जङ्गलमा उम्रेको च्याउ खाँदा उदयपुरमा ८ जना बिरामी भएका छन् । वर्षासँगै उम्रेको जङ्गली च्याउ तरकारी पकाएर खाँदा चौदण्डीवढी नगरपालिका ९ को सदा परिवारका सबै सदस्य बिरामी परेका हुन् ।
बिरामी हुनेमा ८५ वर्षीया वृद्धादेखि १० वर्षीया बालिकासम्म रहेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । च्याउ खाएर बिरामी पर्नेमा ८५ वर्षीया भवानी सदा, २९ वर्षीया मञ्जु सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सञ्जना सदा र ५५ वर्षीया लनु सदा रहेका छन् ।
गाउँमा परिवारका सबै जना बिरामी परेको खबर पाएपछि उद्धार गरी उद्धार थरी उपचार गराउन चौदण्डीगढी नगर अस्पताल बेलटार पठाएको वडाध्यक्ष प्रकाश राउतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । इप्रका प्रमुख प्रहरी निरीक्षक बबिन राईले नगर अस्पताल बेलटारमा उपचारार्थ भर्ना गरिएकोमा निको नभएपछि जिल्ला अस्पताल गाईघाट रिफर गरिएको बताए ।
इन्स्पेक्टर राईका अनुसार घाइतेहरू सबै एउटै परिवारका नातिनीदेखि हजुरआमासम्म रहेका छन् । अस्पतालले विषालु च्याउ खाएकै कारण उनीहरु बिरामी परेको जनाएको छ । च्याउले घाइते भए पनि त्यत्ति धेरै सिकिस्त भने नभएकाले स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ ।
प्रकाशित: २७ श्रावण २०८२ १८:०५ मंगलबार





