‘आयो सहरमे व्यौपारी,
जोगी आयो सहरमे व्यौपारी।
इस व्यौपारीको भुक लगिहे,
खाना खिलादे मतवाली।
आयो सहरमे व्यौपारी,
जोगी आयो सहरमे व्यौपारी...।’
यही कुमौनी गीतमा अहिले सुदूर पश्चिमका गाउँबस्ती झुमिरहेका छन्। अहिले टाउकोमा पगरी बाँधेर सेतो कुर्ता र जामामा सजिएका वृद्ध/युवा गाउँगाउँमा गडवाली, काली कुमौनी ‘होरी’ (होली) गीत गाउँदै रमाइरहेका छन्।
ड्यौडिया भाकामा श्रीकृष्ण, राम भगवान्का चरित्रका गाथा गाउँदै एक आपसमा होलीको रङले रंग्याउँदै सुदूरबस्ती गुञ्जायमान बनेको छ। घरघर गएर होली गीत गाइन्छ। दुई वर्ष कोरोनाका कारण शिथिल बनेको होली अहिले भने रंगिन बनेको छ। ‘दुई वर्ष कोरोनाका कारण होलीको खासै रौनक भएन,’ विवेक नागरीले भने, ‘यसपटक भने गाउँगाउँमा होलीको रौनक छ।’
घरघरमा गई कुमौनी होली खेल्दा घरधनीले पैसा तथा अन्य सामग्री दिन्छन्। होलीबाट संकलित रकम स्थानीय सामाजिक कार्यमा खर्चिन्छ। धनगढीको जाखोर ताल, शिवनगर, बोराडाँडी, उत्तरबेहडी, तारानगर लगायतका क्षेत्र होलीमय बनेको छ। यहाँ कुमौनी होली खेलिन्छ। पश्चिम नेपालमा ड्यौडिया होरी कहिले भित्रिएको हो भन्ने यकिन नभए पनि परापूर्व कालदेखि चलिआएको मान्न सकिने डोटेली संस्कृतिका जानकार डा. टिएन जोशी बताउँछन्।
यहाँ भारतको मथुराको होली प्रभाव परेको उनी बताउँछन्। ‘यहाँ खेलिने होलीमा हिन्दी लवज आउनुका साथै गीत पनि मथुरा, काली कुमाउनी, गडवाली, भाषाको हुन्छ,’ उनले भने, ‘त्यही भएर उतै (कुमाउ, गडवाल र मथुरा) बाटै भित्रिएको आकलन गर्न सकिन्छ।’
पूर्वी नेपालमा एक आपसमा रङ दलेर होली मनाउने गरिए पनि सुदूरपश्चिममा पहाडी समुदायले डेउडाको लयमा श्रीकृष्ण, रामका बहादुरी गाथा गाएर रङको पर्वा होली खेल्छन्। त्यस्तै सुदूरपश्चिमको तराईमा बसोबास गर्दै आएका आदिवासी रानाथारू पनि पहाडी होली जस्तै गोलबद्ध भएर भगवान्का गाथा गाउँदै होली खेल्ने उनी बताउँछन्।
द्वापर युगमा होलीको प्रारम्भ नै श्रीकृष्ण भगवान्ले मथुराबाट सुरुवात गराएका हुन्। असत्यमाथि सत्यको विजयका रूपमा लिइएको होली हीरण्यकस्यपकी बहिनी होलिकालाई दहन गरेको खुसीयालीमा मनाइन्छ। मानिस र भगवान् कसैले पनि आफूलाई मार्न नसक्ने बरदान ब्रम्हाबाट पाएका हिरण्यकस्यपले आफ्ना छोरा प्रह्लादलाई मार्न बहिनी होलिकालाई आगोमा हाम फाल्न लगाएका थिए।
अग्निमा हाम फालेकी होलिकाको अग्नि कवच हावाले उडाउँदा उनी भष्म भएकी थिइन्, तर विष्णुभक्त प्रह्लाद भने सकुशल रहे। यसरी असत्यमाथि सत्यको विजयका रूपमा भगवान् श्रीकृष्णले होली पर्व मनाएको बुढापाका बताउँछन्। भगवान् श्रीकृष्णले चलाएको होली भएकाले ब्रजभाषा शैलीमा पुरुषार्थ, कृष्णका लिला, रामका चरित्र गाथा गाउँदै होली खेलिन्छ।
