१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धौलिगाड वृहत् खानेपानी आयोजनाको शिलान्यास

नेपालको हिमालय क्षेत्रको सबैभन्दा ठूलो २७० किलोमिटर लामो धौलिगाड वृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ।

संघीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको शिलान्यास गरेका हुन्। खानेपानी सरसफाई सबडिभिजन कार्यालय जुम्लाको मैदानमा उनले धौलिगाड खानेपानी आयोजनाको शिलान्यास गरेका हुन्। मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना नेपालको अर्को मेलम्ची भएको बताए।

उनले भने,‘काठमाडाैँको मेलम्ची चैत मसान्तभित्र सञ्चालनमा आउँदैछ। जुम्लाको धौलिगाड वृहत् खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिनेछ।’ वृहत् धौलिगाड खानेपानी आयोजनाको १३ वर्षदेखि पहल अघि बढेको थियो। एक अर्ब २६ करोड लागतमा निर्माण हुन लागेको यो आयोजनाले साढे दुई वर्षभित्र स्थानीयको घरघरमा खानेपानीको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

'म जुम्लावासीलाई अढाइ वर्षभित्रै  धौलिगाडको पानी खुवाउँछु। मन्त्री चौधरीले भने,‘यो आयोजना निर्माणमा ढिलासुस्ती हुनेछैन। ढिलासुस्ती नगर्न माताहतका कर्मचारीलाई निर्देशन दिएको छु।’ नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले नेपाली नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ।

शिक्षा, स्वास्थ्य खानेपानीमा राजनीति नगर्न आग्रह गर्दै मन्त्री चौधरीले विकास निर्माणमा सबैको होतमालो आवश्यक रहेकोमा जोड दिए। जलवायु परिवर्तनले हिमालमा पानीका मुहान सुक्दै गएको र तराईमा पानीको सतह घटेको स्मरण गराउँदै मन्त्री चौधरीले सबै मिलेर पानीको मुहान संरक्षणमा लाग्नुपर्नेमा जोड दिए।

शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमन्त्री तथा सांसद नरेश भण्डारी, दीनवन्धु श्रेष्ठ, पूर्व राज्यमन्त्री बलबहादुर महत, खानेपानी मन्त्रालय सचिव र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागका महानिर्देशकले आयोजना सफलताको शुभकामना व्यक्त गरेका थिए। आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ छ।

आयोजनाबाट चन्दननाथ नगरपालिका वडा नम्बर १–१०, गुठीचौर गाउँपालिकाका ३–५ र  तातोपानी गाउँपालिकाको १–६ वडा गरी ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए। जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने गरी स्टमेट गरिएको छ।

प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ।  ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुने आयोजना प्रमुख न्यौपाने बताउँछन्। संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुनेछ। प्रतिदिन जम्मा ४७ हजार ३२० लिटर पानी खपत हुनेछ। मुख्य पाइप लाइनको अधिकतम क्षमता प्रतिसेकेन्ड ६६ लिटर रहनेछ।

आरसीसी पानी भण्डारण गर्ने ट्यांकी ३ सय घनमिटरको १ वटा, १५० घन मिटरको १ वटा, १२५ घनमिटरको २ वटा, १ सय घनमिटरको २ वटा, ७५ घनमिटरको ३ वटा र ५० घनमिटरको ४ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख छ। पानी वितरण गर्ने ट्यांकी ९ वटा, क्लोरिनेसन प्रणाली १३ वटा, प्रेसर घटाउने ट्यांकी १७ वटा बन्नेछन्।

भल्व राख्ने संरचना पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने गरेर ६२ वटा ट्यांकी बन्नेछन्। हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ। जालीको घेरबार १३ वटा गेटसहित ८ सय मिटर बन्नेछ। 

खोलाको क्रसिङ ४ वटा, नदीको क्रसिङ ७ वटा, स्टिल पाइपका लागि प्रेसर थाम्ने ब्लक १६५ वटा, टेका राख्ने ब्लक ६० वटा, गार्ड बस्ने घर, शौचालयसहित १ वटा र पानी परीक्षण प्रयोगशाला १ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख रहेको आयोजना प्रमुख न्यौपाने बताउँछन्।

प्रेसर घटाउने संरचना ११ वटा, आगलागी निभाउन निकाल्ने ठाउँ १५ वटा, निजी धारा ८ हजार २९२ वटा, संस्थागत धारा ३१६ वटा, बाटोमा धारा जोड्ने संरचना १५० वटा, खोल्सा क्रसिङ २० वटा, सार्वजनिक शौचालय ५ वटा बन्नेछन्। मुख्य पाइप लाइनको लम्बाइ ६९ दशमलव २८ किलोमिटर रहनेछ भने वितरण शाखा पाइप लाइनको लम्बाइ २ सय दशमलव ४ किलोमिटर रहनेछ। पानी महसुल प्रति घरधुरी न्यूनतम मासिक ५५ रुपैयाँ लाग्नेछ।

प्रकाशित: ५ चैत्र २०७८ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App