२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

निर्वाचनमा खटिने कर्मचारी तीन दिनअघि नै मतदान केन्द्रमा पुगिसक्नुपर्ने

आउँदो स्थानीय तहको निर्वाचनका क्रममा खटिने सहायक कर्मचारी र सहयोगी कर्मचारी मतदानको कम्तिमा तीन दिनअघि नै मतदान केन्द्रमा पुगिसक्नुपर्ने भएको छ।

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ अनुसार सम्बन्धित निर्वाचन अधिकृतले आफ्नो पालिकाका मतदान स्थल र केन्द्रमा तोकिएका सहायक कर्मचारी र सहयोगी कर्मचारी मतदानको कम्तिमा ३ दिनअघि नै मतदान केन्द्रमा पठाइसक्नुपर्ने हुन्छ।

मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र लगायतका मतदान सामग्रीहरु बुझी आवश्यक सुरक्षा प्रवन्धसहित ढुवानी गर्ने व्यवस्था मिलाउनुपर्ने समेत निर्देशिकाले भनेको छ। यो प्रक्रियामा स्थानीय प्रशासनले सुरक्षाको प्रवन्ध गर्ने छ भने समन्वयको पहिलो कार्यभार सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको हुने छ।

मुख्य निर्वाचन अधिकृतले जिल्लाभरीको मतदान केन्द्रमा जाने मतपत्र लगायतका मतदान सामग्रीहरुको सुरक्षा प्रवन्धसहित ढुवानीका लागि सुरक्षा प्रवन्धको समग्र समन्वय गर्नुपर्ने हुन्छ। मतदान अधिकृतले निर्वाचन सम्बन्धि सामग्री ढुवानीमा सहयोग गर्न आफू खटिएको मतदान केन्द्रको सहयोगी कर्मचारीलाई समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन र मतदान केन्द्रसम्म लैजान सक्ने व्यवस्था रहेको छ।

यसरी सहयोगी कर्मचारीलाई साथमा ल्याउन र लैजान आवश्यक पर्ने दैनिक तथा भ्रमणभत्ता मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराउनुपर्नेमा निर्देशिकामा उल्लेख गरिएको छ। निर्देशिका अनुसार गैर नेपाली नागरिकलाई भने निर्वाचनका कुनै पनि कार्यमा खटाउन र प्रयोग गर्न भने पाइने छैन।

प्रकाशित: १७ चैत्र २०७८ ०६:४९ बिहीबार

स्थानीय तहको निर्वाचन निर्वाचन आयोग