१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटकीय सहरको चोकचोकमा फोहाेरको डंगुर

पोखरामा पाँच दिनदेखि फोहाेर उठेन

पोखराको न्यूरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडि मुख्य सडकमा थुपारिएको फोहाेर। यहाँ पाँच दिनदेखि फोहाेर उठेको छैन। तस्बिरः उमेश पुन/नागरिक

पर्यटकीय सहर पोखराको फोहाेर नउठेको पाँच दिन भयो। पोखरा महानगरपालिकाले सहरभित्रको फोहाेर व्यवस्थापन गरिरहेको ठाउँका स्थानीयवासीले माग राखेर आन्दोलन गरेपछि सहरको फोहाेर नउठेको हो। अहिले पोखराको मुल सडकको ठाउँठाउँमा फोहाेरको थुप्रो देखिन्छ। स्थानीयले घरभित्रको फोहाेर लगेर सडकको चोकचोकमा थुपारिदिएका छन्। महानगरकै कार्यालय अघि पनि फोहाेरको थुप्रो छ।

महागरपालिकाले विगत १७ वर्षदेखि पोखरा–१४ को बाच्छेबुडुवामा सहरको फोहाेर व्यवस्थापन गरिरहेको छ। प्रभावित क्षेत्रमा सडक विस्तार, स्वास्थ्यचौकी, पुल निर्माण लगायतका माग राखेर स्थानीयले फोहाेर लैजान रोक लगाएका हुन्। महानगरपालिकाले सडक विस्तार, पुल र स्वास्थ्यचौकी निर्माण गरिदिने वाचा गरेपनि पूरा नगरेपछि फोहाेर ल्याउन नदिएको प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन्।

ल्याण्डफिल साइट जनसरोकार समितिका अध्यक्ष बोधराज कार्कीले महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दाको सामान्य मागलाई बेवास्ता गर्दा सहरको फोहाेर सडकमा थुप्रिएको बताए। उनका अनुसार महानगरपालिकासँग प्रभावित क्षेत्रमा विकास निर्माणको सम्झौता समेत भएको छ। तर, ती सम्झौता अनुसार महानगरले काम नगरेपछि फोहाेर रोकेको कार्कीले बताए। 

कार्कीका अनुसार काजीपोखरीदेखि ल्याण्डफिल साइटसम्मको सडकलाई डेढ मिटर फराकिलो बनाउनुपर्ने माग स्थानीयले महानगरसँग राखेका छन्। यो सडक साँघुरो हुँदा फोहाेर बोकेर गएका सवारीका कारण दुर्घटना बढेको उनले बताए। करिब पाँच किलोमिटर सडकलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। अहिलेको सडक साँघुरो भएकोले फराकिलो बनाउनुपर्ने उनको भनाई छ।

त्यस्तै सडकमा परेका खाडल पुर्नुपर्ने, अति नै दुगन्धित भएको ल्याण्डफिल साइटलाई थप सुरक्षित बनाउनुपर्ने, सेती नदीमाथि पुल बनाउनुपर्ने माग पनि स्थानीयले राखेका छन्। पोखरा–१४ को बाच्छेबुडुवादेखि भरतपोखरी र निर्मलपोखरी जोड्नेगरि सेतीमाथि पुल बनाइदिन स्थानीयले माग गरेपनि महानगरले अटेर गरेको उनले बताए। त्यसबाहेक प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरि पोखरा–१४ मा प्रयोगाशालासहितको स्वास्थ्यचौकी बनाउनुपर्ने पनि स्थानीयको माग रहेको छ।

