१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

तारणीप्रसाद कोइराला स्मृत्ती सञ्चारग्राम सञ्चालनमा

सञ्चारग्रामको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायत। तस्बिरः विनोद/नागरिक

विराटनगर–४ स्थित तारणीप्रसाद कोइराला स्मृत्ती सञ्चारग्राम सञ्चालनमा आएको छ। सञ्चारग्रामको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संयुक्त रुपमा उद्घाटन गरे।  

सञ्चारग्रामसँगै विराटनगर महानगरपालिकाको महानगर एफएमको पनि उद्घाटन गरिएको छ। कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री कार्कीले सञ्चारग्राम र महानगरएफएम सञ्चालनमा आएको घोषणा गरे। लामो पहल र प्रयत्नपछि प्रदेश १ मा निर्माण भएको सञ्चारग्राम उद्देश्य अनुरुप सञ्चालन हुने  मन्त्री कार्कीले विश्वास  व्यक्त गरे। विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएकै कारण सञ्चारग्राम बन्ने वातावगरण बनेको भन्दै उनले आगामी दिनमा पनि महानगरको पूर्ण सहयोग आबश्यक रहने बताए।  

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले समाचार व्यूरोको रुपमा सञ्चारग्राम सञ्चालन गर्न लागिएको बताए। उनले पत्रकारको क्षमता अभिवृद्धि गर्ने, पूर्व क्षेत्रको काला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने सञ्चारग्रामको उद्देश्य रहेको बताए। विराटनगर महानगरपालिकाले उपलब्ध गराएको ६ कठ्ठा १८ धुर जग्गामा रेडियो नेपालले २० करोड रुपैयाँको लगानीमा आधुनिक भवन निर्माण गरी सञ्चार सम्बद्ध विभिन्न काम गर्न तथा व्यवस्थित सूचना केन्द्रको रुपमा प्रयोग गर्न योग्य भवन निर्माण गरेको हो।

कार्यक्रममा  पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले परिवर्तनको आन्दोलनमा बहुप्रतिभाशाली व्यक्तित्व तारिणीप्रसाद कोइरालाको स्मृतिमा सञ्चारग्राम निर्माण भएकोमा खुसी लागेको बताए। लामो समयको प्रयास पछि सञ्चारग्रामले मूर्तता पाएको धारणा राखे।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राई, स्वास्थ्य मन्त्री जयराम यादव, सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे, नेपाली काग्रेंसका केन्द्रीय सदस्य डा डिला संग्रौला, अमृत अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: १९ चैत्र २०७८ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App