४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

लिमचुङबुङको वनपाला जंगलमा आगलागी हुँदा नग्रेमा गाउँ जोखिममा

उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाको जंगलमा डढेलो लाग्दा स्थानीय नग्रेमा बस्ती जोखिममा परेको छ। वडा नं. २ तामलिछास्थित नग्रेमा गाउँमुनिको वनपाला जंगलमा आइतबार मध्यान्हदेखि लागेको आगोले गाउँ जोखिममा परेको हो।

दिउँसो १२/१ बजेदेखि लागेको डढेलोले अहिलेसम्म सयौं रोपनी क्षेत्रफलको जंगल  नष्ट पारिसकेको वडाध्यक्ष भविन्द्र राईले बताए। राईका अनुसार वनपाला जंगलमा लागेको डढेलो फैलिंदै साँझसम्ममा नग्रेमा बस्तीमा आगो संक्रमण हुने खतरा बढेको छ। आगोले बस्ती छुन केही सय मिटर मात्र बाँकी रहेकाले स्थानीयबासी भेला भई गाउँको सुरक्षामा जुटेको वडाध्यक्ष राईले बताएका छन्।

‘जंगलमा डढेलो दनदनी फैलिंदैछ। हामी बस्ती बचाउन सबै गाउँले भेला भएर सुरक्षामा खट्दैछौं’ वडाध्यक्ष राईले मोवाइल सम्पर्कमा भने, ‘अहिले बस्तीभन्दा ३/४ सय मिटर तलसम्म डढेलो आइसकेको छ। गाउँमा आगो संक्रमण हुन नदिन सय मिटर तल अग्निरेखा कोरेर बस्ती बचाउने प्रयास गर्दैछौं।’ जंगलमा अग्निरेखा कोरेपछि जोखिम अलि कम हुने भए पनि हावा चलिरहेकाले अझै पूर्ण सुरक्षित भने नभएको स्थानीयको भनाइ छ।

अर्का स्थानीय जितेन राईले आसन्न स्थानीय तह चुनावले गाउँलेलाई छोइसकेकाले धेरैजसो अगुवा बैठक र छलफलमै व्यस्त रहनुपर्दा कतिखेर कसरी डढेलो लाग्यो भन्ने पत्तै नभएको बताए। बिहानैदेखि पार्टीले चुनावमा उठाउने वडाध्यक्ष लगायत उम्मेदवारहरूको नामबारे छलफल गर्न बैठक भइरहेकाले डढेलो फैलिएको बैठक सकिएपछि मात्र थाहा भएको वाइसिएल केन्द्रीय सदस्य समेत रहेका राईले बताए। ‘हामी सबै उम्मेदवार तोक्न बैठकमा व्यस्त थियौं’ उनले भने, ‘कतिखेर डढेलो लाग्यो, थाहै भएन। बैठक सकिनै लाग्दा डढेलोले बस्ती नै जोखिममा परेको खबर पाएपछि निभाउनेतर्फ लाग्यौं।’

जंगलमा लागेको डढेलोले गाउँमा आगलागी हुने डर हुँदा गाउँले त्रसित भएका स्थानीय जुनु राईले बताइन्। तामलिछा माविमा १२ कक्षा पढ्दै गरेकी उनले गर्मी बढेर जंगल सुक्खा भएको बेला लागेको डढेलो तत्काल निभाउन नसके गाउँमा आगलागीको जोखिम हुने बताइन्।

प्रकाशित: ५ वैशाख २०७९ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App