१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

१६ वर्षअघि अपराध, बहराइनमा पक्राउ

पक्राउ गर्न बहराइनसम्म प्रहरी

व्यक्ति हत्यामा पक्राउ परेर बहराइनमा पक्राउ गरेर पोखरा ल्याइएका अशोक गुरुङ (सेतो क्याप)। तस्बिरः कास्की प्रहरी

नेपालमा अपराध गरेर फरार व्यक्ति कुनै देशमा लुकेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेर हवाईजहाज चढाएर नेपाल पठाउँछ। नेपाल प्रहरीले विमानस्थलस्थल पुगेर जहाज चढेर आएका अपराध गर्ने ती व्यक्तिलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गर्दै मुद्दा अघि बढाउँछ।  

तर, झन्डै १६ वर्षअघि पोखरामा व्यक्ति हत्या गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरी बहराइनसम्म पुगेको छ। बहराइनमा पक्राउ गरेर ल्याइएका ती व्यक्तिलाई पोखरा ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। कास्कीप्रहरीका लागि यो अभ्यास पहिलो भएको प्रहरीले बताएको छ।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार २०६३ बैशाख २९ गते सुनसरी धरान घर भई तत्कालिन लेखनाथ नगरपालिका–१३ (हाल पोखरा महानगरपालिका–३२) सातमुहानलेस्थित खुदीखोलामा ग्याबिन जाली भर्ने काम गर्ने २० वर्षीय रोजन राइलाई सातमुहानेकै अशोक गुरुङ, (३०) हाल ४६, ले कुटपिट गरेर घाइते बनाए। गुरुङको कुटपिटबाट घाइते भएका राइको चारदिनपछि मृत्यु भएको थियो। टाउकोमा चोट लागेर घाइते भएका राइको मृत्युपछि गुरुङ फरार भएका थिए। मादक पदार्थ सेवनले मात्तिएका गुरुङले राइलाई कुटपिट गरेका थिए।

डिएसपी तिवारीका अनुसार व्यक्ति हत्यापछि फरार भएका गुरुङ पोखराबाट भागेर काठमाडौं पुगेका थिए। केही महिना काठमाडौंका विभिन्न होटलमा लुक्दै बस्दै आएका गुरुङ लुक्दै भाग्ने क्रममा केहीवर्ष कुवेत बसे भने पछिल्लो झन्डै एकदशकदेखि बैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा थिए। ‘व्यक्तिको मृत्यु भएपछि पक्राउ पर्ने डरले गुरुङ काठमाडौंमा लुकिछिपि बसेको र केही महिना बितेपछि बिदेशिएको भेटिएको छ,’ उनले भने, ‘कुवेतपछि नेपाल फर्केर पनि बहराइन गएको देखिएको छ।’

लामो समयदेखि रोकिएका मुद्धाबारे फलोअप थालेको प्रहरीले २०७८ भदौ ११ देखि २० गतेसम्म ‘पेन्डिङ मुद्दा फलोअप मिटिङ’ राखेर पुराना मुद्धा ब्युताउन थाल्यो। त्यसपछि व्यक्तिको फोटो, नागरिकता, राहदानी लगायतका विवरण अध्ययन थाल्यो । त्यसपछि गुरुङको खोजीमा प्रहरी जुट्यो।  

‘अपराध गरेर फरार व्यक्तिको अध्ययन गर्दै जाँदा गुरुङबारे पनि अध्ययन थाल्यौ। त्यसपछि स्थानीयस्तरमा र अध्यागमनमार्फत पनि जानकारी लिन थाल्यौ,’ डिएसपी तिवारीले भने, ‘खोजि भईरहँदा गुरुङ बहराइनमा लुकेर बसेको थाहा भयो।’ अनुसन्धानको क्रममा उनी लुकेको ठाउँ स्थानीयतस्तरबाट पनि थाहा पाएपछि अनुसन्धानमा सहज भएको तिवारीले बताए। तिवारीका अनुसार गुरुङ बहराइनमा रहेको थाहा पाएपछि  गुरुङलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट २०७८ असोज ६ गते प्रहरीले अनुमति लिइएको थियो।  

त्यसपछि रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको तिवारीले जानकारी दिए। गत असोज १२ गते पक्राउ अनुमतिका लागि इन्टरपोल शाखामा पठाइएको थियो। ‘घटनापश्चात गुरुङ बैदेशिक रोजगारीको सिलसिलामा बहरान गएको र उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि कास्की प्रहरीको अनुरोधमा गत मंसिर २७ गते इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो,’ तिवारीले भने, ‘त्यसपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले फागुन २४ गते नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंलै एनसिबी बहराइनसँग बुझेर उनलाई नेपाल ल्याएको हो।’ प्रहरीको मेहनतले १६ वर्ष अघिको अपराधका व्यक्ति पक्राउ परेको उनले बताए।

‘सामान्यतया अरुबेला अपराधी पक्राउ गरेर सम्बन्धित देशले नेपाल पठाउँथ्यो,’ उनले भने, ‘तर, गुरुङलाई बहराइन प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बहराइनमै लिन बोलाइएको थियो, नेपालको प्रहरीले बहरानइनबाटै गुरुङलाई बुझिलिएको थियो।’ एनसिबी काठमाडौंको टिम गुरुङलाई बुझ्न बहराइन नै पुगेको थियो।’ उनका अनुसार हत्तपत्ति प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई लिन बाहिर जाँदैन। तर, पारस्परिकताको आधारमा सुपुदर्गी गर्ने सिद्धान्त अनुसार प्रहरीले पक्राउ गरेर ल्याएको तिवारीले जानकारी दिए।  

पक्राउ परेका गुरुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा १ अनुसारको कसुरमा अनुसन्धान भईरहेको छ र अपराध पुष्टि भएमा उपदफा २ बमोजिम जन्मकैदसम्मको सजाय हुने प्रहरीले बताएको छ।

प्रकाशित: २६ फाल्गुन २०७८ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App