८ वैशाख २०८१ शनिबार
समाज

तीन महिनादेखि एम्बुलेन्स सञ्चालन भएन

स्वास्थ्य चौकी परिसरमा त्रिपालले छोपेको एम्बुलेन्स।

वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका युवाहरुले आर्थिक संकलन गरेर हस्तान्तरण गरेको एम्बुलेन्स तीन महिनादेखि सञ्चालन हुन सकेको छैन। टीकापुर नगरपालिका–८ धनसिँहपुरमा स्थायी बसोबास रहेर विभिन्न देशमा रोजगारीका क्रममा रहेका युवाहरुले धनसिँहपुर स्वास्थ्य चौकीलाई माघ १९ गते एम्बुलेन्स हस्तान्तरण गरेका थिए।

एक समारोहकाबीच युवाहरुले हस्तान्तरण गरेको एम्बुलेन्स बुझ्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले छिट्टै सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए। मेयर रावलले छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको भएपनि एम्बुलेन्स स्वास्थ्य चौकीको हाताभित्र थन्किएको छ। एम्बुलेन्सलाई त्रिपालले छोपेर राखिएको छ।

आफ्नो जन्मथलोमा विभिन्न सामाजिक काम गर्ने उद्देश्यले वैदेशिक रोजगारीका क्रममा रहेका युवाहरुले धनसिँहपुर प्रवासी युवा समिति समेत गठन गरेका छन्। उनीहरु हाल रोजगारीका क्रममा कोरिया, जापान, अमेरिका, साउदी अरब, मलेसीया लगायतका देशमा रहेका छन्। सो समितिको पहलमा २२ जना युवाहरुले ११ लाख ७६ हजार रुपैयाँ संकलन गरेर एम्बुलेन्स खरिद गरेको हो।

समितिका संयोजक ओमबहादुर साउँदले एम्बुलेन्स सञ्चालनमा आउन नसक्नु दुःखद भएको बताए। उनले बिरामीको उपचारमा सहयोग पुग्ने उद्देश्यले हस्तान्तरण गरेको एम्बुलेन्स थन्काएर राख्दा आफूहरुको भावनामा चोट पुगेको दुःखेसो पोखे। एम्बुलेन्स खरिदका लागि उनी स्वयम्ले सबैभन्दा धेरै १ लाख १५ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेका थिए।

टीकापुर नगरपालिका वडा नं. ८ का वडा सचिव मटराम चौधरीले चालकको व्यवस्था नहुँदा एम्बुलेन्स सञ्चालनमा आउन नसकेको बताए। उनले नगरपालिकाले चालकको व्यवस्था नगरेको जानकारी दिए। ‘हामीले चालक राख्ने व्यवस्था छैन’ उनले भने–‘नगरपालिकाले यस बारेमा चासो दिएन।’

धनसिँहपुर स्वास्थ्य चौकीका इञ्चार्ज केवलसिँह भूलले एम्बुलेन्स सञ्चालन भए बिरामीलाई उपचारमा सहज हुने बताए। उनले एम्बुलेन्स सञ्चालनमा नआएर थन्किनु राम्रो कुरा नभएको बताए। ‘नगरपालिकाले दरबन्दी कायम गरेर चालकको व्यवस्था गरेको भए राम्रो हुन्थ्यो’ उनले भने–‘एम्बुलेन्स थन्काएर राख्नु राम्रो कुरा हैन।’

यो ठाउँ टीकापुर नगरपालिकाका अन्य वडाको तुलनामा टीकापुर अस्पतालबाट भौगोलिक रुपमा टाढा छ। यो बाढी प्रभावित क्षेत्र समेत हो। यहाँका बासिन्दा वर्षौदेखी स्वास्थ्योपचारको समस्या भोग्दै आएका छन्।

प्रकाशित: १६ वैशाख २०७९ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App