२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तराईमा तातो हावाले जनजीवन प्रभावित

बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा दैनिक गर्मी बढ्दैसँगै लु-लाग्न सुरु भएको छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म लु-लाग्ने गरेको हो। दिउँसो तातो लु अर्थात तातो हावा चल्दा यहाँको दैनिकी कष्टकर हुँदै गएको छ। दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा लाग्ने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ।

तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ। पश्चिम तराईका जिल्लामध्ये सबैभन्दा बढी तापक्रम भैरहवामा रह्यो। आइतबार यहाँको तापक्रम ४० डिग्री सेल्सियस रह्यो। यो तापक्रम देशका अन्य क्षेत्रभन्दा पनि बढी हो।

त्यस्तै नेपालगन्जको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्यो। यो सिजनमा यहाँ ४० डिग्रीसम्म तापक्रम पुगेको थियो। यसभन्दा अघि नेपालगन्जमा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको रेकर्ड छ। यता सुदूरपश्चिमको राजधानी धनगढीमा तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जनाए।

उनका अनुसार दैनिक तराई तथा पहाडी जिल्लामा तापक्रम बढ्दो छ। नेपालगन्जसहित तराईका केही जिल्लामा तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले जनाए। ‘तातो हावा सुरु भइसकेको छ,’ उनले भने, ‘यसलाई लु भनेर घोषणा गरिएको छैन।’

दैनिक चार/पाँच घण्टा तातो हावा चल्यो भने लु भन्न मिल्ने उनको भनाइ छ। उनका अनुसार यहाँ दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा चल्ने गर्छ। पश्चिम तराईमा गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनु पर्ने उनी बताउँछन्।

‘तातो हावा चल्न सुरु भएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक अरु बेला घर बाहिर निस्किनू हुँदैन। निस्कनै परे सावधानीपूर्वक हिँड्डुल गर्नुपर्छ।’ ‘दिउँसो घरभित्र पंखा लगाउँदा पनि तातो हावा आउँछ,’ नेपालगन्जका विक्रम श्रेष्ठले भने, ‘तातो हावा चल्न थाल्दा समस्या भएको छ।’

गर्मीले पानीका स्रोत सुक्दै जाँदा जनावर तथा चराचुरुंगीलाई पानी खान समस्या भएको छ। अहिले बाँकेका साना खोलाहरु सुख्खा छन् भने सानासाना तालतलैय्या पनि पानीविहीन भएका छन्। जसले गर्दा गाईवस्तु, जनावर, चराचुरंगीलाई पानी खान समस्या भएको छ। बजार क्षेत्रमा छाडा पशु चौपाया पनि पानी खानबाट वञ्चित भएका छन्।

प्रकाशित: ११ वैशाख २०७९ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App