होलिकाको पुतला बनाएर फागुन शुक्ल चतुर्दशीमा दहन गर्दै होली मनाइन्छ र पूर्णिमाको दिन विसर्जन गरिन्छ। त्यसैले पहाडमा चतुर्दशी र तराईमा पूर्णिमामा होलिका दहन गरेर होली मनाइने संस्कृतिकर्मी साहित्यकार हेमबाबु लेखक बताउँछन्।
रामले रावणलाई तथा कृष्णले मामा कंशलाई मारेको घटनासँग सम्बन्धित गीत गाउँदै सुदूरका पहाडी जिल्लामा होली खेल्ने गरिएको सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका संस्कृतिविद् बद्री विनाडी बताउँछन्। ‘होलीमा होली गीत ठाउँअनुसार फरक–फरक हुने भए पनि मथुरा, कुमाउ, गडवालबाट आएकाले होलीका प्रायः गीत हिन्दी लवजका हुन्छन्,’ विनाडी भन्छन्। फागु पूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्त्व बोकेकोे उनले बताए।
अछामी होरी शिवरात्रिको दिनबाट औपचारिक सुरु हुने भए पनि विशेषगरी अष्टमीको दिनबाट बेलुकीपख प्रत्येक गाउँमा होरी खेल्ने प्रचलन छ।
मेलको हाँगा काटेर त्यसमा रंगीचंगी ध्वजापताका लगाउने र त्यसलाई होली खेल्ने ठाउँमा चीरका रूपमा गाड्ने गरिन्छ। त्यही चीरलाई पूर्णिमाको दिन होली खेलेर अन्त्यमा आगोले जलाउने प्रचलन छ। होलीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला, चारित्रिक मायाप्रेमका कुरा समेटिएका डेउडा गाउने प्रचलन छ।
सुदूर पश्चिममा अन्य होलीभन्दा भिन्न प्रकारको अछामी होली हो। अछाममा होलीको विषेश महत्त्व छ। शिष्ट भाषामा मौलिक पहिरनसहित अछाममा होली खेलिने संस्कृतिविद् डा. विनाडी बताउँछन्। उनले भने, ‘अछामीहरूले शिवरात्रिका दिन पर्गलो (ध्वजापताका) शिवमन्दिरमा चढाएर होरी (होली) को सुरुवात गर्छन् र त्यहींबाट होली खेल्न सुरु हुन्छ।’ सेतो पोसाक लगाएर देवीको मन्दिर या देवस्थलबाट सुरु गरिने होली एक सातासम्म खेलिन्छ। अछामको सुवाली गाउँमा भारतको अलिगढबाट ७० वर्षअघि आएका डण्डी स्वामीले परम्परागत होली गीतलाई परिमार्जित गर्दै काली कुमाउनी र अलिगढको लवजमा परिवर्तन गरेका थिए। तिनै अलिगढे होली गीत अहिलेसम्म गाउँदै आइएको छ।
अछामी राजा भान शाहीकी कान्छी रानीले आफ्नो माइती कुमाउबाट ‘कुमाउनी होरी’ दाइजोस्वरूप भित्र्याएको बुढापाका बताउँछन्। तर कहिले र कसरी भित्रिएको हो, त्यो भने यकिन नभएको तिनै बुढापाकाको भनाइ छ। कुमाउनी होरीभन्दा केही भाका र चालमा फेरबदल भए पनि सुदूरका अन्य जिल्लाभन्दा अछामी होलीले फरकपन बोकेको डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन्।
प्रकाशित: ३ चैत्र २०७८ ०१:२२ बिहीबार