१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बागलुङ कालिका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थी। तस्बिरः संगम/नागरिक

शनिबार चैतै दशैंको महाअस्टमी पर्व। बागलुङ कालिका भगवती मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ।

चैते दशैंको अवसरमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दु धर्मावलम्बीहरु बिहान ४ बजेबाटै मन्दिरमा पुगेका छन्।

गण्डकी प्रदेशकै मुख्य शक्तिपिठको रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शन गर्न आएको उदयपुरकी गिताकुमारी उप्रेतीले बताइन्।

‘हामी मुक्तिनाथ पुगेर चैते दशैंको अवसरमा बागलुङ कालिका मन्दिर दर्शन गर्नेगरी उदयपुरबाट आएका छौं,’ उनले भनिन्, ‘भगतवीको विशेष शक्ति छ। त्यसले गर्दा सबै मनले आँटेका कुराहरु पुग्छन् भन्ने विश्वासले हामी आएका हौं।’

धर्म संस्कृतिले मनको शान्तिको काम पनि गर्ने शेषकान्त रिजालको भनाइ छ। ‘मन्दिर आएर भगवानको पूजा आराधना गर्दा शान्तिको अनुभूति हुन्छ,’ उनी भन्छन्, ‘त्यसले गर्दा हामी आएका छौं। हाम्रो धार्मिक र सांस्कृतिक परम्परा अनुसार भवगती देवीलाई शक्तिको रुपमा पुज्ने चलन पनि छ।’

चैत दशैंका सन्दर्भ पारेर बागलुङ कालिका गुठी भगवती व्यवस्थापन समिति बागलुङले मेलाको समेत आयोजना गरेको छ। विगतमा चैत्राष्टमी मेला वस्तु विनीमयको केन्द्र पनि थियो। बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको उनबाट निर्मित राडी पाखी घुम लगायतका वस्तुहरुमा मेलामा राखिन्थ्यो।

तराईबाट मसला लगायत अन्य वस्तुहरु ल्याएर सामग्रीहरु एक आपसमा साटासाट गरेर मेलामा आफूलाई आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो। विगत लामो समयदेखि स्वतः स्फूर्त रुपमा चैते दशैंको समयमा लाग्दै आएको मेला केही वर्ष यता बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले औपचारिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

चैते दशैं मेला बागलुङको मुख्य पहिचानको अवसर पनि हो। यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजनहरु आउने गर्छन्। कोरोनाका कारण विगत दुई वर्ष हुन नसकेको मेला यस पटक पुनः सञ्चालन गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले बताए।

‘दुई वटा वर्षहरुमा कोरोनाले गर्दा मेला भएन, ’खड्काले भने, ‘यस पटक फेरी व्यवस्थीत तरिकाले मेला गरेका छौं। चैत २४ बाट सुरु भएर २८ गतेसम्म मेला हुन्छ।’ मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय लोक भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ।

राष्ट्रिय लोकदोहारी गीत प्रतियोगितामा प्रथम पुरस्कार नगद तीन लाख, द्वितीय पुरस्कार एक लाख ५० हजार र तृतीय पुरस्कार ७५ हजार रुपैयाँ राखिएको छ। कालिका कप खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद तीन लाख, द्वितीय पुरस्कार नगद १ लाख ५० हजार, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २० हजार राखिएको छ।

सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउनेछन्। राष्ट्रिय लोक भजन प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कार ५० हजार राखिएको अध्यक्ष खड्काले बताए। छेलो फाल्ने प्रतियोगितामा प्रथम पुरस्कार ११ हजार एक सय ११ र द्वितीय पुरस्कार पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार राशी राखिएको छ।

बिहीबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा १७ समूह सहभागी भएका छन्। विगत लामो समययता स्वतः स्फूर्त रुपमा लाग्दै आएको मेला पछिल्लो समय औपचारिक रुपमा आयोजना हुँदै आएको छ। कहिले बागलुङ उद्योग वाणिज्य संघले त कहिले कालिका मन्दिर गुठी व्यवस्थापन समितिले गर्दै आएको मेला केही वर्षयता निरन्तर गुठीले गर्दै आएको छ।

मेलामा अवसरमा घरेलु तथा हस्तकलाका सामग्रीसंगै फेन्सी तथा होटल रेष्टुरेन्टका स्टलहरु पनि राखिएका छन्। गत शनिबार एकै दिन दुई लाख बढी श्रद्धालु भक्तजनहरुले बागलुङ कालिका मन्दिरको दर्शन गरेकाले र यो शनिबार मात्रै तीन लाख बढीले दर्शन गर्ने उनले बताए।

खडका अनुसार १० लाख बढी पर्यटक यो चैत्राष्टीम मेला अवधिभर आउने विश्वास गरिएको छ। विक्रम संवत १५९१ सालमा पर्वते राजा प्रतापीनारायण मल्ले पाल्पाली राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेपछि राजकुमारीले दाइजो स्वरुप ल्याएकी माझकी देवीको मूर्ति बागलुङमा ल्याएर बिसाएपछि पुनः बोक्न खोज्दा उठाउन नसकेपछि यही मन्दिरको स्थापना गरिएको किम्बदन्ती छ।

राजकुमारीको प्रिय देवीलाई यही छाड्नु परेपछि राजाले रानीलाई खुसी पार्न हरेक चैते दशैंमा मेला गर्ने परम्पराको थालनी गरेको बताइन्छ। बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ।

धार्मिक आस्थाका मात्र नभएर घुम्न आउनेहरु पनि बागलुङ कालिका मन्दिर आउने गरेका छन्। बागलुङ कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम संग्रहालयलाई प्याकेजको रुपमा अगाडि बढाउने सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने पर्यटन व्यवसायीको विश्वास छ।

प्रकाशित: २६ चैत्र २०७८ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App