२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लेटाङ घटनाः महिला प्रहरीको मृत्यु, दर्जनौं घाइते

सोमबार बिहानसम्म ५ जना पक्राउ

फाइलतस्बिर

लेटाङ नगरपालिका–५ मा आइतबार साँझमा भएको भिडन्तमा परी एक महिला प्रहरीको मृत्यु भएको छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आइतबार लेटाङमा भएको घटनामा परी एकजना महिला प्रहरीको मृत्यु भएको थियो। घटना भएपछि सोमबार बिहान प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रजिअ दाहालले जानकारी दिए। दोहोरो झडपमा परी प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ भने एसपीसहित २९ जना प्रहरी घाइते भएका छन्। 

भीडन्तमा परी आन्दोलनकारीतर्फ ७ जना घाइते भए। झडपमा परी प्रहरी सहायक निरीक्षक (सई) ध्रुव कार्की गम्भीर घाइते भएका छन्। उनको गर्दनमा चोट लागेको छ। उनको विराटनगरमा उपचार भइरहेको र सामान्य घाइते प्रहरी तथा आन्दोलनकारीको स्थानीय अस्पताल तथा विराटनगरमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

प्रहरीसँग झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १५ सेल अश्रुग्याँस र ५ राउण्ड हवाइ फायर गरेको एसपी राईले बताए। उनका अनुसार सोमबार बिहान लेटाङमा कर्फ्यू लागू भएपछि सामान्य रहेको छ। खोटाङको तारापोखरी घर भई हाल १ नम्बर प्रदेश प्रहरी गणमा कार्यरत २२/२३ वर्षकी उर्मिला श्रेष्ठको घाँटीमा छुराले काटिएको थियो। 

घाँटी काटिएपछि गम्भीर भएकी श्रेष्ठको विराटनगरस्थित कोसी अस्पताल ल्याएपछि मृत घोषणा गरिएको एसपी राईले जानकारी दिए। उनका अनुसार मृतक श्रेष्ठका श्रीमान् नेपाल प्रहरीमै इलाममा कार्यरत छन्।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास मावि आइतबार विद्यार्थी, अभिभावक र स्थानीयको प्रहरीसँग झडप भएको थियो। सोही विद्यालयका कक्षा–६ की १२ बर्से छात्रालाई ५६ वर्षे शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको आरोप लागेको छ। बालिकालाई दुव्र्यवहार गरेको घटना बाहिरिएपछि विद्यार्थी, अभिभावक र स्थानीयले आन्दोलित बनेका थिए।

स्कुलमा लुकेर बसेका आरोपित शिक्षक पौडेललाई आन्दोलनकारीले बाहिर ल्याएर कुटपिट गर्ने भएपछि प्रहरीले उसलाई पक्राउ गरी लैजान खोजेको थियो। प्रहरीले पौडेललाई लैजाने भएपछि आन्दोलनरत पक्षले रोक्ने खोज्दा स्थिति बिग्रिएर दुई पक्षबीच झडप भएको एक स्थानीयले बताए। 

प्रकाशित: ७ चैत्र २०७८ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App