४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कञ्चनजंघाको पानी सरकारले परीक्षण गर्छ: मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले कञ्चनजंघाको पानीलाई ‘मिनिरल वाटर’को रुपमा बजारमा लैजाने प्रयोजनका लागि अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने दायित्व नेपाल सरकारले लिएको घोषणा गरेका छन्।

उनले आफूसँगै रहेका खानेपानी विभागका महानिर्देशक सूर्यराज कडेंललाई कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन पनि दिएका छन्। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय बजारमा लैजानसके यो कार्य देशमै एक गौरवको परियोजना बन्ने बताए।

‘त्यहाँको पानीलाई अन्तराष्ट्रिय बजारमा लैजान सके सिरिजङ्गा र ताप्लेजुङलाई मात्र यसले आर्थिक टेवा प्रदान गर्दैन’ उनले भने ‘यो देशकै गौरवको योजना र आर्थिक उर्पाजनको प्रमुख केन्द्र बन्ने छ।’ तर, त्यहाँको पानी अन्तराष्ट्रिय बजारमा लैजानुपूर्व परीक्षणको आवश्यकता रहेको उनले औंल्याए। सोही क्रममा उनले भने ‘देश बाहिरका परीक्षण केन्द्रमा लगेर परीक्षण पछि थप प्रक्रिया आरम्भ गर्ने दायित्व अब नेपाल सरकारको हुने छ।’

मन्त्री चौधरीले यस्तो बताएपछि सिरिजङ्गा गाउँपालिकाले नमूनाको रुपमा कञ्चनजंघाको पानी परीक्षणका लागि खानेपानी विभागका महानिर्देशक कडेंललाई जिम्मा लगाएको छ। सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले वडा नं ८ याम्फुदिनका वडाध्यक्ष टसी लामालाई कञ्चनजंघाको पानी नमूनाको रुपमा ल्याउन जिम्मेवारी दिएका थिए।

सोही अनुरुप प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रमको अन्त्यतिर मात्र पालिकाको केन्द्र तेल्लोक आइपुगेका वडाध्यक्ष लामाले आफुले ल्याएको कञ्चनजंघाको पानी अन्तराष्ट्रिय परीक्षण केन्द्रमा पुर्‍याउने व्यवस्थाका लागि खानेपानी विभागका महानिर्देशक कडेंललाई दिए। कडेंलले पानीको परीक्षण पछाडि यथाशीघ्र त्यसको प्रतिवेदन पालिका समक्ष पठाउने जानकारी दिए। 

सिरिजङ्गा गाउँपालिकाले ‘कञ्चनजंघाको पानी,हाम्रो आम्दानी’ भन्ने नारा सहित कञ्चजंघाको पानीलाइ अन्तराष्ट्रिय बजारमा पुर्‍याउने प्रयास स्वरुप सम्भाव्यता अध्ययन गरिरहेको छ। यस सम्बन्धी विज्ञहरुको अहिलेसम्मको प्रारम्भिक संकेतले कञ्चनजंघाको पानी बजारमा लैजान सकिने बलियो संकेत देखिएको भन्दै पालिकाले यसलाई एक गौरवको आयोजनाको रुपमा अघि बढाउन नेपाल सरकारको सहयोगको याचना गर्दै आएको छ।

कञ्चनजंघा हिमालबाट उत्पति हुने पानीको संरक्षण, संवद्र्धन र उपयोग गर्न गाउँपालिकाले आफ्नै स्वामित्वमा मिनिरल वाटर उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ। माइक्रोबायोलोजिस्ट विनोद लेखक नेतृत्वको अध्ययन टोलीमा इन्भाइरोमेन्टल साइन्टिस प्रकाशचन्द्र अर्याल र जियोलोजिस्ट भरतप्रसाद भण्डारी गरी ३ जनाले सम्भाव्यता अध्ययन गरेका छन्।

अन्तराष्ट्रिय परीक्षण केन्द्रबाट त्यहाँको पानी उपयोगिताबारे ‘ग्रिन सिग्नल’ आए नेपाल सरकारले मिनिरल वाटर उद्योग स्थापनामा सघाउने वचन दिएको छ। पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र संविधानसभा सदस्य भूपेन्द्र थेबेले कञ्चनजंघा हिमालबाट उत्पति हुने पानीको संरक्षण र उपयोगका लागि सिरिजङ्गा गाउँपालिकाले चालेको अभियानमा साथ दिन मन्त्री चौधरीमार्फत् नेपाल सरकारको ध्यानाकृष्ट गरेका थिए।

पालिका अध्यक्षको तारिफ गरेर फर्किए मन्त्री चौधरी

प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्न सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक आएका मन्त्री चौधरीले पालिका अध्यक्ष टीकाराम गुरुङको नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको तारिफ गरेका छन्। उनले कामका हिसावले सिरिजङ्गा देशकै अब्बल रहेको भन्दै यस कार्यको अगुवाइ गर्ने पालिका अध्यक्ष गुरुङलाई ‘देशकै नमूना जनप्रतिनिधि’को रुपमा व्याख्या गरे।

‘म मेरो साथी, मेरो भाई टीकारामलाई सलाम गर्छु’ तपाँइको नेतृत्वमा रहेको सिरिजङ्गाले मारेको फड्को उदाहरणीय छ ‘मन्त्री चौधरीले भने। उनले राम्रा काम गरेर देश र जनताको सेवामा लाग्ने हो भने पुण्यप्राप्तिका लागि अरु केही गरिरहन नपर्ने बताए। सिरिजङ्घाले प्रत्येक वर्ष पालिका भित्रका एकजनालाई एमबीबीएस तहको अध्ययन गराउन छात्रवृत्ति दिने गरेको छ।

यस्तै प्रत्येक वर्षको एसईई परीक्षामा उत्कृष्ट हुने प्रत्येक वडाका १–१ जनालाई उच्च शिक्षा अन्र्तगत प्राविधिक शिक्षाका लागि आवासीय सुविधा समेतको अध्ययन सहयोग गर्दै आएको छ। पालिका भित्रका सामुदायिक विद्यालयमा विज्ञान संकाय समेत अध्ययन गर्ने कक्षा ११ र १२ र सबै विद्यार्थीलाई अध्ययनमा निःशुल्क गरिएको छ।

पालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक र झोला निःशुल्क रुपमा दिने गरको छ भने एसईई परीक्षामा उत्कृष्ट हुने छात्रछात्रालाई ब्राण्डेड ल्यापटप र कक्षा ८ को परीक्षामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा सम्मान गर्ने गरेको छ।

आर्थिक २०७७/०७८ मा बेरुजु कम हुने नेपालकै दोस्रो पालिका बनेको सिरिङ्गा अहिले शून्य बेरुजुमा पुगेको समेत पालिकाले जनाएको छ। टोल विकास संस्था गठन गरी सिरिजङ्गाले १० लाख भन्दा कम रकमका योजना टोल विकास संस्थामार्फत् कार्यान्वयन गर्दै आएको छ भने उनीहरुको सृजनशिलता र सामाजिक अग्रसरता सहितका आधारमा वार्षिक रुपमा पुरस्कृत समेत गर्दै आएको छ।

प्रकाशित: १० चैत्र २०७८ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App