‘करिब ३ करोड रुपैयाँ खर्च गर्ने हो भने प्रभावित क्षेत्रका बासिन्दाको सबै माग पूरा हुन्छन्, तर, महानगरले त्यत्ति पैसा पनि खर्चन चाहेन,’ उनले भने, ‘स्थानीयवासीको सामान्य मागमा पनि महानगर कान थुनेर बसेको छ। स्थानीयवासीका माग पूरा गर्ने भनेर महानगरले बारम्बार बाचा बाधेपनि काम भएको छैन।’ उनका अनुसार पछिल्लो समय अस्पताल र शौचालयबाट निस्केको फोहाेर समेत ल्याएर ल्याण्डफिल साइटमा फ्याक्ने गर्दा दुर्गन्ध झनै थपिएको छ। ‘महानगरभित्रको विकासमा महानगरकै चाँसो हुनुपर्ने हो। स्थानीयवासीका सामान्य मागमा पनि महानगरले बेवास्ता गरेको छ,’ उनले भने, ‘बढी दुर्गन्धित हुँदा त्यस क्षेत्रमा हैजा फैलने डर भयो, सरसफाइमा ध्यान दिनुपर्‍यो भन्दा महानगरले बेवास्ता गरेको छ।’  

पोखरा महानगरकी सरसफाई महाशाखा प्रमुख कल्पना बरालका अनुसार पर्यटकीय सहरको सडकमा फोहाेर थुपारिनु महानगरवासीका लागि पीडादायी विषय बनेको बताउँछिन्। ‘पर्यटकीय र सभ्य सहरको पहिचान बोकेको पोखराको सडकका चोकचोकमा फोहाेर थुप्रिनु पक्कै राम्रो सन्देश होईन। हामी पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्तित छौ,’ बरालले भनिन, ‘स्थानीयले विभिन्न माग राखेर फोहाेर लैजान रोक लगाएका छन। स्थानीयसँग समन्वयको प्रयास भईरहेको छ।’

उनका अनुसार पोखरा सहरभित्रको फोहाेर यति लामो समय नउठेको यो नै पहिलो पटक हो। यसअघि पनि कहिलेकाँही एक–दुई दिन फोहाेर नउठेको भएपनि योपटक पाँच दिनदेखि फोहाेर नउठेको उनले बताईन्। ‘यत्तिको लामो समय फोहाेर नउठेको यो नै पहिलो घटना हो। अहिले स्थानीयले बाटोमा ल्याएर फोहाेर फ्याकेका छन्। सडकका चोकचोकमा फोहाेर देखिएको छ। घरभित्र व्यवस्थित गर्न नसकेरै होला,’ उनले भनिन्, ‘यसमा सबै पक्ष गम्भीर हुनु जरुरी छ। फोहाेरको विषयलाई सामान्य मान्नु भएन।’

उनका अनुसार स्थानीयले राखेका माग पूरा गर्नेबारे प्रक्रिया अघि बढिरहेको छ। ‘स्थानीयले राखेका मागबारे कतिपय प्रक्रियामै छन्। उनीहरुका माग आवश्यक नै हुन्। तर, ती प्रक्रियागत रुपमा रहेका छन्,’ बरालले भनिन्, ‘तत्काल काम नभएको जस्तो देखिएको मात्र हो।’ उनका अनुसार पोखरा महागरपालिकाले दिनमा सहरभित्रबाट करिब पाँच सय टन फोहाेर संकलन गर्छ। महागनरले २७ वटा सवारीमार्फत दिनहुँ फोहाेर उठाउने गरेको उनले बताईन्। अहिले दुई सय रोपनी सरकारी जग्गामा महानरगरले फोहाेर व्यवस्थापन गरिरहेको छ। एक दिन फोहाेर व्यवस्थापन हुन नसक्दा पनि त्यसले असर पार्ने बरालले बताईन्।  

महानगरका प्रवक्ता धनबहादुर नेपालीले स्थानीयले माग राखेर अवरोध गरेका कारण फोहाेर उठ्न नसकेको बताए। उनका अनुसार स्थानीयवासीले आन्दोलनरत ठाउँमै आएर महानगरले मागबारे प्रतिवद्धता जनाउनुपर्ने बताईरहेका छन्। ‘आन्दोलन भईरहेकै ठाउँमा गएर प्रतिवद्धता जनाउनुपर्दैन, उनीहरुले राखेका माग ठूला पनि होईनन्,’ नेपालीले भने, ‘काम प्रक्रियागत रुपमा अघि बढिरहेका छन्। त्यसले गर्दा समय लागेको हो।’ स्थानीयले मागे अनुसारको विकासको काम आजको भोलि नभई प्रक्रियागत रुपमा अघि बढिरहेको उनले बताए।

प्रकाशित: ५ चैत्र २०७८ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App