२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दलित वस्ती भन्छन्ः आश्वासन होइन, पानी दिनेलाई भोट दिन्छौं

म्याग्दीको बेनी नगरपालिका-५ पुरण्य गाउँमा दैनिक उम्मेदवारको लर्को छ। चुनावको मुखमा दैनिक जसो विभिन्न दलहरु आएर भोट माग्ने आउने गरेका छन्। अभावै अभावमा गुज्रिएको पुरुण्यका समस्या समाधान गर्ने प्रतिबद्धता सहित ढोका–ढोकामा आएर नमस्कार गरेका नेताहरूलाई पाँच वर्षपछि स्थानीयले देख्न पाएका छन्।

अघिल्लो चुनावमा स्थानीय तथा नगरबाट आएका उम्मेदवारले दिएको एउटा आश्वासन पूरा नभएको भन्दै ६० वर्षीया गौमती दर्जीले आश्वासन मात्रै दिन नेताहरू घरदैलोमा आएको बताइन्। ‘घर–घरमा पानी ल्याइदिन्छौ भन्ने स्थानीय नेताकै अनुहार पाँच वर्ष पछि देखे,‘अब चुनाव जितेपछि उहाँहरूलाई भेट्नै मुस्किल हुन्छ’ दर्जीले भनिन्।

एक घण्टाको यात्रा गरी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै नेताहरूले दलितलाई सँधै भोट माग्ने मतदाताको रुपमा मात्रै प्रयोग गरेको स्थानीयको गुनासो छ। पुरण्यमा १०३ दलित घर परिवारको वस्ती छ। वस्तीमा २ सय ५० भन्दा बढी मतदाता संख्या र ४ सय बढी जनसंख्या छ।

सदरमुकाम बेनी बजारदेखि एक घण्टाको दुरीमा रहेको यो वस्तीमा न खानेपानी छ न त सबै घरमा शौचालय नै छ। विगतमा जितेका जनप्रतिनिधिका आश्वासनबाट आजित भएका स्थानीयले उल्टै आश्वासन यसपटक स्थानीयले नै प्रहार गर्न थालेपछि उम्मेदवार नै चकित परेका छन्। एक गाग्री पानी लिनको लागि १ घण्टाको समय खर्चिन पर्ने समस्यामा छन्।

दिशा पिसाब गर्नका लागि पाखो वा अर्कैको शौचालयमा पालो पर्खन पर्ने बाध्यतामा छन्। स्थानीय बुद दमाई गाउँमा हामीलाई भोट दिनुहोस् तपाईंका समस्या हामी समाधान गर्छाै भन्दै २०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनमा भोट माग्न आएका स्थानीय जनप्रतिनिधिले समेत समस्या समाधानमा चासो नदेखाएको गुनासो गरे।

‘भोट बटुल्न मात्रै आउँछन्, ‘चुनावमा मात्र नेताहरु हाम्रो वस्तीलाई सम्झिन्छन्’ उनले भने। उनले यस्तै अवस्था भए मतदान केन्द्रमा गएर मतपत्र खल्तीमा हालेर फर्किने उनले बताए। गाउँमा शिक्षा, स्वास्थ्य खानेपानी, विद्युत लगायतका सुविधाले छुन नसकेको बताउँदै मत दिएर पठाउनेहरूबाटै वर्षौदेखि गाउँलाई धोका भएको तिलु दमाईको भनाइ छ।

बाक्लो वस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हिराबहादुर परियारले बताए। ‘जुन जोगी आएपनि कानै चिरेको जस्तै भएको छ’ उनले भने।

राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भइरहेको भन्दै यसपटक लिखित र समय तोकेर प्रतिबद्धता दिनेलाई नै भोट दिने उनले बताए। यसपटक पनि दल र तिनका उम्मेदवारहरुले निर्वाचन पछि दुई महिना भित्रमा नै खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका छन्।

म्याग्दीमा  दलित, विपन्न समुदायलाई आफ्नो पक्षमा पार्न दलहरूले झुटा आश्वासन दिने गरेको भन्दै यसपटक मतदाता नै आक्रोशित भएपछि दलका उम्मेदवार र प्रचारप्रसारमा गएका कार्यकर्तालाई समेत हम्मेहम्मे परेको छ। 

प्रकाशित: २५ वैशाख २०७९ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App