७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बालबालिकाले खाने बालभिटा गुणस्तरहीन भेटियो

डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ। बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको भेटिएको हो।

बालभिटाभित्र धुलो हुनुपर्ने भए पनि ढिक्का भएको परशुराम नगरपालिका(४ कटाल स्वास्थ्य चौकीका अहेव नन्दराम नाथले बताए। उनले यस्तो समस्या नगरपालिकाभरि नै रहेको बताए। ‘जिल्ला स्वास्थ्य कार्यालयबाटै यस्तो पठाएको हो। यता भण्डारणमा समस्या छैन।

जिल्ला स्वास्थ्य कार्यालयले परशुराम नगरपालिकामा दुई महिनाअघि बालभिटा पठाएको उनी बताउँछन्। बालभिटामा समस्या देखिएपछि वितरण नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको परशुराम नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले जानकारी दिए।

बालभिटा केन्द्र सरकारले खरिद गरेर पठाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताए। एक वर्षअघि गत फागुनमा स्वास्थ्य कार्यालय डडेल्धुरामा बालभिटा पठाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक पदम बिष्टले बताए।

बच्चा जन्मेको ६-११ महिनासम्म, १२-१७ महिनासम्म र १८-२३ महिनासम्मलाई हुने गरी तीनपटक बालभिटा वितरण हुने गरेको छ। बच्चा जन्मिएपछि दुई वर्षभित्र उसको ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मीहरू बताउँछन्।

जन्मेको ६ महिनादेखि २ वर्षमुनिका बालबालिकाका लागि सरकारले बालभिटा निःशुल्क उपलब्ध गराउँदै आएको छ। यसको सेवनबाट बालबालिकामा कुपोषण र श्वासप्रश्वासको समस्या नहुने तथा फूर्तिलो बनाउन मद्दत गर्छ।

प्रकाशित: २६ फाल्गुन २०७८ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App