६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

माछापुच्छ्रेमा सुविधासम्पन्न बृद्धाश्रम बनाईने

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आवासीय बृद्धाश्रम बन्ने भएको छ। आमा स्मृति फाउण्डेसनको  पहलमा माछापुच्छ्रे गाउँपालिकाको घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ७  करोड ५३  लाख ७५ हजार रुपैयाँको लागतमा आवासीय वृद्धाश्रम ‘नाना मोहन आश्रम’ बनाउन लागिएको हो।  

आश्रमको गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा  एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे। ईमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ्रे गाउँपालिका र नाना मोहन आश्रमको सहयोगमा ६५ वर्ष माथिका असहाय, गरीब तथा विपन्न परिवारका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको आमा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्त दवाडीले बताए।

वृद्धाश्रम निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका छोरा तथा माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङसहित उनका दाजुभाईहरु दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र  छोरी शुकमाया गुरुङले करिब २ करोड रुपैयाँ बराबरको जग्गा दान दिएका छन्। त्यस्तै आश्रम निर्माणका लागि जर्मनीका किसान, उद्योगी, व्यवसायी लगायतबाट संकलन गरिएको ईमान फाउण्डेसनको नामबाट ५ करोड तथा माछापुच्छ्रे गाउँपालिकासहित विभिन्न क्षेत्रबाट संकलन गरेर २ करोड ५३ लाख ७५ हजार रुपैयाँ लगानी गरिनेछ। दुईतले भवनमा सञ्चालन हुने वृद्धाश्रममा पाँचतारे होटलको ज ित्तकै सेवा प्रदान गरिने दवाडीले बताए।  

आश्रममा रेष्टुरेण्टदेखि स्वीमिङ पुलसम्मको सुविधा हुने प्रतिष्ठानका सचिव गुणाखर दवाडीले जानकारी दिए। त्यस्तै, वृद्धाश्रममै नर्सिङ सेवासमेत प्रदान गरिने उनले बताए। ‘वृद्धाश्रममा औषधीसहितको स्वास्थ्य सेवा हुनेछ, भविष्यमा आफ्नो छुट्टै एम्वुलेन्स पनि राख्ने हाम्रो उद्देश्य हो,’ उनले भने। उनका अनुसार वृद्धाश्रममा एकल, डबल र ट्रिपल बेड भएका रुमहरु हुनेछन्। भान्छा, बगैंचा र सामान्य पार्कसहितको वृद्धाश्रममा सुरक्षाको समेत व्यवस्था गरिने दवाडीले बताए। वृद्धाश्रम भित्रै अडियो, भिडियो कक्षसहितको पुस्तकालय राखिनेछ भने वृद्धवृद्धाहरुका लागि मल्टिमिडिया कक्ष, योगा, मेडिटेसन लगायतका सुविधा पनि रहने उनको भनाई छ ।

दुईवर्ष भित्र आंशिक सञ्चालन र पाँचवर्ष भित्रमा पूर्ण सञ्चालनमा ल्याउनेगरी वृद्धाश्रम निर्माण कार्य अगाडि बढ्ने उनले बताए। पूर्ण सञ्चालनमा आउँदा एकसय जनाको क्षमता हुने वृद्धाश्रममा शुरुमा ४० जनाबाट आंशिक सञ्चालनमा ल्याइने दवाडीले जानकारी दिए। शुरुमा महिला र पुरुष २०÷२० जना रहने र पछि ५०÷५० जना राखिने उनले बताए। महिला र पुरुषका लागि छुट्टाछुट्टै व्लक हुने भएकाले संख्यामा तलमाथि नहुने दवाडीको भनाई छ ।

गरीव, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्षित गरिएपनि वृद्धाश्रमलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेरपनि वृद्धवृद्धा राख्न सकिनेछ। ‘वृद्धाश्रमलाई आत्मनिर्भर बनाउनका लागि यस्तो गर्न लागिएको हो,’ उनले भने । उनका अनुसार धनसम्पती तथा छोराछोरी भएकाले वृद्धाश्रममा बस्नका लागि मासिक २५ हजार रुपैयाँ तिर्नुपर्नेछ।

आमा स्मृति प्रतिष्ठानले हाल सोहि ठाउँमा ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। जसमा विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन। ‘घरमा एक्लै नहुने विधि हो यो। आवासीय वृद्धाश्रम सञ्चालनमा आएपछि पनि ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र सञ्चालन भइरहन्छ,’ दवाडीले भने।

प्रकाशित: २४ फाल्गुन २०७८ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App