। ६ गाउँपालिकाको अध्यक्षमा ३२ र उपाध्यक्षमा ३१ जनाले प्रतिस्पर्धा गर्नेछन्।

८५ वडाको वडाध्यक्षमा ३६० जनाले प्रतिस्पर्धा गर्दैछन्। १७० खुला वडा सदस्य निर्वाचित हुनेमा ६०३ जनाको उम्मेदवारी परेको छ। महिला वडा सदस्यमा २८६ र दलित महिला सदस्यमा २७५ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिएका मध्य ८० जना स्वतन्त्र उम्मेदवार छन्। चार सय ४४ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

देवघाट गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन्। देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विकको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। उनले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्। गएको स्थानीय निर्वाचनमा जिल्लामा एक हजार ५८२ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २९ वैशाख २०७९ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App