रोजगारीका लागि भारत गएका जुम्लास्थित गुठीचौरका जंगबहादुर बुढा आइतबार नेपालगन्ज आइपुगेका छन्। स्थानीय तहको निर्वाचनमा सहभागी हुन नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै मताधिकार प्रयोगका लागि घर पुग्ने गन्तव्यमा छन् उनी। बुढा काम छाडेर मतदानमा सहभागी हुन आउनुको एउटै कारण छ, ‘गाउँमै रोजगारी मिलोस्।’ गाउँमा रोजगारी नहुँदा परदेशमा पसिना बगाउँदै आएका उनलाई परिवारबाट अलग्गिएर भारतमा रोजगारी गर्नु कुनै रहर छैन। परदेश नगए परिवार पालनपोषण गर्न सक्ने रोजगारी छैन नहुँदा परदेश जानै पर्ने बाध्यता छ उनलाई।
परिवारबाट अलग्गिएर मन अमिलो बनाउँदै परिवारकै पेट पाल्न उनी परदेशीनु पर्ने विवशता छ। उनीसँगै फर्किएका प्युठानका जनक कामी चुनावका लागि घर फर्किन हतार थिए। मतदान गर्नु मात्र छैन उनलाई, घरमा भोट माग्न आएका नेतालाई रोजगारी सिर्जनाका लागि वातावरण मिलाइदिनु प¥यो भन्ने माग पनि गर्नुछ। ४५ वर्षीय उनी १५ वर्षको हुँदादेखि रोजगारीका लागि भारत जाने आउने गर्छन्। अब उनको चाहना छ, ‘आफू त परदेश नगइ भएन। अब आफ्ना सन्तानले आफ्नो जस्तै नियति भोग्नु नपरोस्।’ ‘म सानै उमेर कमाउन भारत गए। यो उमेरसम्म अधिकांश समय भारतमै बसेँ। दसैं तिहारजस्ता चार्डपर्व र विशेष दिनेमा घर फकिन्छुँ,’ उनले भने, ‘घरपरिवारदेखि टाढा रहेर काम गर्दाको नमिठो अनुभूति मैले संगालेको छुँ। अब यस्तो अवस्था मेरा सन्तानमा नआओस्।’ यसका लागि पनि यो चुनावमा नेताहरुसँग रोजगारी सिर्जनाका कामहरु गर्नुपर्यो भनेर ध्यानाकर्षण गराउने उनले बताए।
गाउँमै रोजगारी नहुँदा परिवारसँग टाढा हुनुपरेको भन्दै नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा भेटिएका रोल्पाका विविन घर्तीले भने, ‘रोजगारीका लागि परदेशी हुनुपर्ने रहर छैन। अब यतै रोजगारी बन्न चाहान्छुँ। रोजगारी दिनेलाई मेरो मत जान्छ।’ यसभन्दा अघिका चुनावमा पनि दलहरुले रोजगारीका उदारो वाचा गरे पनि यसपालि जनताले वाचा पूरा नगर्ने भन्दा पूरा गर्नेलाई मतदान गर्नुपर्ने उनको भनाइ छ। उनी भारतमा मासिक ३० देखि ४० हजारसम्म आम्दानी गर्छन्। घरमा बसे भने कमाइ शून्य हुन्छ। ‘गाउँमा काम पाइँदैन। त्यत्तिकै गाउँमा घुम्नेमात्र काम हुन्छ,’ उनी भन्छन्, ‘धेरै दिन घरमा बस्यो भने काम पाइँदैन। उल्टै कमाएर ल्याएको पैसा मात्र सकिन्छ। अनि ऋण लाग्छ।’
यस्तै उदाहरण रोल्पाकै संगीन बुढाको छ। कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका बेला उनी घर फर्किए। त्यतिबेला घर आएका उनी गाउँमै काम गर्ने र परदेश नजाने योजनामा थिए। पछि कोरोना भाइरस सामान्य भयो। उनी कामका लागि धेरै भौतिरिए। ‘धेरै ठाउँ काम खोजे। महिनामा त्यही पाँच दिन जति काम पाएँ,’ उनी भन्छन्, ‘अरु दिन घरमै बित्यो। त्यो पाँच दिनको पैसाले महिनाभरि खान लगाउननै पुगेन। उल्टै ऋण लाग्यो, अनि मनभरि पीडा संगाल्दै पुनः परदेशिए।’ यदी गाउँमै काम पाइन भए परदेश जान रहर नभएको उनी बताउँछन्।
अहिले मताधिकार प्रयोग गर्न घर फर्किने नेपालीको संख्या सीमामा बढेको छ। तिमध्ये अधिकांशले स्वदेशमै रोजगारीको माग गरेका छन्। यही (नेपाल) रोजगारी सिर्जना गर्नुपर्ने उनीहरु बताउँछन्। निर्वाचनका बेला नेताहरुले दिएको आवश्वासनमा बढी आस लाग्ने भारतमा रोजगारी गरिरहेका तर अहिल बिदामा मतदान गर्ने नेपाल फर्किएका रुकुम पश्चिमका घनश्याम खत्रीले बताए।
‘यसभन्दा पहिलाका चुनावमा पनि नेताहरुले गाउँमै रोजगारी सिर्जना गर्छाैं भनेर वाचा गरेका थिए,’ उनी भन्छन्, ‘त्यतिबेला भारत गएर पसिना बनाउनु नपर्ने भयो भनेर खुसी भएँ। तर चुनाव सकिएपछि त वाचाअनुसारको कामै भएन। पछि फेरि मन अमिलो बनाउँदै परदेशमै हानिएँ।’ ‘यसपालि पनि नेताले आश्वासन दिएका छन्,’ उनी भन्छन्, ‘चुनावपछि फेरि पहिलाको जस्तै त हुने होला !’
स्थानीय तहको निर्वाचनमा सहभागी हुन घर फर्किनेको संख्या सीमा क्षेत्रमा बढ्दो छ। इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार दैनिक पाँच सयभन्दा बढी नेपाली घर फर्किन्छन्।
प्रकाशित: २८ वैशाख २०७९ १०:०५ बुधबार