२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१६ कारखाना निरीक्षक थप्न सहमति

मन्त्रिपरिषद्ले १६ जना कारखाना निरीक्षक पद थप्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ। मन्त्रालयका सचिव एकनारायण अर्यालले १६ जना कारखाना निरीक्षक दरबन्दी थप्न श्रमको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताउँदै भने, ‘अब हामीले अर्थ मन्त्रालयसँग सहमति लिन प्रक्रिया अघि बढाएका छौं।’

मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे परिमार्जन गर्न प्रस्ताव लैजानुअघि मन्त्रि परिषद्बाट अनिवार्य रूपमा सैद्धान्तिक सहमति लिनुपर्ने नियम सरकारले बनाएको छ। उक्त व्यवस्थाअनुसार श्रमले मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिएको हो। मन्त्रालयका अनुसार हाल कारखाना निरीक्षक पदका दरबन्दी १७ वटा छन्। यसमा १६ थप भए अब ३३ पुर्‍याउने श्रमको तयारी हो। शाखा अधिकृतसरहका प्राविधिक (इन्जिनियर) कर्मचारीहरू कारखाना निरीक्षक हुन सक्ने व्यवस्था छ। हाल विद्यमान कारखाना निरीक्षकको दरबन्दी अपुग भएकाले थप दरबन्दीका लागि प्रस्ताव लगिएको सचिव अर्यालले बताए।

उनका अनुसार कारखाना निरीक्षकहरू उद्योग, प्रतिष्ठान, कारखाना तथा कम्पनी रहेको कार्यालयमै गएर मजदुरहरूको अवस्था हेर्नेछन्। मन्त्रालयका अनुसार उनीहरूले फिल्डमै गइ मजदुरहरूको समस्याको बारेमा अवलोकन तथा कुनै समस्या परेमा सामधानका लागि पहल गर्ने छन्।

यसैगरी मालिक र मजुदरबीच विवाद भए त्यस्तो विवाद सुल्झाउनका लागि पनि उनीहरूले पहल गर्नेछन्। कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका कम्पनीहरूमा पनि कारखाना निरीक्षकहरू अवलोकन र अध्ययन गर्न जानेछन्। हाल नेपालको श्रम बजारमा साना, ठूला र मझौला गरी करिब १५ हजारभन्दा बढी कारखाना सञ्चालनमा रहेको बताइएको छ।

मन्त्रालयका अनुसार श्रम मन्त्रालयले मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा कार्यरत कर्मचारीको दरबन्दी ४ सय ७२ पुर्‍याउन प्रस्ताव गरेको छ। हाल श्रममा कार्यरत कर्मचारीहरूको दरबन्दी ४ सय ४६ छ। संघीय मामिला मन्त्रालयका अनुसार दरबन्दी बढाउन २५ वटा सरकारी निकायले मन्त्रालयमा प्रस्ताव गरेका छन्।

प्रकाशित: २८ फाल्गुन २०७८ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App