मगरको जग्गा सबै बाढीले बगायो, अब नयाँ बनाएको घर मात्र बाँकी छ। 'यो पनि कतिखेर बाढीले बगाउने हो चिन्ताले सताइरहेको छ', उनले भने, 'अब सर्ने ठाउँ बाँकी छैन।' बूढापाकाका अनुसार मगर परिवार २०३५ सालमा त्यहाँ बसाइँ सरेको हो। मगरको परिवार अहिलेसम्म ८ ठाउँमा बसाइँ सरिसकेका छन्। त्यो बेला मगर परिवारको जमिन एक सय रोपनी थियो, अहिले दुई रोपनी मात्रै छ।
परशुराम नगरपालिकाका एक दर्जन गाउँका अधिकांश बासिन्दा बर्षेनी नयाँ–नयाँ बस्तीमा बसाइँ सर्ने गरेका छन्। गाउँको सार्वजनिक भवन र स्कुल बाढीले बगाएपछि स्कुल पनि ठाउँ सरेको शिक्षक चन्द्रसिंह डाँगीले बताए। गाउँमा भएका मठमन्दिर, सार्वजनिक भवन, खानेपानी योजना बस्तीसँगै सार्नु पर्ने बाध्यता छ।
जोगबुढा क्षेत्रका रंगुन र पुन्तरा, साँदनी र महाकाली नदी किनाराका झण्डै दुई दर्जन गाउँहरु पनि प्रत्येक वर्ष कटान हुने गरेका छन्। जिल्लाको भित्री मधेशका तीन वटा गाविसका दर्जनौं गाउँहरुले हरेक वर्ष यही नियति भोग्दै आएको स्थनीय शिक्षक लक्ष्मणबहादुर सिंह बताए।
'बाढीका कारण तीन वर्षअघिका दर्जनौं गाउँहरु अहिले छैनन्,' समाजसेवी रमेश पनेरुले भने, 'आलीताल, परशुराम नगरपालिका ६, १२, ४, ७ नम्बर वडाका दर्जनौं उब्जाउ भूमि पनि अहिले बगरमा परिणत भइसकेको छ।' बाढीपहिरो अझै नरोकिएकाले एक दर्जन बढी परिवार गाउँ छाडेर अन्तै सरेका छन्।
दर्जनौं घर जोखिममा
यसैगरी, भारी वर्षापछि झर्न थालेको पहिरोका कारण खोटाङको बाँझेच्यान डाँडा र रतन्छाका दर्जनौं घर जोखिममा परेका छन्। ट्याम्केडाँडाको दक्षिणीपाटोमा पर्ने टंकुभक्कु भीरबाट झर्न थालेको पहिरोका कारण बाँझेच्यान डाँडा–९ र ८ का २० घर तथा रतन्छा–२ र १ मा उत्तिकै संख्यामा स्थानीय जोखिममा परेका हुन्।
बेलिया खोलाहुँदै झरिरहेको भलपानी तथा पहिरोको ढुंगामाटोका कारण खोलाको दायाँबायाँ कटान हुँदा बस्ती जोखिममा परेका हुन्। पहिरोसँगै झरेको भलबाढीले दर्जनौं काठे पुल, कुलो र अलैंची बगान बगाएको छ।
यस्तै स्थानीय बेलिया खोलाको कटानका कारण रतन्छा–२ थापागाउँमा ६ घर जोखिममा परेका छन्। निरन्तरको कटानका कारण रत्नबहादुर थापा, सुजमायाँ थापा, कुमार थापा, आँखे थापा, घनश्याम थापा, नरबहादुर थापाको बिस्थापनको अवस्थामा पुगेका छन्। बेलिया खोलाको कटानले सुरु भएको पहिरोका कारण थापागाउँका कमला राई र नीरबहादुर खत्रीको परिवालाई पनि तत्काल अन्यत्र सार्नुपर्ने अवस्था आएको स्थानीयले बताएका छन्। बेलिया खोलाले रतन्छा–१ का चक्रप्रसाद फुयाँलको १७ रोपनी खेत बगाएको छ। मखुवा खोलाको कटानका कारण कुलो र झोलुंगे पुलको जग तथा अलैंची बगान बगाएको छ।
जागै बस्छन् स्थानीय
यसैगरी भूकम्पले छियाछिया बनाएको जमिन बग्ने, पहिरो जाने, नदी–खोलाको बाढीले कटान थालेपछि उत्तरी गोरखा एक दर्जन बस्तीका स्थानीयलाई निन्द्रा पर्न छाडेको छ। भूकम्पले भत्काएको घरछेउमै अस्थायी टहरा बनाएका पीडितहरु दिनभर उज्यालोमा बाहिर बस्छन् र राति बगाउला भन्ने चिन्ताले जाग्रामै बस्छन्।
बूढीगण्डकीको बाढीले भूकम्पले भत्काएको टहरा बगाउने डरले थुमी ६ सोतीका ३३ घरधुरी बिस्थापित भइसके। अस्थायी टहरा समेत छाडेर नदीकाँठभन्दा केहीमाथि डाँडातिर स्थानीय सरेका छन्।
केरौँजा गाविसको ४ र २ मा लगातारको पहिरोले सय घरधुरी विस्थापित बनेका छन्। भग्नावशेष र अस्थायी टहरासमेत पहिरोले लगेपछि भूकम्पको पीडामाथि पहिरो थपिएको छ। केरौँजाका स्थानीय सुकबहादुर गुरुङले पहिरो निरन्तर बगिरहेकाले अहिले बसाइँ सरेको ठाउँमा पहिरोको खतरा रहेको बताए।
२०५२ सालमा थुमीको आर्खेत बजार बाढीले बगाएको थियो। बस्तीको दायाँ खहरे खोला र काँठमा बुढीगण्डकी नदीले वर्षेनी बर्खामा १ सय ९२ धुरी भएको गाउँ बगाउने डर भएको पूर्ण दाहाल बताउँछन्।
बिहीबार राति भूकम्पबाट सुरक्षित आर्खेतखोलाको दोस्रो लघुजलविद्युत आयोजना बगायो। थुमीको १, २ र आरुआर्वाङको ५ र ९ वडाका तीन सय पाँच धुरीलाई उज्यालो दिइरहेको १८ किलोवाट क्षमताको लघुजलविद्युतका पाइप बगाएको छ।
यी बस्ती खतरामा भए पनि स्थानान्तरणको रेर्कडमा भने राखिएको छैन। जिल्लाका १३ गाविसका २५ भन्दा बढी बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकाले पनि गोरखामा अहिलेसम्म बस्ती स्थानान्तरण गरिएको छैन।
प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँका स्थानीय थातथलो छाडेर जान नमान्दा समस्या भएको बताए। गाउँमा भए जति सम्पत्ति र जग्गाजमिन दिए मात्रै सर्ने बताएपछि स्थान्तरण अलपत्र परेको उनले बताए।
प्रकाशित: ३१ असार २०७२ २२:१८ बिहीबार