७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दिगो भविष्यका लागि लैंगिक समानतामा जोड

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिगो भविष्यका लागि लैंगिक, जलवायु र स्वास्थ्यबीचको समालोचनात्मक सम्बन्ध रहनुपर्नेमा जोड दिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा डब्लुएचओले दक्षिण–पूर्वी एसिया र विश्वव्यापी रूपमा महिला सहभागितालाई प्रवद्र्धन गरेर स्वस्थ र दिगो भविष्यका लागि लैंगिक, जलवायु र स्वास्थ्यबीचको समालोचनात्मक सम्बन्धलाई प्रकाश पारेको हो।  

डब्लुएचओकी दक्षिण पूर्वी एसिया निर्देशक पुनम क्षेत्रपाल सिंहका अनुसार जलवायु परिवर्तनका कारण विस्थापित हुनेमा ८० प्रतिशत महिला छन्। त्यस्तै प्राकृतिक प्रकोपबाट पनि पुरुषको तुलनामा महिला धेरै पीडित हुने गरेको जनाइएको छ। विशेषगरी महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था कमजोर भएका मुलुकहरूमा यस्तो हुने गरेको संगठनले जनाएको छ।

सन् २०३० देखि २०५० का बीचमा जलवायु परिवर्तनका कारण विश्वभर वार्षिक २ लाख ५० हजार मानिसको मृत्यु हुने अनुमान गरिएको छ। धेरैजसो मृत्यु कुपोषण, मलेरिया र मानसिक तनावका कारण हुने जनाइएको छ। दक्षिण पूर्वी एसियामा पनि त्यस्ता घटना देखिन थालेको डब्लुएचओले जनाएको छ। त्यसको असर कमजोर आर्थिक अवस्था र पिछडिएको समुदायका महिलामा बढी देखिनेछ। कोरोना महामारीले पनि दिगो विकास लक्ष्य २०३० लाई नकारात्मक असर पारिसकेको र त्यसमा लैंगिक तथा स्वास्थ्य क्षेत्र पनि रहेको डब्लुएचओले जनाएको छ।

लैंगिक, जलवायु र स्वास्थ्य क्षेत्रलाई फराकिलो हिसाबले अघि बढाउन कैयौं प्राथमिकतालाई सम्बोधन गर्नैपर्ने डब्लुएचओको भनाइ छ। अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश जारी गरेका छन्।

विराट मेडिकलको दुई दिने महिला सम्मेलन

विराट नेपाल मेडिकल ट्रस्टले अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालसँगको सहकार्यमा दुई दिने महिला सम्मेलन आयोजना गर्ने भएको छ। ट्रस्टले अप्रिल २१ देखि २२ गतेसम्म काठमाडौंमा ‘लिड लाइक ए वुमन’ नामक सम्मेलनको आयोजना गर्न लागेको हो। सम्मेलनको मुख्य उद्देश्य नेपाली महिला नेतृत्वका मोडेलहरूसँग अन्तक्र्रिया गर्नु र प्रेरणा लिनु रहेको ट्रस्टले जनाएको छ। 

सम्मेलनले सफल नेपाली महिलाका व्यक्तिगत कथा सुन्ने तथा नेतृत्व, लैंगिक र सामाजिक अवरोधहरूबारे जान्ने तथा करिअर विकासका लागि अवसर प्रदान गर्ने जनाइएको छ। सम्मेलनले नेपाली महिला र युवतीलाई नेतृत्व गर्न र पुरुषहरूलाई महिला नेतृत्वलाई सम्मान गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै युवा महिलामा अद्वितीय गुणहरू निर्माण गर्न र सफल भविष्यका लागि उनीहरूलाई मार्ग देखाउन मद्दत गर्नेछ। अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएको सम्मेलनले सार्वजनिक स्वास्थ्य, चिकित्सा, व्यवस्थापन र कानुनजस्ता विभिन्न संकायका विश्वविद्यालयका विद्यार्थीहरूलाई लक्षित गरेको छ।

त्यस्तै महिला मानवअधिकार रक्षक सञ्जाल, विभिन्न संघसंस्था, महिलावादी, विद्यार्थी तथा अधिकारकर्मीको सहभागितामा मंगलबार महिलाको श्रम पहिचान, मान्यता एवं रोजाइको काम गर्न पाउने अधिकार सुनिश्चितताका लागि महिला दबाब अभियानको घोषणा हुने भएको छ।

महिलावादी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै श्रमिक महिलाभित्रको विविधतालाई समेत स्वीकार गरी काम गर्ने वातावरण निर्माण गर्न पनि अभियानले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। त्यस्तै विभेद, दुव्र्यवहारमुक्त कार्यस्थल एवं शरीरमाथि आफ्नो अधिकारको सुनिश्चितताका लागि पनि अभियान सहयोगी बन्ने जनाइएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App