५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

सहकारी वित्तीय विकास संस्था लिमिटेडबाट ठगिएका पीडितहरु। तस्बिर: नागरिक

सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा मुद्दा खेपिरहेका व्यक्ति पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि पीडितहरु विरोधमा उत्रिएका छन्। सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएपछि निक्षेपकर्ताले दैनिकजसो सडकमा प्रदर्शन गरेका हुन्।  

विरोधस्वरुप उनीहरुले विभिन्न दलका प्रमुख तथा प्रतिनिधीलाई भेटेर आफ्नो गुनासो पोख्ने गरेका छन्। यसैक्रममा सोमबार नेपाली कांग्रेस पार्टी कार्यालयमा पुगेर उनीहरुले ध्यानाकर्षण गराए। पीडित निक्षेपकर्ताको अगुवाई गर्दै आएका वरिष्ठ अधिवक्ता विजय गुप्ताले उपमहानगरपालिकामा समेत ध्यानाकर्षण गराउन जाँदा नगर प्रमुख डा.धवल सम्शेर राणाले भेट्न नदिएको भन्दै दुःख व्यक्त गरे।  

कालो सूचीमा रहेका र सहकारी वित्तीय विकास संस्था लिमिटेडका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका अजय पाठकलाई एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा वडाध्यक्षको उम्मेदवार बनाएको थियो। तर, उजुरी परेपछि उनको उम्मेदवारी रद्ध भइसकेको छ। वरिष्ठ अधिवक्ता गुप्ताका अनुसार पाठक अदालतमा ४० लाख धरौटी बुझाएर छुटेका थिए। सहकारीको रकम अपचलन गरेको आरोप लागेका दीपककुमार बर्मालाई पनि एमालेले नेपालगन्ज–१८ को वडाध्यक्षको उम्मेदवार बनाएको छ।  

बर्मालाई जिल्ला अदातलले सहकारी रकम अपचलन, ठगी र संगठित अपराध मुद्दामा २०७६ पुस १४ गते थुनछेक आदेश गरेको थियो। आदेश लगत्तै पक्राउ परेका बर्मा २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। सहकारी रकम अपचलनमा संलग्न ब्यक्तिको उम्मेदवारी खारेजको माग गर्दै पीडितले यही बैशाख १२ गतेका दिन पनि नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी नाराबाजी गरेका थिए।  

मुद्दाको टुंगो नलाग्दै र बचतकर्ताले रकम फिर्ता नपाउँदै मुख्य अभियुक्तलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतार्नेमा एमाले मात्र छैन। निक्षेपकर्ताको रकम अपचलन तथा ठगी गरेको अभियोग लागेका हरदेवबक्स चौधरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ र रविन थापालाई वडा नम्वर ६ मा वडाध्यक्षको उम्मेदवार बनाएको छ। उनीहरु २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।  

ध्यानाकर्षण गराउन पार्टी कार्यालय पुगेका निक्षेपकर्तालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पीडितको माग जायज भएको र कांग्रेसले यो मुद्दालाई गम्भीरताका साथ उठाउने बताए। चुनावमा उक्त मुद्दालाई अगाडी बढाएर जनतामाझ लैजाने बाल्मिकीको भनाई छ। ठगी, रकम अपचलनमा मुद्दा खेपेका व्यक्ति नै उम्मेदवार बनेपछि पीडित निराश बनेका छन्।

प्रकाशित: २६ वैशाख २०७९ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App